
चर्चामा पुस्तक
कैवल्य
शीतल गिरीका कैवल्य बौद्ध दर्शनमा आधारित उपन्यास हो ।यसमा जीवन,चेतना र दर्शन जोडिएको छ ।बुद्धसम्बन्धी चर्या नृत्य,संस्कृति र बुद्ध सम्प्रदायका बारेमा समेत जानकारी दिन सफल कृति हो कैवल्य ।
उपन्यासकारले यसमा तथागत धर्म र नेपालमा पाइने लोककथनहरु पनि प्रशस्तै ल्याएका छन् । यसमा विभिन्न भूगोल र स्थानहरुको परिचय समेत दिने कृतिमा बुद्धसम्बन्धी धेरै विषय उठान गरेका छन् । पौरस्त्य दर्शनमा आधारित ,बौद्ध दर्शनका विषयवस्तुलाई सुन्दर बिम्ब र प्रतीकको प्रयोग गरी पाठकलाई नवीन स्वादको उपन्यास हो ।
कथामा विभिन्न उपकथाहरु मिसाइएको र थुप्रै पात्रहरुले भरिएको बुद्धको दर्शननिकट उपन्यास अत्यन्तै साधनाले तयार गरिएको पठनीय कृति हो ।
कौवल्यलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य रु .६९५। रहेको छ ।
जिरीसिक्रीको सुसेली
जिरी पहाड र त्यसको आसपासका सुस्केरा र सुसेलीहरुको कवितात्मक वर्णन हो जिरीसिक्रीको सुसेली । कवि टेकबहादुर जिरेल आफु जस्ता छन् त्यस्तै सरल,नरम छन् कविताहरु ।आफ्ना कविताका अभिव्यक्ति मार्फत आफ्ना भूमिसँगको भावनात्मक नाता र साइनो जोडेका छन् कविले ।विभिन्न ठाउँलाई बिम्ब बनाएर प्रश्न गर्ने कविसँगको खुवी मज्जैले कविताहरुमा पोखिएको छ । कविले आफ्नो ह्रदयको आवाजलाई कवितामा पस्केका छन् ।
७१ थान विविध शिर्षकका कविताहरुमा समयका आवाजहरु पनि पढ्न सकिन्छ ।कवि जहिल्यै उज्यालोको खोजीमा रहेको भेट्न सकिन्छ ।
अनेकानेक बिम्ब र प्रतिकहरुको संयोजनले कविता सुन्दर बनेका छन् । सरल शब्दशैलीले कवितामा प्राण भरेका छन् ।
जिरीसिक्रीको सुसेलीलाई पर्यटन प्रवद्र्धन मञ्च,नेपालले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.४९९। रहेको छ ।
डोल्पो
विश्वको जीवित सङ्ग्रहालय
विष्णुप्रसाद शर्मा पराजुलीको नियात्रा कृति हो । यसको तेस्रो संस्करण आइसकेको छ । डोल्पोको ज्ञानवद्र्धक हुँदाहुँदै रोचक छ यो कृति । यसले डोल्पालाई मज्जैले चिनाउँछ । त्यहाँ आसपासका हिमाल लगायतका सौन्दर्यले भरिएको प्रकृतिको आस्वादान गराउँछ । शेफोक्सुण्डो तालको सयर गराउँछ । खस जातिको बारेमा थुप्रै जानकारी दिन्छ । यतिमात्र नभएर बौद्ध धर्मका अनुयायीहरुको बारेमा जानकारी पाइन्छ ।
कृति स्थानीय जनजीवनका विभिन्न विषयहरुमा जानकारीमूलक भएर आएको छ । यात्राका सुक्ष्म कुराहरु पनि जानकारी दिने सामाथ्र्य यात्राकारको छ । साहासिक यात्रा छ । सरल र सुवोध्य भाषा छ । पठनीय कृति छ । यो अनुसन्धानकर्ताको निम्तिपनि लाभप्रद छ ।
डोल्पो विश्वको जीवित सङ्ग्रहालयलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४९०। रहेको छ ।








