
दक्ष चिकित्सकलाई नदेखाइ अदक्ष चिकित्सकको अडकलको भरमा शल्यक्रिया गरी अंग काटी फालीसकेको मान्छेको हालत कस्तो होला ? एकछिन् विचार गरी हेरौं त । अवश्य पनि त्यो मान्छेको जीवन भयावह सिवाय अरु हुने कल्पना पनि गर्न सकिन्न । त्यतिबेला सबभन्दा धेरै सास्तीको भोगाई बिरामीको हुने हो चिकित्सकको हुने होइन । त्यही भएर सबभन्दा पछुतो कसको हुने भन्दा त्यो पनि उही बिरामीको हुने हो अरुको हुने होइन । जसरी दक्ष चिकित्सकले सम्पूर्ण रिपोर्ट अध्ययन गरी सकेपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निर्णय गर्छ । त्यत्तिकै हचुवाको भरमा चिकित्सकले पनि गर्दैन र बिरामी, बिरामीको परिवारले पनि निर्णय गर्दैन ,गराउँदैन ।
यो सन्दर्भ केसंग जोड्न खोजेको भन्दा हचुवाको भरमा कच्चा ज्योतिषहरु पर्वसुधार भनीकन चल्दै आएको पञ्चाङ्गको एकमहिना काटेर पर्व मनाउनु पर्दछ भनेको संग जोडेको हो । यसले धार्मिक कृत्यको पुण्यफल पाउने हो भन्दै कति मान्छे त्यसैको बहकावमा आएर हरेक चाडवाड अरुले मनाउने दिन भन्दा एक महिना अगावै मनाउन थालेको पनि देखिएको छ । यसले अरु भन्दा पनि हाम्रो संस्कृति परम्परा बिग्रियो चिन्ताको विषय भनेको यही छ । यो कुरामा सम्पूर्ण नेपाली सचेत हुन जरुरी छ भन्दै यो लेख तयार गरिएको हो ।
वि.सं २०६६ को सौर चैत्र महिनालाई हटाई सोको सट्टा वि.सं २०६७ को वैशाख शुरु गर्ने भनी ज्योतिषहरुको सिफारिसअनुसार तन्कालीन नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्न पुगेको हो र त्यो निर्णय लागू गर्न नसकेको पनि यथार्थ सत्य हो । त्यो निर्णय लागू गराउन नसक्नु ती कच्चा ज्योतिषहरुको निमित्त दूर्भाग्य ठहरिएको होला तर आम जनसाधारणको निमित्त भने त्यो दूर्घटनाबाट बच्न पाउनु इश्वरको कृपा पाएको सिद्ध भएको छ ।
त्यतिबेला नेपाल सरकारलाई प्राप्त भएको प्रतिवेदन र सिफारिस एकदम कच्चा धरातलमा टेकिएर गरेको रहेछ भन्ने कुरा अहिले यो अध्ययनले देखियो । जस्तो केही नभएको सकुसल मान्छेको अंग काटेर फाली दिंदा जुनखालको हालत हुने हो पञ्चाङ्गको एकमहिना काट्दा पनि पञ्चाङ्गको हालत त्यही हुने थियो त्यहीभएर पञ्चाङ्ग निर्णायक समितिले बिरोध गरेर रोक्न लगाइएको पनि ठीक भएको हो । त्यो कदम अत्यन्तै स्तुत्य ठहराउन जरुरी छ ।
प्राप्त प्रतिवेदन र सिफारिस एकदम गलत थियो भन्ने कुराको यथार्थ जानकारी यसरी अगाडि राख्न सकिन्छ ।
१. पहिलो बुँदा जुनबेला नेपालमा विक्रमसंवत् भित्रियो वा भित्रिन लगाइयो त्यहीबेला त्यसको पहिचान खुल्न सकेको थिएन ।
२. दोस्रो बुंदा जुनबेला चैत्रादि विक्रमसंवत्लाई वैशाखादिको पहिचान नेपालले गर्यो त्यहींबाट बिकृति झन बिकराल रुपले निम्तियो ।
३.तेस्रो बुंदा त्यसमाथि अमान्तमानको विक्रमसंवत्लाई पूर्णिमान्तमानको सिद्धान्त अनुरुप चल्ने बनाइयो त्यो त अघिको भन्दा झनै बढी बिकराल रुप लिएको हो
यहाँ मुख्य समस्याको जड भनेको नै यही थियो । यतातिर ध्यान नै नदिई सायन निरयणको घनचक्कर तिर अल्मलाई २४ डिग्री वर सरेको कुरा ल्याइ ठूलो बितण्डाको भड्खालोमा हाल्ने कोशिस जुन अनवरत रुपले हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको हो त्यसलाई रोक्नु अत्यन्त जरुरी थियो । मुलुक र जनताले स्वस्फूर्त ढंगले मनाइ आएको संस्कृतिमाथि यो कुठाराघातको खतरनाक खेल मात्र हो ।
रोग भन्ने कुराजति पाल्यो त्यति झनझन खतरनाक किसिमको क्यान्सर जस्तै हुने हो । त्यसकारण अबिलम्ब विक्रमसंवत् नेपालले परित्याग गर्नु जरुरी छ किनभने मुख्य समस्या देखिएको नै विक्रमसंवत्मा हो अरुमा होइन । यसमा पञ्चाङ्गको कुनै दोष होइन विक्रमसंवत्को दोष हो । त्यसैले काटेर मिल्काएर फाल्नु पर्ने विक्रमसंवत् मात्र हो तर पर्वसुधार भन्नेहरुले पञ्चाङ्गको एकमहिना काट्यो भने आफसेआफ् मिल्छ भन्दै आएको कुरा उनीहरुको प्रतिवेदन र सिफारिसले नै भन्छ ।
१ माथिको पहिलो बुँदामा उल्लेख भएको कुराको प्रसंगमा भन्नुपर्दा विक्रमसंवत्को इतिहास धेरै पुरानो होइन । नेपालमा विक्रमसंवत् हुल्न आउँदा नेपालसंवत् ५११ चलीरहेको थियो । अहिलेसम्म देखिएको अभिलेखमध्ये विक्रमसंवत् उल्लेख भएको पहिलो अभिलेख पाटन उवावहीको ताम्रपत्र अभिलेख हो । यसमा त्यसबेला कुनचाहिं संवत्लाई शकसंवत् भन्ने र लिच्छविकालदेखि नेपालमा चल्दै आएको कार्तिकादिरुपी संवत् शकसंवत् हो होइन कुनै छुट्याउन सकिरहेको अवस्था थिएन त्यसतो अवस्थामा नेपालसंवत्संग ८०२ वर्ष अन्तर हुने लिच्छविसंवत्लाई शकसंवत् भनेर उल्लेख गरेको छ भने त्यो शकसंवत्संग १३१ वर्ष अन्तर हुने १४४४ लाई विक्रमसंवत् भनी नाम दिइएको कुरा उक्त अभिलेखमा छ । विक्रमसंवत् र शकसंवत्बीचको अन्तर जहिले पनि १३५ हुुनु पर्नेमा यस अभिलेखमा १३१ मात्र अन्तर देखाइएका कारण नेपालमा विक्रमसंवत् हुलेदेखि नै त्यसको आफनो पहिचान स्पष्ट थिएन भन्ने कुराको ज्वलन्त प्रमाण हो ।
अभिलेखको संवत् प्रकरण यस प्रकार छ
अथ कलिराजवर्ष ४४९२ विक्रमराजवर्ष १४४४ शकराजवर्ष १३१३ श्रीमत्नेपालिकः श्रेयोऽस्तु ।। सम्वत् ५११ प्रथमाषाढशुक्ल दशम्यां घटि २५ वेला एकादश्यायां तिथौः कपिलदिने ।। वनिकरने।। शशिहोरायांं स्वातिनक्षत्रघटि ४९ तस्मिननेव नक्षत्रे प्रतिस्थापितं शिवजोगघटि १५ प्रसिधिजोगे।। सोमवासरेत्मीन लटापटांग्रज्य दोखल्लास्त ।। मीथुनराशिगतसविस्तरि तुलराशिगते चन्द्रमशि ।।
( धनवज्र वज्राचार्यको पूर्वमध्यकालका अभिलेख,पृष्ठ १८२ )
यहाँ नेपालसंवत् ५११ दिइएको हुनु योसंग ८०२ वर्ष अन्तर हुने १३१३ वास्तवमा शकसंवत् नै होइन । यदि यसमा १३५ जोडेपनि विक्रमसंवत् ठहरिन नसक्ने आफनो ठाउँमा छ , त्यसमाथि १३१ मात्र अन्तर देखाइएको हुनु विक्रमसंवतको वास्तविक हुलिया होइन भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
त्यसपछि ने.सं ५२४ को पाटन सुनधाराको अभिलेखमा यस्तै गरी ८०२ वर्ष अन्तर हुने १३२६ लाई पनि श्रीशकराजवर्ष भनी त्यसमा १३५ वर्ष अन्तरहुने गरी श्रीविक्रमराजवर्ष १४६१ भनेर विक्रमसंवत्को हुलिया सच्याइएको देखियो । वास्तवमा यसरी हुलिया सच्याएतापनि नेपालसंवत्संग ८०२ वर्ष अन्तर हुने संवत् शकसंवत् नभएको कारण विक्रमसंवत्को हुलिया सच्चेको मान्न सकिन्न ।
त्यसपछि ने.सं ८०८ मा भक्तपुरका राजा जितामित्र मल्लको पालामा राखिएका एउटै वर्षका अभिलेखमा कुनैमा विक्रमसंवत् १७४५ भनेर दिइएको र कुनैमा १७८९ भनेर दिइएको आधारबाट हेर्दापनि विक्रमसंवत्को हुलिया कहिल्यै सच्चिएको थिएन भन्ने प्रमाणहरु यथेष्ट मात्रामा औंल्याउन सकिन्छ ।
२ माथिको दोस्रो बुँदामा उल्लेख भएको कुराको प्रसंगमा भन्नुपर्दा कलिगतसंवत्, विक्रमसंवत् र शकसंवत् चैत्रादि संवत् हुन् भने नेपालसंवत् मात्र कार्तिकादि संवत् हुन् भन्ने स्पष्ट छ । यसरी चैत्रादि विक्रमसंवत् भनेर सिद्ध हुने अनगिन्ती प्रमाण हुँदा हुँदै पनि विक्रमसंवत्लाई वैशाखादि कसले बनाएको हो ? यसरी विक्रमसंवत्को पहिलो दिन एक महिना पर सार्ने उहिले नै भएको हो । अहिले आएर फेरि २०६७ सालको वैशाखलाई २०६६को चैत्रमा ल्याएर राख्नु पर्यो भनेर हुँदैन । विक्रमसंवत्लाई पनि पहिले जस्तै चैत्रादि मानेर हिसाव गरे पुग्ने ठाउँमा २४ डिग्री सरेको गलफत्ति गर्ने किन ? सुरुवाल लामो भयो भन्दैमा खुट्टा लामो पार्न सकिंदैन र सुरुवाल छोटो भयो भन्दैमा खुट्टा काट्ने पनि गर्ने होइन । शुरुदेखि नमिलेको विक्रमसंवत्लाई जतिसुकै तानतुन काटकुट जे गरे पनि मिल्ने होइन । यसलाई अबिलम्ब फाल्ने सिवाय अरु उपाय छैन भनेर बुझ्ने प्रयास गर्नु मात्रै बुद्धिमत्ता हो ।
३ माथिको तेस्रो बुँदामा उल्लेख भएको कुराको प्रसंगमा भन्नुपर्दा विक्रमसंवत् पहिले जस्तै अमान्तमानबाट हिसाव गर्नु पर्नेमा पूर्णिमान्तमान बनाएको कसले ? मध्यकालमा चारवटा मिति भएको अभिलेखहरु अनगिन्ती मात्रामा छन् तिनको हिसाव गर्दा सबै नेपालसंवत् जस्तै अमान्तमानलाई आधार लिइने गर्दथ्यो । जुनवेलादेखि विक्रमसंवत्लाई वैशाखादि र पूर्णिमान्त बनाइयो त्यो बेला देखि २४ डिग्री फरक पर्न गएको हो । अब आएर पर्वसुधार गर्ने भन्नेहरुले कसैले १५।१६ सय वर्षदेखि नमिलेको ,कसैले १७ सयवर्षदेखि नमिलेको कसैले २ हजार वर्षदेखि नमिलेको गफ गर्दै आए वास्तवमा ती भन्नेहरु सबै नाटकका जोकरहरु मात्रै हुन् । नेपालसंवत् जस्तै गरी अमान्तमानबाट हिसाव गरिए भने पहिले कार्तिक शुकलपक्ष त्यसपछि कार्तिक कृष्णपक्ष गर्दै सबै महिना शुक्लपक्ष अघि र कृष्णपक्ष पछि गरेर हिसाव गरियो भने सबै पूर्णिमा क्षेत्रमा आइ हाल्यो । हाम्रो पात्रो पल्टाएर हेरियो भने नेपालसंवत् अनुसार कार्तिककृष्ण पक्ष भनेको विक्रमसंवत्को मंसीर कृष्णपक्ष गर्दै लगेको देखिन्छ । यता कार्तिक शुक्ल भनेको कछलाथ्व र कार्तिककृष्ण पक्षलाई कछलागा गरे जस्तै गरे त समस्या नै नहुने तर कछलागालाई मंसीर कृष्ण गरे पछि विक्रमसंवत्को हिसाव नमिल्नु स्वभाविक भएको हो । यस प्रकार सम्पूर्ण समस्याको जड भनेकै विक्रमसंवत् हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
पर्वसुधार भन्नेहरुको भनाइ के रहेछ ?त्यो पनि सुनौं
वर्तमान अयनांशका फरक स्थितिलाई विगत २ हजार वर्षदेखि विक्रमसंवत्को पञ्चाङ्ग सुधार नगरिएकोले नै अयनचलनसम्बन्धी प्रभाव २४ दिनसम्म जम्मा भइसकेको छ ।
(पर्वसुधारका आधारहरु पृष्ठ २०)
जसले यो कुरा बोल्यो उसलाई अयनांश भनेको के हो ? त्यसको कुनै अत्तोपत्तो ज्ञान छैन ।
.विक्रमसंवत् नेपालमा कहिलेदेखि भित्रिएको थाहा छैन र त्यो विक्रमसंवतमा २ हजारवर्ष देखि पञ्चाङ्गमा सुधार नगरिएको इतिहास थाहा होला भनी पत्याउने कसरी ?
अयनचलनसम्बन्धी प्रभाव भनेको के हो ?उनी आफै अस्पष्ट छ ।
२४ दिन जम्मा भइसकेको छ भनियो तर कहाँ जम्मा भइरहेको हो खुलाउन सकेको होइन ।
श्री रातो मत्स्येन्द्रनाथ करुणामयको ६ महिना दक्षिणायन बसाई बुंगमतीमा र ६ महिना उत्तरायण बसाई पाटन मच्छिन्द्रवहाल हो जुन साइतहरु हेरी ज्येष्ठ पूर्णिमा क्षेत्र भित्र दक्षिणायन बुंगमती सवारी हुन्छ भने मंसीर पूर्णिमाक्षेत्र भित्र उत्तरायण पाटन मच्छिन्द्रवहालमा सवारी हुन्छ ।
(पर्वसुधारका आधारहरु पृष्ठ २६)
मुख्य प्रश्न यो छ कि अहिले रातो मछिन्द्रनाथ ६ महिना भनेर कुन कुन महिनाहरु पाटन मछिन्द्रवहालमा बसाइ हुने र कुन कुन ६ महिना बुंगमती बसाई हुने गरिएको छ । यदि २०६६ सालको चैत्रलाई २०६७ सालको वैशाख गरेर १ महिना संकुचन गरिएको अवस्थामा कुन कुन ६ महिना वुंगमतीमा कुन कुन ६ महिना पाटनमा हुने थियो । यसले उत्तरायण र दक्षिणायनको सिद्धान्त जुन ठ्याक्कै मिल्ने हुन्छ भनी देखाउन नसकेको किन?त्यो हेरफेरलाई बुंगमती र पाटनले सकारेको छैन किन ? त्यसरी संकुचन गरे मुताविक बुंगमती र पाटन मछिन्द्रवहालका जनताले त मान्दैन अरुको कुरै छोडौं ।
योमह्रि पुन्हि र ज्याःपुन्हि भारतका कोही शंकराचार्य आएर तय गरिएको होइन ।
हाम्रो देशमा योमह्रि पुन्हि र ज्याःपुन्हि भनी अयन पूर्णिमाहरु सुधार भइसकेका छन् ।
(पर्वसुधारका आधारहरु पृष्ठ २५ ।२६ )
हामी नेपाल भाषाभाषीले योमह्रि पुन्हि वर्षको सबभन्दा लामो रात भनेर मान्दै आएका हौं । हाम्रा बाजे बज्यैले योमह्रि पुन्हिको सबभन्दा लामोरातमा पनि सुत्न नपुग्ने मान्छेले जीवनमा सुख पाउँदैन भन्थे । त्यस्तै वर्षको सबभन्दा लामो दिन ज्याः पुन्हिलाई मान्दै आएका हौं । यो दिन पनि लामो दिन भएर पनि काम गदागर्दा काम सकाउन नसक्नेले पनि जीवनमा सुख पाउदैन भन्थे । यसलाई उत्तरायण र दक्षिणायन हुने दिन भनेर कसैले मानेको सुनेको छैन । त्यसैले यसलाई अयन पूर्णिमा भनेको पनि सुन्नमा आएको थिएन । त्यसमाथि एक महिना संकुचन गरेको अवस्थामा ज्यापुन्हि(जेष्ठ पूर्णिमा) भनेको अहिलेको वैशाख पूर्णिमामा पर्ने र योमरिपुन्हि(मंसिरपूर्णिमा ) पनि कार्तिक पूर्णिमामा पर्ने भएपछि ती पूर्णिमालाई अयन पूर्णिमा उनीहरुले भनेर हुने होइन । एकातिर माघ १ गते उत्तरायण मानेर आएको मिल्दैन पौष ७ गते पर्छ श्रावण १ गते दक्षिणायन मानेको मिलेन असार७ गते पर्छ पनि भन्ने अर्कोतिर अयन पूर्णिमा एउटा वैशाखमा र अर्को कार्तिकमा भनेर मान्दा पूर्णिमा क्षेत्रको तालमेल त कतै मिलेन । यसबाट ज्योतिषहरुको प्रतिवेदन र सिफारिस कच्चा रहेको सिद्ध हुनआउँछ ।
महाशिवरात्रि पर्व फागुनकृष्ण चतुर्दशीमा नै पर्छ र भ्रम फैलाइए जस्तो माघमा पर्दैन ।
(पर्वसुधारका आधारहरु पृष्ठ २५ )
एक महिना संकुचन गरेको अवस्थामा पनि नेपालको क्यालेण्डरमा अवश्य फागुनकृष्ण चतुर्दशी नै पर्ने हुन्छ तर भारतबाट आउने जोगी सन्यासीहरु फेव्रुवरी २५ ।२६ तिर आउँछन् । हाम्रो क्यालेण्डरअनुसार एक महिना अगावै पर्ने भएकोले जनवरीको २५ ।२६ तारिखमा फागुनकृष्ण चतुर्दशी पर्यो भन्दैमा उनीहरुले सहजै मान्छ भन्नु कच्चा बुद्धि नै हुने हो । किनभने जनवरीको २५ ।२६ तारिख भनेको माघमा नै पर्ने हो । यति पनि हेक्का नहुनु भनेको पुर्वसुधार भन्नेहरुको अदूरदर्शिताको पराकाष्ठा हो भन्न सकिन्छ ।
जुलियन क्यालेण्डरअनुसार डिसेम्वर २१।२२ ता.जुन २१।२२ ता. का पर्वहरु विज्ञान सम्मत होइनन् र?
अतः वर्तमानमा निरयण गणनाअनुसार मनाइने माघ १ गते ग्रेगोरियन क्यालेण्डर जनवरी १४।१५ र श्रावण १ गते ग्रेगोरियन क्यालेण्डर जुलाई १६।१७ नै क्रमशः शास्त्रानुसारका अवास्तविक लामो रात (सूर्यउत्तरायण) र लामो दिन (सूर्यदक्षिणायन) छन् भन्न सक्ने कुनै वैज्ञानिक आधार छैनन् र वर्तमानमा यी अवैज्ञानिक नै हुन् ।
(पर्वसुधारका आधारहरु पृष्ठ २६ )
इसापूर्व ४६ मा रोमका जुलियस सिजरले इस्वीसंवत् सुधार गरेदेखि त्यो इस्वी संवत्को नाम जुलियन भन्न थालिएको हो । पछि त्यही जुलियन वर्ष १५८२ मा आएर रोम कै धर्मगुरु पोप ग्रेगोरी तेह्रौंले फेरि सुधार गरेपछि जुलियन इस्वीसंवत्को नाम ग्रेगोरियन हुनगएको हो । त्यस उप्रान्त इस्वीसंवत्लाई जुलियन कसैले भनेनन् । ग्रेगोरियन क्यालेण्डर यूरोपको रोमन क्याथोलिक देशहरुमा मात्र व्यवहार भयो । इस्वीसंवत् १७५१ मा आएर ब्रिटेनले ग्रेगोरियन क्यालेण्डर संशोधन सुधार गरेर प्रयोग गरे । त्यसो हुनाले पछि यसलाई ब्रिटेनले जुलियन र ग्रेगोरियन भन्ने गरेनन् । यसबारे अलिकति ज्ञान श्री चुडामणि कट्टेललाई थाहा भएको रहेछ त्यसैले पर्वसुधारको आधारहरु नामक पुस्तिकाको पृष्ठ १५ मा त्यो संकेतसम्म गरेको पाइन्छ । तर अरुलाई यसबारे फिटिक्कै ज्ञान नरहेको प्रत्यक्ष देखिन्छ ।
ग्रेगोरियन क्यालेण्डरअनुसार मेष संक्रान्ति मार्च १४मा पर्नु पर्ने हुन्छ भने अहिलेको १७५१ मा सुधारिएको क्यालेण्डरअनुसार मेष संक्रान्ति अप्रिल १३ । १४ तारिख परिरहेको सबैले देखेकै हो । यो कुरा संशोधन मण्डलको पूर्णिमा अंक ५६ पल्टाएर हेर्न सकिन्छ । यसबाट पनि कुन वैज्ञानिक र कुन अवैज्ञानिक उनीहरु आफै अन्योल रहेको प्रत्यक्ष रुपले सिद्ध हुन्छ ।
निष्कर्ष
समग्रमा नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित पर्वसुधार राष्ट्रिय कार्यदल २०६३ ले दिएको प्रतिवेदन र सिफारिस एकदम गलत थियो । उक्त कार्यदलले सम्पूर्ण समस्याको जड के थियो भन्ने पत्ता लगाउन सकेन । त्यसमाथि आफनो अध्ययन प्रतिवेदन पनि झारा टराई खालको आएको र त्यही प्रतिवेदनको आधारमा दिइएको सिफारिस एकदम कच्चा थियो ।
यसमा सम्पूर्ण समस्याको जड भनेकै विक्रमसंवत् हो । यो संवत् राखी रहुञ्जेल कहिले पनि यस्ता विवाद शान्त हुने हुँदैन । सुचिकारले सिलाएको सुरुवाल छोटो भयो भन्दैमा सुरुवाल अर्को सिलाउने सुझाव नदिइ खुट्टा काट्ने सुझाव दिइए सरि सिफारिस आएको र निर्णय गर्नेले पनि खुट्टा काट्ने नै निर्णय गरे जस्तै तत्कालीन २०६५ पौष १६ गते निर्णय भएको देखियो । यो निर्णय एकदम घातक थियो । त्यसकारण पर्वसुधार कार्यदलको प्रतिवेदन त्यसले दिएको सिफारिस र सिफारिसको आधारमा भए गरेका निर्णय समेत सारा कुरा अबिलम्ब खारेज गर्नु नितान्त जरुरी छ । जय नेपाल आमा









