
१. पृष्ठभूमि र परिचय
महान् एवं मूर्धन्य मानिएका व्यक्तिद्वारा लेखिएका इतिहास भएपनि त्यो इतिहास सदावहार हुनै पर्दछ भन्ने जरुरी छैन । हरेक व्यक्तिले आफनो रचनामा सकभर त्रुटि देखानपरोस् भन्ने चाहनु स्वभाविक कुरा हो । पाठकको संख्या अनगिन्ती हुन्छन् त्यसमध्ये कसैले त्रुटि औंल्याएछन् भने त्यसको सराहना हुनुपर्दछ । यदि लेखक जीवित छ भने लेखक स्वयंले त्रुटि सच्याउनु पर्ने हुन्छ भने लेखक कृतिशेष भइसकेको भए प्रकाशक त्यो पनि नभए पाठक स्वयंले भएपनि त्यसमा जवाफदेहिता देखाउनु पर्दछ । गलत सावित भएको इतिहासको संशोधन गर्दै लानु पर्ने हुन्छ र संशोधन गर्दा के बिग्रन्छ ? औंल्याइएका त्रुटिको सुनुवाई भएन , त्रुटिलाई प्रकाशमा ल्याउँदा कोही रिसाउलान् कि भनी बन्देज गर्दा भोलि धिक्कारको संज्ञा कसलाई लाग्छ ? गलत सावित भएको इतिहास पढेर कसको गौरव बढ्ने हो ? त्यसकारण बेलैमा त्रुटि सच्याएको उचित हुन्छ । देखिएको त्रुटि यथासक्य संशोधन हुनु जरुरी छ होइन भने इतिहासको वस्तु तथ्यको हितमा हुँदैन । तसर्थ त्रुटीपूर्ण इतिहासलाई थेगेर राख्ने सोच बदलौं ।
ती औंल्याइएका त्रुटि सामान्य होइन गंभीर छन् भने सुधारेर पढ्दामा कसलाई हानी हुन्छ होला ? यसरी त्रुटि औंल्याइएको लेख प्रकाशित गर्ने अवसर पाउँदा पनि प्रकाशित गर्न गराउन डराएर पन्छिन् भने त्रुटि शिरोपर गरेर बस्न चाहने दोष त उनैमाथि अवश्य लाग्छ होला । खैर जे भए पनि कुरो र सन्दर्भ भनेको नेपालको प्राचीन लिच्छवि वंशका शासकहरूले शासन गरिरहेको बेलाका अभिलेख भएर “लिच्छविकालका अभिलेख” नामक ६१८ पृष्ठको बाक्लो ग्रन्थको बारेमा औंल्याउन खोजिएको हो । यो ग्रन्थमा प्राचीन अभिलेखहरूको अनुवाद, ऐतिहासिक व्याख्या सहित राखिएको छ । यो ग्रन्थ वि.सं. २०३० मा त्रि.वि. नेपाल तथा एशियाली अध्ययन संस्थान कीर्तिपुरबाट प्रकाशित भएको हो ।
इतिहास लेखनको आधारको रुपमा लिच्छवि इतिहास बुझ्न यो ग्रन्थ अत्यन्त भरपर्दो स्रोत मान्दै आएको पनि हो यद्यपि त्यसमा त्यतिबेला विद्यमान रहेको कालक्रमिक भ्रमहरू हटाउने प्रयास भने बिल्कुलै गरिएको देखिंदैन । उल्टो ती भ्रमलाई थप मलजल गर्ने प्रयास व्यापक देखिएको हुनाले यो समीक्षात्मक लेख सोही ग्रन्थको विषय भित्र रही तयार गर्नु परेको हो ।
लिच्छविकालका अभिलेख संकलनको इतिहासः
वि.सं. १९३७ पं. भगवानलाल इन्द्रजीले नेपालका प्राचीन अभिलेखहरू संकलन गरी लिच्छविकालका १५ वटा अभिलेख र परवर्तीकालका ८ वटा समेत राखी २३ वटा अभिलेख छपाए । यसरी नेपालको प्राचीन शिलालेख पनि इतिहासको भरपर्दो र प्रामाणिक स्रोत हुन् भनी आँखा खोली दिने कार्य उनीबाट नै शुरु भएको हो । त्यसको लगत्तै केही समय पछि सेसिल बेण्डालले ४ वटा लिच्छविकालका अभिलेख थपे । यही क्रमलाई निरन्तरता दिन वि.सं. १९६५ मा आएर सिलभान लेभीले पनि २१ वटा लिच्छविकालका अभिलेख प्रकाशमा ल्याए । वि.सं. २०१० देखि संस्कृत सन्देश पत्रिकाले पनि केही थप अभिलेखहरू प्रकाशमा ल्याउन थाले ।
वि.सं. २०१३ मा आएर रेनिइरो नोलीले केही थपथाप गरी जम्मा जम्मी जति प्रकाशमा आएका देखिए ती सबै एकत्रित गरी ९२ वटा लिच्छविकालका अभिलेखहरू संकलन गरी प्रकाशमा ल्याइ दिए। त्यसपछि वि.सं. २०१५ मा टामस ओ व्यालिञ्जरले थप ५ वटा लिच्छविकालका अभिलेख प्रकाशमा ल्याए । वि.सं २०३० सम्म आइ पुग्दा १८९ वटा शिलालेख र एकवटा ताडपत्रमा लेखिएको सहोत्तरतन्त्र नामक प्राचीन ग्रन्थको पुष्पिका वाक्य समेत गरी १९० वटा संकलन गरी त्यसको अनुवाद र व्याख्या समेत गरी धनवज्र वज्राचार्यबाट लिच्छविकालका अभिलेख नामक ग्रन्थ नै तयार गरी प्रकाशमा ल्याए । यो ग्रन्थलाई धेरैले मुक्त कण्ठले प्रशंसा नै गर्दै तारिफ गर्दै आएका हुन् । यो कुरा सारा पाठकहरू बीच जगजाहेर भएरै रहेको हो तर समयको अन्तरालमा प्राचीन लिच्छविकालका अभिलेख फेला पर्ने क्रम रोकिएको थिएन। त्यसरी थप अभिलेखहरू प्राप्त हुँदै आउने क्रममा उनले प्रष्ट पार्न नसकेका कतिपय अभिलेखहरू मध्ये कति त उनी जीवित छँदै प्रकाशमा आएका देखिए भने कतिपय उनको शेष पछि मात्र देखापरे । तर जेसुकै भएपनि उनले प्रष्ट पार्न नसकेका कुरा पछिल्लो समयमा देखा परेकै हो यो हरकोहीले स्वीकार नगरी बस्न सकिन्न । त्यसो भएको कारणले उनको ग्रन्थमा जे छ त्यसमा संशोधन आवश्यक छ तर संशोधन गर्नमा आपत्ति जनाउनु पर्ने कुनै आधार छ जस्तो लाग्दैन र उनको कुरा नै सदावहार मानी रहनु पर्ने कारण पनि कुनै छ जस्तो लाग्दैन ।
यदि उनको इतिहास लेखन उहिले अटल थियो अविचलित थियो र अकाट्य थियो त्यो अहिले पनि अकाट्य भएरै रहनु पर्दछ भन्ने हो भने तल देहाय बमोजिमको उठेको प्रश्नको जवाफदेहिता कहाँ छ ? कसले बताउने त ? त्यो कुरा सरोकार संघसंस्थाले हामी जस्ता पाठकलाई मार्ग देखाउनु जरुरी छ ।
१.चावहिलको शिलालेखः
चावहिल धंदो चैत्य अगाडि कमल गट्टा आकारको शिला रहेको छ त्यही शिलाको अर्को भाग चावहिल को थथुबहिल भित्र पनि भेटियो । ती दुबै एउटै कमल गट्टा कमलासनको दुई हिस्सा हुन् । ती दुबैमा अभिलेख अंकित छन् । त्यसमा साल मिति उल्लेख भएको भाग थथुबहिल भित्र पाइएको कमल गट्टामा परेको रहेछ भने धन्दो चैत्य अगाडि रहेकोमा सालमिति नभएको भाग परेछ । सालमिति नभएको भागमा रहेको अधूरो अभिलेख पहिले नै प्रकाशित भैसकेको थियो । यस अभिलेखलाई वज्राचार्यले मानदेव प्रथमका जिजुबाजे वृषदेवको भनी ठहराई व्याख्या गरिएका कुरा लिच्छविकालका अभिलेख नामक ग्रन्थको पहिलो १ संख्यामा छरपष्ट छन् । पछि चावहिल थथु वहिलभित्र भेटिएको अर्को खण्डमा संवत् ४२१ (मानदेव प्रथमको समय) उल्लेख भेटिएको हो । दुबै शिलाखण्डको एउटै अभिलेख पाठ राष्ट्रिय अभिलेखालयबाट प्रकाशित हुने अभिलेख जर्नल अंक ३६ वर्ष ३६ २०७५ मा प्रकाशित छ ।
यसतो दृष्टान्त रुपले यो अभिलेख वृषदेवको होइन, स्वयं मानदेव प्रथमको अभिलेख रहेछ भनी प्रमाणित भइसक्दा पनि चावहिलको अभिलेखलाई वृषदेवको मान्दै वज्राचार्यको लेखनलाई नै अकाट्य ठानेर बस्नेहरू धेरै देखा परेको हुनाले यसको लागि जवाफदेहिता कहाँ छ? कसले बताउने ?यो प्रश्न सतहमा तैरिरहेको छ । के यो अभिलेखलाई सुधारेर पढ्नु जरुरी होइन र ? यो सुधारेर पढ्दा कसको हानी हुने भयो र को रिसाउला भनेर डराउनु पर्ने ? अचम्म त यसमा छ ।
२.चाँगुनारायणको मानदेवको शिलास्तम्भ अभिलेख
यो अभिलेख पं भगवानलाल इन्द्रजीदेखि सयौं लेखकले छपाई सके होलान् भने लाखौं पाठकले पढी सकेका पनि होलान् । त्यसमा पहिलो पंक्तिमा प्रतिपदि पछि फेरि अंक १ अंकित छ । यो अंक १ को अर्थ के हो ? कसैले चासो राखेको छैन र त्यसलाई उल्लेख चाहिं सबैले गर्ने तर अर्थ गर्न लाग्दा सबैले उपेक्षा गर्दै आएको कुरा प्रत्यक्ष देख्दै आएको हो । त्यसरी अभिलेखमा अंकित अक्षर एउटा पनि उपेक्षा गरी छोड्न मिल्दैन तर वज्राचार्यको ग्रन्थमा पनि उपेक्षा गरियो भन्न नहुने वातावरण कसले बनाइ रहेको हो ? सो बुझ्न आवश्यक छ जस्तो लाग्दछ ।
फेरि सो अभिलेखमा भएको संवत् ३८६ लाई सुमतितन्त्रको आधारमा शकसंवत् ठहराई त्यसमा १३५ जोडेर वि.सं. ५२१ हुन्छ भनी बताइएको छ । अर्को कुरो लिच्छविकालमा चलेको संवत् कार्तिकबाट शुरु हुने संवत् भनेर पनि सकारिएको छ तब जेठमा ५२१ भएको विक्रमसंवत् कार्तिकमा केवल ५२० मात्र हुनु पर्ने भयो । त्यसरी ५२० मात्र भएको देखाउन अभिलेखमा भएको संवत् ३८६ जेठमा १३४ मात्र जोड्नु पर्ने हुन्छ । सुमतिन्त्र लगायत सम्पूर्ण शास्त्र पल्टाए पनि शकसंवत्मा १३४ जोड्न पाउने प्रावधान कहीं छैन, छ भने कहाँ छ देखाइयोस् भन्न पनि नपाइने वातावरण कसले सिर्जना गराइ रहेको छ ? त्यो पनि बुझ्न आवश्यक छ जस्तो लाग्दछ ।
३.विष्णुपादुकाफेदीको अभिलेख
यो अभिलेखको मिति प्रकरणमा “प्रथमाषाढ” उल्लेख भइरहेको साराले देखेको हुनुपर्दछ । वज्राचार्यले यसमा अंकित भएको संवत्लाई शक ३९६ मान्नु भएको छ । यही संवत्लाई कसैले ३९५ भनेर पढ्ने गरे भने कसैले ३९८ भनेर पढ्नेहरू पनि देखिए । तर उनीहरूको हात हातमा भएको अधिमास क्षयमास सारणीमा शक ३९५,शक ३९६ र ३९८ कुनै पनि वर्षमा अधिमास परेको देखाइएको छैन । त्यसैले अभिलेखमा देखिने गरेको संवत् शकसंवत् होइन भन्न नपाइने वातावरण कसले सिर्जना गर्दै आएका हुन् । त्यो पनि बुझ्न आवश्यक नै छ ।
४.चाँगुको निरपेक्ष र सूर्यघाटको विजयवतीको अभिलेख
चाँगुको निरपेक्षको अभिलेखमा संवत् ४२७ कार्तिक छ भने सूर्यघाटको विजयवतीको अभिलेखमा संवत् ४२७ आषाढ रहेका छन् यो कुरा सबैलाई थाहा भएकै हुनुपर्दछ । अर्को कुरा कार्तिकको अभिलेखमा मानदेव जीवित बताइएका छन् भने आषाढको अभिलेखमा मानदेव दिवंगत भइसकेको बताइएको छ भन्ने पनि सबैलाई थाहा भएकै हुनुपर्दछ ।
यी दुवै अभिलेखमा संवत् ४२७ छन् सुमतितन्त्र समातेर बस्ने जतिलाई त्यो अन्यौलको स्थिति आइ परेपछि १३५ लाई कार्तिकको मितिमा जोड्ने कि आषाढको मितिमा जोड्ने भनेर किंकर्तव्यबिमूढमा पर्नु परेको अवस्था आए । यो परिस्थितिमा वज्राचार्य पनि चोखो देखिएन । किनकि यही १३५ कार्तिकको मितिमा जोड्यौं भने आषाढको मितिमा १३६ जोड्न जान पर्ने हुन्छ भने आषाढको मितिमा जोड्यौं भने कार्तिकको मितिमा १३४ मात्र जोड्नु पर्ने भयो । तर सुमतितन्त्रले १३४ र १३६ जोड्ने उपाय कहीं कतै सिकाइएको छैन र अरु शास्त्रहरू पनि आकर्षित गराउन सकिने अवस्था छैन ? यस्तो स्थिति किन आइ परेको हो भन्न नपाइने वातावरण कसले बनाइ आएको हो ? बुझ्न जरुरी छ ।
५. अधिकमास उल्लेख भएका अरु अभिलेखहरू
संवत् ४३५ को पाटन बाहालुखाको अभिलेख, संवत् ४४९ किसिपिडीको अभिलेख, संवत् ४७९ काई ब्रह्मटोलको अभिलेख,संवत् ४८७ देउपाटनको अभिलेख संवत् ५१७ बुढानीलकण्ठको अभिलेख र संवत् ५१९ सतुंगलको अभिलेखहरूमा पनि अधिकमास परेको उल्लेख देखियो । तर ती वर्षको महिना जुन जुनमा अभिलेखमा अधिकमास जनाइएको हो ती वर्षको अंकलाई शकसंवत् मान्ने हो भने त्यो वर्षमा अधिमास क्षयमास तालिका जुन हाम्रो हातहातमा छ ती शक वर्षमा अधिकमास परेको देखिएको छैन । त्यसकारण लिच्छविकालको अभिलेखमा भएको संवत् लाई शकसंवत् होइन भन्न नपाइने वातावरण कसले सिर्जना गराई आएको हो ? यो पनि बुझ्न जरुरी छ जस्तो लाग्दछ ।
६.धापासी र लेलेको अभिलेख
धापासीको संवत् ५२६ को अभिलेख र लेलेको संवत् ५२६को अभिलेख यी दुबै शिवदेव अंशुवर्माको संयुक्त शासनकालको अन्तिम वर्ष हो । धापासीको अभिलेख वैशाखको हो भने लेलेको आश्विनको हो । वैशाखको अभिलेखमा “श्रीमहासामन्ताशुवम्र्मणा मां विज्ञाप्य मदनुज्ञातेन” भनेर उल्लेख हुनु, आश्विनको अभिलेखमा “श्रीमहासामन्तांशुवम्र्मा स्मदनुमोदनया” उल्लेख हुनु । यी दुई वाक्याँशको बेग्लाबेग्लै अर्थ छ जुन वज्राचार्यको अनुवादमा वैशाखमा भएको वाक्याँशको अर्थ अंशुवर्माले हाम्रा हजुरमा बिन्ती चढाएर हाम्रो आज्ञा लिने गर्छ र आश्विनको वाक्याँशको अंशुवर्माले हाम्रो अनुमति लिए पुग्छ जस्ता कुरा अभिव्यक्त भएको छ । यी दुबैको एउटै अर्थ र आसय होइन भन्ने प्रष्ट छ । त्यसकारण शिवदेवले अंशुवर्मालाई अधिकार दिएको भएतापनि हरेक काम हामीलाई सोधेर गर मात्र भनेको छ राज्यभार सुम्पेको होइन । त्यही भएर ५२७ मा अंशुवर्माले छुट्टै नयाँ संवत् लागु गरे जस्तो कल्पना गर्नु बेकारको कुरो हो । ५२७ र ५२८ को अभिलेख भेटिएन त्यतिबेला पनि शिवदेवको अनुमति लिएरै शासन चलाए । संवत् ५२९ मा राजाको इज्जतलाई सन्मान गरेर शासनको बागडोर सञ्चालन गर्दा राजाको अनुमति लिएर मात्र गर्नु पर्ने भएको हो । अंशुवर्मा स्वयं राजा भएको होइन र उनलाई नयाँ संवत् चलाउने अधिकार दिइएको होइन । यी आधारले वज्राचार्यको पुस्तकमा जे जस्तो अर्थ लगाइएको हो त्यही सर्वात्मना सत्य होइन ।
७.काठमाडौं लगन ज्यावहालको अभिलेख र गोकर्ण बालुवा गाउँको अभिलेख
काठमाडौं लगन ज्यावहालको अभिलेख सर्ब प्रथम पं भगवानलाल इन्द्रजीले प्रकाश गराई सकेको हो । यो अभिलेख वज्राचार्यले पनि प्रकाशित गरे । त्यस अभिलेखमा संवत् ५३५ श्रावण उल्लेख छ । यसबाट अंशुवर्माले नयाँ संवत् ल्याउने अधिकार पाएको पनि थिएन र उनले नयाँ संवत् लागु गरेको पनि होइन भन्ने बुझिन्छ किनभने संवत् ५३५ भन्दा अगाडिका अभिलेखमा २९,३०,३१,३२,३४ छन् । यी संवत् २९ भनेको ५२९, ३० भनेको ५३० भनेर प्रष्टै बुझिन्छ तर वज्राचार्य लगायत साराले ५३५ अंशुवर्माको हुन नसक्ने तर्क अघिसारे । संवत् ५३५ को अभिलेखमा शिवदेव अंशुवर्मा मध्ये कसैको पनि नाम देखिएन । जहिलेसम्म गोकर्ण बालुवा गाउँको अभिलेख भेटिएको थिएन तहिलेसम्म त्यही तर्कले स्थान पाइ आएको मात्र हो ।
वि.सं २०४६ सालको फागुनतिर गोकर्ण बालुवागाउँमा एउटा कुनै खरोच घाउसम्म नलागेको सफा अभिलेख भेटियो जसमा शिवदेवको नाउँ कतै छैन केवल महासामन्त अंशुवर्माको नाउँ मात्र छ भने सबभन्दा रोचक कुरा संवत् ५ सय उल्लेख नभएको ३६ नजनाईकन ५२६ कै क्रमको ५३६ संवत् अंकित हुनुको साथै द्वितीयपौष समेत उल्लेख आएको छ । यस अभिलेखले अंशुवर्मा शिवदेवको संयुक्त शासक भएको बेलामा महासामन्त थिए भने त्यो भन्दा ठूलो पद लिएका पनि थिएन । राजा शिवदेवलाई गद्दीमा आसीन राखी सरकार प्रमुखको हैसियतले कामकाज चलाइ आएको मात्र देखिएको हो । यसबाट नयाँ संवत् पनि उनले चलाएका होइन रहेछ र संवत् ५३६ भनेको शकसंवत् पनि होइन रहेछ भन्ने स्पष्ट प्रमाण ठहरिन पुगे । यसरी अभिलेख दृष्टान्त हुँदा हुँदै पनि वज्राचार्यको पुस्तकमा जे जस्तो अर्थ लगाइएको हो त्यही सर्वात्मना सत्य हो भन्दै त्यही घेरामा रुमलिएर बस्नु उचित होइन भन्न पनि नपाइने वातावरण कसले बनाइ रहेको छ ? बुझन आवश्यक छ ।
८. बुंगमतीको अभिलेख
संवत् २९ जेष्ठको बुंगमतीको अभिलेखमा केवल अंशुवर्माको नाम मात्र छ र उनको पद अघि शिवदेवसँग संयुक्त शासक हुँदा महासामन्त जुन थियो त्यही पद यसमा पनि कायम छ । यसबाट उनले राजा सरहको दायित्व पाएको होइन भन्ने प्रष्ट बुझ्न सकिन्छ । त्यसो भएपछि लेलेको अभिलेखमा शिवदेवले हाम्रो अनुमति लिएर काम गर्नु भनेर दिइएको दायित्व भन्दा फरकको दायित्व आएको थिएन भनेर पनि प्रष्ट भन्न सकिन्छ ।
अभिलेखको व्याख्या गर्दा वज्राचार्यले यथार्थको सतह भन्दा धेरै पार गएर गरेको देखिन्छ । व्याख्या गर्ने क्रममा संवत् २९ लाई मानदेवसंवत् हो भन्न सुमतितन्त्रलाई आधार बनाउनु परेको छ भनेको छ । ५२७ बाट २९ घटाउँदा ४९८ आउँछ र सुमतितन्त्रमा शकराज्याव्द ४९८ ,मानन्देवस्य राज्याव्द ३०४ दिइएको कुरालाई आधार बनाएको रहेछ । यी कुरामा यथार्थता कुनै पनि छैन भन्ने कुरा हेक्का राख्न उनले सक्नु भएन ।
शिवदेव अंशुवर्माको लेलेको अभिलेखमा भएको संवत् ५२६ लाई शकसंवत् नै हो भनेर सिद्ध गर्ने आधार छैन भने ५२६ आश्विन पछि शुरुहुने ५२७ कार्तिकलाई पनि शकसंवत् भन्ने आधार बनेन भन्ने प्रष्ट छ । बुंगमतीको अभिलेखको संवत् २९ लाई शक सिद्ध हुन नसक्दा पनि त्यसबाट घटाएर ४९८ समात्ने आधार छैन । यो यथार्थ भन्दा टाढा गएको हो । त्यसमाथि संवत् ५२७ को २९ वर्ष अघि मानदेव नामको राजा भेट्टाउन सकिएको होइन । केवलपुरको अभिलेखमा महीदेव पछि मानदेवको नाम आएको मतलव दोस्रो मानदेव हुने संभावना नभएको होइन भन्दै जवरजस्ति अथ्र्याए । यो कुरा गोपालराज वंशावलीमा मानदेव पछि वृषदेवको नाम दिइएको भने जस्तै केवलपुरको अभिलेखमा महीदेव पछि मानदेव आएको मात्र हो त्यो भन्दा फरक केही होइन ।
मानदेवसंवत् ३०४ वर्ष चलेको विश्वास गर्न वि.सं ९३६ शक ८०१ र इस्वी ८७९ मा नेपालसंवत् उठान भएको तथ्यलाई इन्कार गरी प्रमाण सहित खण्डन आउन जरुरी छ तर त्यही कथित मानदेवसंवत् ३०१ भनेको वि.सं ९३५ शक ८०० र इस्वी ८७८ मानेर अरु प्रमाण नपाइन्जेल सुमतितन्त्रलाई नै आधार बनाउनु पर्दछ भन्ने वज्राचार्यको मान्यता सही मान्यता होइन भन्न पनि नपाइने वातावरण कसले बनाइ रहेको छ ? बुझ्न आवश्यक छ ।
९.भक्तपुर इनाय टोल र पाटन सुनधाराको अभिलेख
भक्तपुर इनायटोलको संवत् ३१ को अभिलेखमा अधिकमासको उल्लेख छ । अरु प्रमाण नपाइन्जेल सुमतितन्त्रलाई आधार बनाउनु पर्छ भनियो भने ३१ मा ४९८ जोड गर्दा शक ५२९ हुन्छ हाम्रो हातहातमा भएको अधिमास क्षयमास सारणीमा शक ५२९ को वर्षमा अधिकमास परेको देखाइएको छैन । त्यस्तै पाटन सुनधाराको संवत् ३४ को अभिलेखमा पनि अधिकमास उल्लेख छ तर ३४ मा ४९८ जोड गर्दा शक ५३२ मा अधिकमास परेको सारणीमा देखिनु पर्ने देखिएको छैन । तैपनि जवरजस्ति अरु प्रमाण नपाइन्जेल सुमतितन्त्रलाई नै आधार बनाउनु पर्दछ भन्ने वज्राचार्यको मान्यता सही मान्यता होइन भन्न पनि नपाइने वातावरण कसले बनाइ रहेको छ ? बुझ्न आवश्यक छ ।
१० चाँगुनारायणको गरुड कवचको अभिलेख
चाँगुनारायणको गरुड कवचमा अंकित संवत् ३१ माघको अभिलेखमा वार नक्षत्र समेतको उल्लेख पाइएको हुनाले तिथिमितिको गणना गरी संवत् निर्णय गर्ने आधार पाइएको पनि छ । यसकारण निकट भविष्यमै यसको टुङ्गो लाग्ने आशा लिन सकिन्छ भन्ने भनाइ उनै वज्राचार्यको हो । उनले निकट भविष्य भनेको प्रतिक्षा १४ वर्ष लाग्न गयो किनकि वार नक्षत्रको उल्लेख भएको चाँगुको गरुड कवचको अभिलेखमा भएको संवत् ३१ को अभिलेख वि.सं २०३० मै फेला परेको हो । त्यसलाई सुमतितन्त्रको आधारमा वि.सं ६३३ बाट उठेको मानदेवसंवत् नै हो भनेर गरेको निर्णय वि.सं २०४३ सालमा आएर मात्र प्रकट भए तर संवत् ३१ को वर्ष मात्र अपवादको रुपमा ३९० दिनको वर्ष हुने अरु सबै ३६५ दिनको वर्ष हुने जस्ता गणना देखाएर दुनियाँलाई फेरि भुलभुलैयामा धकेलिएको कसैले हेक्का राखिएन । त्यो निर्णय केवल वज्राचार्यको निमित्त हितकारी ठहरिने भयो अरुको लागि बेकार सिद्ध छ । त्यसैले त्यस्तो भ्रमबाट मुक्त होऊँ भन्न नपाइने वातावरण कसले बनाइ रहेको छ । बुझ्न आवश्यक छ ।
११. पाटन भन्सारचोक र यंगालहिटीको अभिलेख
पाटन भन्सारचोक अर्थात् पाटन दरबार केशव नारायण चोकको संवत् ६७ पौषको अभिलेख र यंगालहिटीको संवत् ६७ भाद्रको अभिलेख यी दुवै राजा नरेन्द्रदेव नेपालको राजा भएपछिको पहिलो वर्षका अभिलेखहरू हुन् । वज्राचार्यको भनाइ अनुसार वि.सं ७०० मा चिनीयाँ राजदूत वाङ् युन चे नेपाल भ्रमणमा आएका थिए । संवत् ६७ मा ६३३ जोड्दा ट्वाक्कै वि.सं. ७०० नै आउने हुनाले सुमतितन्त्रको आधारमा ६३३ जोड्नु इतिहाससित संगति मिलेको भनी विश्वास गर्न खोजेको बुझिन्छ । त्यही संवत् ६७ कै अभिलेख यंगालहिटीमा पनि पाइएको छ तर त्यो चाहिँ वि.सं ७००को सिद्ध गर्न नसक्ने किन ? यसको जवाफ उनको ग्रन्थमा भेट्टाउन सकिन्न किनभने सुमतितन्त्रमा ६३४ जोड्ने सूत्र दिइएको छैन । यहाँ पनि ६७ पौषमा ६३३ जोडे ६७ भाद्रमा ६३४ नजोडी सुखै नपाइने र यदि ६७ भाद्रमा ६३३ जोडे ६७ पौषमा ६३२ मात्र जोड्नु पर्ने अवस्था आउँछ । त्यसकारण सुमतितन्त्रलाई आधार बनाउनु नै महा भूल सिद्ध हुने हो भन्न नपाइने वातावरण किन भइ रहेको हो बुझ्न सकेको छैन ।
१२.सहोत्तरतन्त्रको पुष्पिका वाक्य
वि.सं २०३० सालसम्ममा जम्मा १९० वटा अभिलेख संकलन भइ प्रकाश भएकोमा १८९ वटा अभिलेख पर्दछन् भने एकवटा ताडपत्रमा लेखिएको संवत् ३०१ को सहोत्तर तन्त्र नामक हस्तलिखित ग्रन्थको पुष्पिका वाक्य हो । वज्राचार्यले यसलाई नेपालसंवत् सुरु हुनुभन्दा ३ वर्ष पहिलेको भनेर उल्लेख गर्नु भएको छ । यो पनि सुमतितन्त्रलाई नै आधार बनाएर भन्नु भएको हो । यस पुष्पिका वाक्यमा पनि वार नक्षत्र योग उल्लेख भएकोले १४ वर्षको प्रतिक्षा पछि संवत्को निर्णय आउँदा उनी दुःखी हुनुपर्ने तर त्यतिबेला वज्राचार्य खुशी देखिए । हुनत सहोत्तरतन्त्र नेपालसंवत् शुरु हुनुभन्दा ३ वर्ष अघिको सिद्ध हुनु पर्ने उनको अभिष्ट हो । निर्णयमा सहोत्तरतन्त्रको मिति ३०१ वैशाख भनेको शक ८०० वैशाख र वि.सं ९३५ वैशाख सिद्ध भएर आए । सुमतितन्त्रको शकराज्याव्द ४९८ ,मानन्देवस्य राज्याव्द ३०४ भन्ने मर्म पनि म¥यो, ६३३ को युक्ति पनि म¥यो त्यतिमात्र होइन । लिच्छविकालमा २ थरी संवत् चलेको दावा, शकसंवत् र मानदेवसंवत् चलेको दावा यी सवै मान्यताको हत्या नै भएको देखादेख खुशी जताउन उनी बाध्य भए । दूर्भाग्य नेपालमा यी कटु सत्यको उद्घाटन गर्ने वातावरण र थलो नै छैन । किनभने असत्य ठहरिएको इतिहासलाई अंगालेर कोही प्रभु चिढीएला भन्ने नै त्रास जता ततै देखापरेको पाइयो ।
अन्तमा
समग्रमा लेखिएका इतिहास नै आद्योपान्त गलत धारबाट बग्दै आएको देखिएकोले माथि औंल्याइएका मूलभूत कुराको परिवेशमा तयार गरेको लेख प्रकाशमा ल्याउन खोजेको हुँ तर यो लेख जहाँ दिएको हो त्यहाँबाट प्रकाश गरी दिएन । कोही प्रभु रिसाउलान् र चिढीनु पर्ने होला भन्ने डरले लेख प्रकाश गर्न इन्कार गरी हटाइएको कुरा बुझ्नमा आयो । यो देखेर लाग्यो कि “सत्य डग्दैन झूठ टिक्दैन” भन्ने उखान सुनेको त हो । यता चाहिं झूठ टिक्दो रहेछ सत्यलाई जहिले पनि हतोत्साहित गरिंदो रहेछ । तर केही छैन कुनै दिन सत्यलाई पुज्ने पुजारीहरू अवश्य जन्मलान् । त्यसैको प्रतिक्षामा छौं । जय नेपाल आमा ।
