
दुई अनुवाद कविता
१. बाँसको जङ्गलको आवाज
डा.ब्योङ चियोल काङ (दक्षिण कोरिया)
जतिसुकै तेज हावा चलोस्
हरियो जङ्गल कहिल्यै नाशिँदैन ।
जब हावा बगिजान्छ
हरियो जङ्गल ठाडो र गर्वका साथ उभिन्छ
प्रेरित गर्दै प्रशंसाको लागि ।
बाँसको जङ्गलको आवाज
रूखहरू बीचबाट प्रतिध्वनित हुन्छ ।
ज्ञान र शान्तिको कानेखुशीहरू
बग्छन् कोमल हावामा ।
सरसराइरहेका पातहरूको सिम्फनी
कोमल शब्दहरूले कठोर हृदयहरूलाई जित्छन् ।
एउटा सद्भावको धुन
बजिरहन्छ बाँसको जङ्गलको कंदरामा ।
त्यसैले जङ्गललाई तिमीसित बोल्न दिनुहोस्
यसको ज्ञानले तिम्रो मार्गदर्शन होस्
बाँसको आवाज सुन्नुहोस्
र पाउनुहोस् हरेक बितिरहेको दिनमा शान्ति ।
२. समुद्री किनारमा रहेका तीखा चट्टानहरू
बलियो कालो चट्टानलाई पनि
पार्न सक्छन् चकनाचूर
लहरहरूको कहिल्यै नथाक्ने शक्तिले ।
म समुद्रका तीखा चट्टानहरू मध्ये एक थिएँ
बलियो र तीखो थिएँ
लड्थेँ लहरहरूको विरुद्धमा ।
अब, म गोलो ढुङ्गामा टुक्रिएको छु
सिकेको छु समयसँगै पाठ ।
कोमलताले बललाई जित्न सक्छ
र हुन्छ कलम तरवार भन्दा शक्तिशाली ।
यो ब्रह्माण्डको सत्य हो
तीखा चट्टानहरू टुक्रामा फेरिन्छन्
र भइजान्छन् तीखा वस्तुहरू गोलो र कोमल ।
किनारमा छालहरूसँग खेलिरहेका ढुङ्गाहरू
अब छालहरूसँग लड्दैनन्
तिनीहरू मिलेर बस्छन् शान्तिपूर्ण छालहरूसँग ।
अनुवादक : कवि चन्द्र गुरुङ





