
कविता
असार !!
कलानिधि दाहाल
असार सार संसार समग्र सृष्टि सारको
अपार जिन्दगी ज्यूँने अपार पारवारको !
जलझुम्का झुमी झुम्झुम् मृत्तिका बनी उर्वर
सारा जीवनको रक्षा गर्ने चाह निरन्तर !!
फुटेका पट्पटी बाँजा खेतबारी गरा हरा
छागा छङ्छङ उर्लेका टल्किदै भीर कन्दरा !
छहराका दुवै छेउ हरिया पिपिरा पर
मृगशावक सौन्दर्य चर्दछन् घाँस मर्मर!!
घना बादल ओढेर वर्षेका जलले जरा
बाँसका फेदमा छम्की बनेका कति उर्वर!
नुही झुकी तिनै टुप्पा कोमली जलकी परी
प्रेमीलेझैँ चुमेका छन् जलमै जल छल्छली!!
डालीबाट चरी हेर्छ चुच्चो चुम्न झरी तल
सुनसान छ सन्नाटा भित्र छन् खेल हल्खल!
यो हो निस्तव्ध स्रष्टाको सृष्टिको दिव्यको घरी
रहस्य सबका खेल फुलेका छन् सुनाखरी!!
यौटा पात यता बन्छ गुरुगम्भीर प्रेमको
स्निग्धसाथ यता बन्छ विश्व ब्रह्माण्ड प्रेमको!
प्रणयी धार छन् चोखा एकार्का घुलका मिल
माया फराक आफैँमा अन्तर्चातुर्य चञ्चल!!
हवाले जलको स्पर्श बनाई प्वाँख शीतल
थोपा यी पातका शीत हल्लदै शीत शीतल!
अगम्य गम्यमा आई गाना गुन्गुगुन्गुन
अन्तरा अन्तरा बन्छन् सङ्गीत गीत गुञ्जन!!
यही सिको झरेको छ असारे खेतका गरा
गराजस्तै भई सम्म मान्छेका मनका कुरा!
निर्विवाद यता खुल्छन् छैनन् भेद कुनै कतै
रोपार गीतमा मस्त लाठे ह्विवा जताततैे!!
घोगा छन् एक गेडामा बाला झुल्छन् अझै कति
समर्पित कला भर्छ विराट् विश्व भए जति !
स्रष्टाको सौम्य आकाश फाँचोमा जल भर्दछ
जहाँ हुन्छ सुखा हेर्दै मृत्तिकामाथि झर्दछ !!
जम्मै प्राण छ आषाढ स्रष्टा जीवनको पल
यही आषाढमा पोखी पार्छ झल्मल झल्मल!
जिन्दगी जिन्दगी हुन्छन् यसै मास कलाभरि
सौन्दर्य सृष्टिका सार मुस्केका छ थलाभरि!!







