
कृति : नरेन्द्रबहादुर श्रेष्ठ
विधा : आलेख
प्रधान सम्पादक : प्रमोद प्रधान
विकास र सम्वृद्धिको लागि जहिल्यै सोचमग्न नरेन्द्रबहादुर श्रेष्ठ जरामा जहिल्यै कला देख्छन् । सिर्जनामा लाग्छन् । अचम्म र उदेकलाग्दा क्षमताहरु त्यहाँ देखाउँछन् । देशमा कला,साहित्यको माध्यमबाट योगदान दिने यस्ता सर्जकको व्यक्तित्वको बारेमा १९ जना स्रष्टाहरुको आलेख यसमा समावेश छ । यसैगरी यस कृतिभित्र नरेन्द्रबहादुरद्धारा लिखित विभिन्न कृतिहरुको झण्डै एक दर्जन समालोचकहरुबाट गरिएका समालोचना राखिएका छन् ।
कृतिमा श्रेष्ठको जरा कलाबारे विभिन्न व्यक्तित्वहरुका १४ वटा लेखहरु समावेश भएका छन् । चौथो खण्डमा नरेन्द्रसँग सम्बन्धित १८ जना स्रष्टाहरुका संस्मरण परेका छन् । यसैगरी श्रेष्ठको बारेमा उनका परिवारका सदस्यहरुका विचार,लेख पनि आधा दर्जन समावेश गरिएका छन् । यस कृतिभित्र नरेन्द्रको कलाकारिता र व्यक्तित्वसँग सम्बन्धित ५ कविका कविता पनि परेका छन् । विभिन्न समयमा श्रेष्ठसँग गरिएका अन्तवार्ताहरु पनि यसभित्र पढ्न पाइन्छ ।
नरेन्द्रको बारेमा सम्पूर्ण जानकारी यस कृतिले दिनसक्छ । उनलाई बुझ्न चाहाने,चासो राख्ने सबैको निम्ति यो कृति लाभप्रद छ । किनकी यसकृतिले नरेन्द्रको व्यक्तिवृतलाई समेटेको छ ।
नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेखलाई साहित्यिक पत्रकार संघले प्रकाशनमा ल्याएको हो ।
कृति : बृदत् कवितासङ्ग्रह
विधा : कविता संकलन
सम्पादक : बासुदेव कोइराला
विश्वभरका नेपाली कविताको पहिचान गरी विश्वभरीका प्रतिनिधिमूलक कवि र तिनका नेपाली कविताहरुलाई यसमा समावेश गर्ने प्रयास भएको पाइन्छ । यसमा संग्रहित कविताहरुमा समाजको यथार्थपक्षलाई उजागर गरिएको छ । कविताहरु बर्गियदृष्ट्रिकोण,प्रकृतिप्रेम,राष्ट्रियता,प्रणयप्रेम,आध्यात्म,गरिबी,नेपाली संस्कार र संस्कृति,कल्पनाशीलता,ग्रामिण परिवेशका दुखहरु,राजनीतिक भ्रष्टिकरण लगायतका विषयहरु कविताका विषय बनेका छन् ।
विकृति र विसंगतिले थिलथिलो पारेको देशको दुराबस्थाको चर्चा गरिएका कविता छन् । समाजको वेथिति विरुद्ध बोलिएका कविता छन् । युवाहरु विदेसिएको यथार्थलाई चिन्ता गरि स्वदेशमै केहि गर्ने अवस्था सिर्जना गर्ने माग गरिएका कविता छन् । यसैले भन्न सकिन्छ विषयगत विविधतायुक्त कविताहरु यसमा छन
। ७६ जना कविहरुका ४ ४ थान पद्य कविताहरु यसमा समावेश गरिएको छ । यसैगरी गद्य कविता खण्डमा ६८ जना कविका ४ ४ थान कविताहरु राखिएको छ । सबै कविहरुको संक्षिप्त परिचय समेत यसमा समावेश गरिएको छ ।
बृहत् कवितासङ्ग्रहलाई मातृभाषा संरक्षण समूह,अमेरिकाले प्रकाशनमा ल्याएको हो ।









