
कृति : म रुँदिन
विधा : उपन्यास
उपन्यासकार : भगीरथ रावत
हिजो भारतमा रहेका नेपाली मूलका भारतीयहरु अथवा भनुँम नेपालीभाषी भारतीयहरुको हिजोको यथार्थकथालाई यो उपन्यासले उधिनेको छ । तिनका समस्त दैनिकीहरुको फेहरिस्त लाग्छ उपन्यास । नेपाली मूलका भारतीयहरुको पीडा,बाँच्नको लागि तिनले गरेका संघर्षका कथाहरु बडो मिहिन ढंगले उपन्यासमा उल्लेख गरिएको छ । यो यथार्थवादी उपन्यास हो । अनेकौं दमनका किस्साहरु छन् यहाँ । नेपालीमूलका भारतीयहरुको दर्दनाक अबस्थाको फेहरिस्त आएको छ । जीवन जीउन पर्छ हार्नु हुन्न,संघर्ष गर्नुपर्छ भन्ने भावमा उपन्यास उभिएको छ ।
सरल भाषाशैलीले उपन्यास पठनीय भएको छ । छोटो आयतनमा रहेको यो उपन्यास आदर्शृ,संघर्षशील र आशावादी भरियाहरुमा समर्पण गरिएको छ ।
म रुँदिनलाई पहिलो पटक सन् १९८५मा सरिता प्रकाशन,वाराणसीले प्रकाशनमा ल्याएको थियो ।
कृति : आस्था ओढेको मन
विधा : उपन्यास
उपन्यासकार : प्रकाश सापकोटा
एउटा शिक्षित तर सामाजिक रुपमा जिम्मेवार युवा जसले सामाजिक रुपमा विभिन्न जिम्मेवारी र उत्तरदायित्व बहन गरिरहेको हुन्छ उ र एक युवतीको प्रेमकथाको वरिपरि घुम्छ उपन्यास । तर पनि यसमा प्रेमका विविध रुपहरु परेका छन् जस्तै आमाबाबुको प्रेम,युवा युवतीको प्रेम,गाउँ र शहरबीचको प्रेम,प्रकृति र मानवबीचको प्रेम ।
यस उपन्यासमा दुर्गाद्धारा नेपाली महिलाका यावत समस्याहरु चित्रण गरिएको छ । उनीबाट आम नेपाली युवतीहरुका यावत पीडाहरु बाहिर ल्याउन खोजेजस्तो भान पर्छ । उपन्यास प्रेमिल त छँदैछ । तर सकारात्मक सन्देश दिनसक्ने पनि छ ।
सरल भाषाशैलीले उपन्यासमा प्राण भरेको छ । भाग्यमा विश्वास नगर्न सुझाइएको यो उपन्यास शील्पशैलीको हिसावले सुन्दर लाग्छ ।
आस्था ओढेको मनलाई वि.सं.२०५९ सालमा पहिलो पटक निरुता सापकोटाले प्रकाशनमा ल्याएकी हुन् ।
कृति : ज्यागा
विधा : उपन्यास
उपन्यासकार : ध्रुवचन्द्र गौतम,ध्रुव सापकोटा
मानवीय धरातलमा उभिएर लेखिएको संयुक्त उपन्यास हो यो । लेखकहरुले यात्रा गरेर,खोज अनुसन्धान गरेर यथार्थवादी भावमा सृजना गरिएको उपन्यास हो । मानवीय संवेदनालाई विषयवस्तु बनाइएको उपन्यासले भुटानी शरणार्थीहरुको मूल कथा बोेकेको छ । शरणार्थी जीवनका दुखद दैनिकीहरु यहाँ उजागर गरिएको छ ।
उपन्यासको शिर्षकीकरण भुटानमा नेपालीलाई होच्याउन प्रयोग गरिने ज्यागा शब्दबाट रोजिएको छ ।
कृतिमा केही नौलोपन दिने प्रयास छ । भावनात्मक रुपमा पनि मन छुने छ । शरणार्थीहरुका मार्मिक पीडाहरु उपन्यास मार्फत बाहिर्याइएको छ ।
यथार्थवादी उपन्यास कल्पनाशीलता र कलात्मकताको लेपनले सुन्दर बनेको छ । सरल भाषाले उपन्यासमा प्राण थपेको छ । संयुक्त उपन्यास लेखनीमा अत्यन्तै कम मध्येको यो कृति पनि हो ।
देशान्तर प्रकाशनले पहिलो पटक २०५३ मा ज्यागालाई प्रकाशनमा ल्याएको हो ।








