
कविता
पुरुषोत्तम सापकोटा
बा
पुरानो इस्टकोटको
तल्लो खल्तीबाट निस्कने,
पुस्टकारीको गन्ध,
मेरो बाको पसिना हो।
पुरानो आखिझ्यालबाट देखिने आँखा,
मेरो बाको दुरपिन हो।
आसै आशामा,
आशा पलाउने आँशु
मेरो बाुको परेली हो।
बा त, सिर्फ बोलाउने एक नाम रहेछ।
गुण अनेक रहेछन्।
बा त सिर्फ बा हैन रैछन,
बिना मन्दिर
बिना पूजा
बिना आशा
बिना खुशी
अनन्तसम्म गम्भीर रहिरहन सक्ने
कठोर मनका,नौनी रहेछन।
आफै जलेर,
आफ्नै स्वाद भुलेर,
आफ्नै सन्ततिका लागि,
चिसोमा जम्न सक्ने
गर्मीमा पग्लन सक्ने
डब्बामा बस्न सक्ने
कराइमा उम्लन सक्ने
आफैं परिकार बन्न सक्ने
परिवारलाई, परिकार बनाइदिन सक्ने।
नौरुपी
नौमुखी
नौंनी रहेछन।
बा आखिर बाबा रहेछन।
बाको कुनै रुप हुन्न,
बाको कुनै एक निश्चित गुण हुन्न,
बा सिर्फ एक अक्षर ‘बा’ हुन्नन।
बा, अर्ति हुन
बा, धर्ती हुन
बा, नुन हुन
बा, गुण हुन।
बा नै संसार हुन,
बा नै अलंकार हुन,
बा नै अंहकार हुन,
बा नै निराकार हुन,
अं, सांच्ची, बा कलाकार पनि हुन।

जुन कला हामीले पनि सिक्नु छ,
यो पापी संसारमा बिक्नु छ।
समाजको अगाडि टिक्नु छ।।
कतै तिम्रो गुणको एक गुण पनि
म मा सरेछ भने
मलाई पनि यो, धर्तीको संगत परेछ भने
म, आफुलाई मानव मानौंला,
म पनि तिम्रो योग्य छोरो हुँ भनौंला।।
कलकत्ता








