
सुगन्धपुरका कथाहरू : सामाजिक यथार्थ र मनोविश्लेषणको सुगन्ध
विष्णु थापा विछोड
संग्रहमा जम्मा १९ वटा कथा समावेश छन्, जसमा विविध शिर्षकअन्तर्गत लेखिएका यथार्थवादी, सामाजिक परिवेश, यौन-मनोबैज्ञानिक, मनोवैज्ञानिक तथा प्रयोगात्मक धाराका कथाहरू रहेका छन्।
कथाकारले आफूले देखेका, भोगेका, र टेक्न पुगेका स्थानका भौगोलिक अवस्थादेखि त्यहाँका भाषाशैली, संस्कार र चेतनालाई कुशल ढंगले कथामा समेट्नुभएको छ। कथाहरूमा बोलीचालीको स्वाभाविकता र स्थानीयपन पाठकले प्रत्यक्ष महसुस गर्न सक्छन्।
सरकारी सेवामा कार्यरत रहँदाको अनुभवले लेखकलाई नेपालका विविध भूगोलहरू नजिकबाट बुझ्ने अवसर दिएको छ। काँठको थलीमा जन्मी हुर्किएका कुइकेल प्रचारप्रसारमा नरुचाउने भए पनि आफ्ना कृतिहरूबाट पाठकमाझ परिचित छन्। जातीय विभेद, छुवाछूत र विक्रम संवत् २००० अगाडीको काठमाडौ र समाजमा आधारित उनको उपन्यास ‘गोपिचा’ पनि प्रकाशनमा आइसकेको छ।
यस सुगन्धपुर कथा सङ्ग्रह भित्रको कथाहरूको भाव संगत अध्ययनपछि थाहा हुन्छ –
‘थाहा’ कथामा ‘बुबा’ भनेर विश्वास गर्दै आएको पात्र वास्तवमा बुबा नभई काका भएको यथार्थपछि पात्रले भोगेको मानसिक आघात, आक्रोश र अन्ततः बुझाइको यात्रा मर्मस्पर्शी ढंगले चित्रित गरिएको छ।
‘काकाको रेडियो’ कथाले २० वर्षको अन्तरालमा काठमाडौं उपत्यकाको काँठ क्षेत्रको सामाजिक र आर्थिक रूपान्तरणलाई समेटेको छ। पहिले धनी ठानिएका काकाको परिवार पछाडि पर्नु र पहिले निमुखा मानिएका मानिसको आर्थिक उन्नति कथामा जीवन्त रूपले देखिन्छ।
‘थोपा’ कथामा युवा मनको जोश, भ्रान्ति, यौन-कुण्ठा, आत्मसम्मानको चोट, र वैवाहिक सम्बन्धभित्रको प्रतिस्पर्धाले ल्याउने तनाव र विघटनलाई प्रभावशाली रूपमा उतारिएको छ।
‘भुलिएकी दिदी’ मार्मिक छ — अन्धविश्वासका कारण एक अवोध बालिका कसरी टाढाको भूगोलसम्म पुग्न विवश हुन्छे भन्ने यसमा देखिन्छ।
‘पाटन चुल्हो’ मा नारीको आँट र संघर्ष छ भने ‘दोधार’, ‘डि कलिङ’, ‘तिर्खा’, र ‘नाता’ कथाहरू यौन-कुण्ठा, विछोड, समाजको दृष्टिकोण र पारिवारिक सम्बन्धका द्वन्द्व समेटेर गहिरो मनोवैज्ञानिक तहसम्म पुग्छन्।
‘सेतो घोडा’ कथामा घोडावतनुवा जमन पात्रमार्फत महाकाली नदी आसपासका गाउँलेको गरिबी, दैनिकी, र पशुप्रति आत्मीय सम्बन्ध चित्रित गरिएको छ।
‘अनि पर्दा खस्यो’ भन्ने कथामा रंगमञ्चमा अभिनयकै क्रममा पात्र उत्तमको वास्तविक मृत्युले ‘नाटक’ र ‘यथार्थ’ बीचको भेद झल्काएको छ।
‘नाता’ कथाले अविश्वास, उपेक्षा र विघटनले परिवार कसरी बिखण्डनतर्फ जान्छ भन्ने देखाउँदै आधुनिक समाजको एक तीतो यथार्थ प्रस्तुत गर्छ।
‘सुगन्धपुर’ शीर्षक कथा आफ्नै ठाउँ-थलीको झल्को दिन्छ। अतीत र वर्तमानको तुलना गर्दै कथाहरूले समाजको रूपान्तरण, सोचको द्वन्द्व, र दिनचर्याको परिवर्तनलाई उजागर गर्छन्।
कथाहरूमा फ्रायडवादी सिद्धान्त, पात्रहरूको आत्मसंवाद , मनोवाद र मनोविश्लेषण झल्किने ढंगले प्रयोग भएको छ, जसले विश्व कुइकेललाई अन्य कथाकारहरूभन्दा पृथक बनाउँछ।
पाठकलाई सोचाइ र बुझाईको गहिराइमा लैजाने भाषाशैली, पात्रको मनस्थिति र सामाजिक सन्दर्भको कलात्मक संयोजनले ‘सुगन्धपुर’ कथासंग्रह नेपाली कथा साहित्यमा एउटा सशक्त योगदानको रूपमा विश्लेषण गर्न सकिन्छ। पात्रको एकालाप मनोवाद प्रवृतिका कारण अन्य लेखकहरूको भन्दा विश्व कुइकेलका कथाहरू पाठकलाई पृथक र नौलो लाग्न सक्छन् ।
फिनिक्स बुक्सले २०७८ साल असोजमा कथाकार विश्व कुइकेलको कथा सङ्ग्रह ‘सुगन्धपुर’ पहिलो संस्करणका रूपमा प्रकाशित गरेको हो। २२६ पृष्ठको यस पुस्तकको मूल्य ३५० रूपैयाँ छ।









