
कविता
विभरा किराती
पर्खाइ
भुइँकुहिरो ओढेर
तिम्रो घरको मुलढोकाले
तिम्रै बाटो कुरिरहेको छ
पानी झरीले दिने आनन्द
तिम्रै आत्मीय वर्षामास हो
तिम्रै सग्लो जीवन हो
विगत वर्षहरु झैं
तिम्रो घर आँगनमा
यो वर्ष पनि महावर्षाले
तिम्रै यादमा
सायद आकाशबाट आँसु चुहाएर
तिमीलाई नै यताउति
हेरिरहेको छ
तिम्रो घरको
सिकुवाको कुनामा रहेको
भुइँओखल
भोकाएर तिमीलाई
कुरिरहेको छ
तिमीले होइन हिजो
आज भुइँओखलले
भोक सहन गरिरहेको छ
बिहानदेखि साँझसम्म
काममा लादिएर तिम्रो ढाड
दुखेको छैन होला
तर ढुसीको गन्धसँगै
तिमी सुत्ने गरेको
उत्तिसको खटिया
तिम्रो अभावमा मक्किन
लागेको छ
आफ्नो ढाड दुखाईरहेको छ
यो वर्षामासमा
यो बेफुर्सदिलो झरीमा
बार्दलीको मुसीमाथि
झुन्ड्याईको
दाम्लो, हल्लुँडो र मोहलाहरुले
भुइँकुहिरोले
ढाकिएको क्षितिजसम्म
तिम्रै निम्ति
आफ्ना आँखाहरु
ओछ्याइरहेका छन्
तिम्रो घर पछाडिको
दुधिलोको रुखमा रमाउने
एक जोडी निर्दोष हलेसो
झरी पछिको खुला आकाशमा
तिमीलाई नै खोजिरहेका छन्
सुन तिमी गहिरिएर सुन
तिम्रो घरको माथ्लो गरामा बज्ने
मकैको पातको संगीत
हराएको छ
बाँसघारीबाट फुर्र उड्दै
तिम्रो घरको आँगनमा चर्ने
एकजोडा प्रेमिल ढुकुरहरु
वियोगमा छुटेका छन्
घुर्यान बारीको बुढो
नस्पातीको रुख
अनि ढल्कदो उमेरका
आरुबखडाका झ्याङहरु
मुस्कानका रेखाहरु हराएर
झनै बुढो भएका छन्
तिमीलाई नै हो
त्यो खोल्सिको उत्तिस
घारीमा लुकेर
समसाँझै झ्याउँकिरीले
एकोहोरो खोजिरहेको छ
वर्षौ बाँझो रहेको गैरी
खेतका आलीहरुले
तिम्रो पसिनाको अमिलो
स्वाद मागिरहेको छ
यो वर्षे झरीमा
पानी थोपाहरु
आँसु भएर
तिम्रो घरका ओसिएका
हरेक अङ्गहरुले
नजिकबाट तिम्रो स्पर्श चाहिरहेको छ
यस्तो लाग्छ
तिम्रा हरेक वर्षे सपनामा
तिमी आधा निद्रामा
ब्युँझिएका छौ-
घर नजिकको गोठमा
उग्राइरहने
एक हल गोरुले
ब्युँझाएको छ तिमीलाई
पटमेरोको रुखमा
धान चमारको गुँड लाउने
एक जोडी जुरेली चरीले
ब्युँझाएको छतिमीलाई
यस्तो लाग्दैछ
झरी र बादलसँग लुकामारी खैल्दै
मध्यान्हपछि आईपुग्ने
घामसमयमा
घरको छानो माथि चिरबिर
गदै नाँच्ने भंगेराको स्मृतिमा
तिमी ऐंठन परेका छौ
प्रश्न उब्जिरहेछ
यो विदीर्ण घरको पर्खाइको
आँसु कहानी भित्र
तिमीले छोडेको घर रित्तियो
कि तिमी रित्तियौ?








