
चर्चामा पुस्तक
माया मात्र माया
नारी पुरुष सम्बन्धको बारेमा सबैलाई थाहा छ । तर ती सम्बन्धभित्रका अनेक रहस्य बारेमा भने सबैलाई थाहा नहुन सक्छ । हो यही बासना,रोमान्स र सम्बन्धको जालोलाई सुन्दर शब्दशिल्पीद्धारा खिपेका छन् डा. विनोद ढकालले । विज्ञान र साहित्यको समिश्रण गराएका छन् ।मायाको रहस्योद्घाटन गर्ने कृतिले मायाको अर्थ खोज्न,मायाका विविध रसायनहरुको बारेमा जान्न सघाउँछ ।अनुसन्धानका धेरै पाटाहरुमा आधारित भएर तयार गरिएको कृति गैह्रआख्यान हो,तर मीठासपूर्ण ढंगले महिला पुरुषबीच भएका जीवरसहरुको बारेमा चर्चा गरिएको छ ।
सबैमा केही न केही क्षमता रहने भन्दै कृतिले मायालाई बिकाउ बस्तु होइन भनेको छ । सबैभन्दा बढी चर्चा हुने विषय यौन भएको कृतिले बताएको छ । अरुको मन जित्ने कला,माया दर्शाउने कला,सम्बन्ध जोड्ने र विच्छेद हुने कारण र निवारण जस्ता जीवनोपयोगी र व्यवहारोपयोगी विषयहरु समेत कृतिले समेत सिकाएको छ ।
माया मात्र मायालाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य रु.५९५। रहेको छ ।
प्रेमाश्रु
विमला ढुङ्गाना निरौलाको कथाकृति हो । यसभित्र विभिन्न शिर्षककृत २९ थान कथाहरु समावेश गरिएका छन् ।विशेषत समसामयिक विषयवस्तुमा आधारित कथाहरुको प्रधानता पाइन्छ ।देश र विदेशको बसाईमा कथाका पृष्ठभूमिहरु तयार भएका छन् । प्रेम,नारी पतिपत्निका सम्बन्ध,मनोविज्ञान र मनोदशा जस्ता पृथक विषयहरु कथाका विषयवस्तु बनेर आएका छन् ।पुरुषको स्वार्थ, विभिन्न रुपमा हुने नारी शोषणले कथानक पाएका कथाहरु पनि यसभित्र छन् ।
मझ्यौला आयतनमा रहेका, सरल भाषामा लेखिएका कथाहरु छन् ।
प्रेमाश्रुलाई मिलाप पब्लिकेशन्स प्रा.लि.ले बजारमा ल्याएको हो । यस कृतिको मूल्य रु.४५०। रहेको छ ।
अक्षरैअक्षरमा
कणाद महर्षिको कविताकृति भित्र विभिन्न शिर्षकका ६५ थान कविताहरु समावेश छन् । मनका भावहरु सरल रुपमा खिपेर कविताहरु ल्याउने कविको खुवी कृतिमा देखिएको छ । समसामयिक चेतका कविताको बाहुल्यता रहेको कृतिभित्र आम नेपालीका विषयहरु आएका छन् । समाजका अनेक अवयवहरुमा देखिएका विकृति र विसंगतिमाथि कविताको तिव्रतर व्यङ्ग्यचेत आएको छ । मन घोत्लिँदा कविताको आकार आएजस्तो,कविमन पोखिएको छ भावनाका गुम्फनहरुद्धारा । पर्याचेत छ कविमा,नेपाली मन बोलिएको छ कवितामा ।
सरल तर व्यङ्ग्यचेतको प्रचुरता,सुलोलित बिम्ब र अलङ्कार र प्रतिकहरुको सुन्दर प्रयोग,अनौठा शिर्षकले कवितामा प्राण भरेझैं लाग्छ ।
अक्षरैअक्षरमालाई साझा प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.३१०। रहेको छ ।








