
लघुकथा
माटो जुराउँदा !
हरिभक्त सिग्देल ‘महेश’
रामानन्द पण्डित प्रकाण्ड विद्वान् हुँ भन्ठान्नुहुन्थ्यो । एक दम्पति घर बनाउने माटो जुराउन पण्डितकोमा आइपुग्छन् । घर बनाउने जग्गाबाट खनेर ल्याएको माटो बाटोमा नै बाइकबाट खसेको पत्तै भएन । पछि श्रीमानले थाहा पाए । श्रीमतीले चाल पाइन् भने कचकच गर्छिन् भनेर श्रीमानले सुटुक्क पण्डितकै आँगनको माटो खनेर झोलामा राख्छन् । त्यो कुरा श्रीमतीलाई थाहा थिएन।
भित्र गएर पण्डितकोमा त्यो माटो देखाउँदै भने, ‘गुरु एउटा घर बनाउँ भनेर जग्गा किनेको माटो हेरिदिनुपर्यो।’
गुरुले कापीमा कोष्ठ कोष्ठ बनाएर अङ्कहरू लेखेको कोठाहरु मध्ये कुनै ठाउँमा माटो राख्नुहोस् भन्नुभयो,श्रीमानले माटो राखिदिए।
गुरुले माटो यसो यता उति चलाएर भन्नुभयो,’यो ठाउँमा घर नबनाउनुहोस्। खेती गर्न पनि मिल्दैन, बरु बेच्नुहोस्। यहाँ घर पनि नबनाउनु। किनकि यो जग्गा अशुभ छ। यसमा घर बनायो भने श्रीमतीले श्रीमानलाई धोका दिएर परपुरुषसङ्ग अनैतिक सम्बन्ध राखी श्रीमानको हत्यासम्म गर्न सक्ने देखिन्छ।’
श्रीमतीको मुख कालो निलो भयो ।
त्यतिकैमा श्रीमानले भने, ‘गुरू यो त हजुरकै आँगनको माटो हो।’


