
विजयको उत्सव
ज्ञानेन्द्र विवश
प्रहार पनि यस्तो कि हार होइन जितजस्तो
गमलामा पनि फूल होइन काँडा मुस्काएजस्तो
पानी नपिएरै पनि प्यासी आत्मा तृप्त भएजस्तो
हिँडेको पाइला रोकिएर प्रकृतिमा रमाएजस्तो
जीवनका भित्ताहरूमा चोटका कैयन् दागहरू अंकित छन् । ती दागहरू हिजो पाएको चोटका अवशेष मात्र होइनन्, बरु तिनैको जगमा आज म उभिएको छु, सशक्त र दृढ भएर । जीवनले दिएका प्रहारहरूले मलाई पराजयको अँध्यारोमा धकेल्न खोजे पनि, ती प्रहारहरू नै मेरो विजयका भरपर्दा आधार बने ।
यात्रामा घामले पोलिएका कठिन उकालाहरू सम्झन्छु, जहाँ पहिलो चोटि जीवनसँग दोहोरी खेलेको थिएँ । उकालो काट्न नसक्दा छाती फुलेर आउँथ्यो, पाइला डगमगाउँथे, तर पर टल्किरहेकै हुन्थ्यो– त्यो परको डाँडामाथि पुग्दा देखिने अपूर्व दृश्य । घामले पोल्यो भनेर उकालो छोड्ने हो भने, त्यो दृश्यको सौन्दर्य कहिल्यै हेर्न पाइने थिएन ।
म एक पाइला पछाडि हट्न खोज्थेँ, तर उकालोले मलाई अघि बढ्न उक्साउँथ्यो । त्यस दिन मैले बुझें– जिन्दगीले प्रहार गरिरहन्छ, तर यदि मैले त्यो प्रहारलाई जितमा बदल्न जानेँ भने म कहिल्यै पराजित हुने छैन । हारपछि जितको खुसियालीले उत्सव मनाउने वातावरण स्वतः निर्माण गरिदिनेरहेछ ।
जीवनका हर मोडमा यही भोगें । कहिलेकाहीँ शब्दहरू आफैँसँग विद्रोह गर्थे । लेख्न खोजेका विचारहरू पानाभरि पोखिन खोज्दा पनि मनको गहिराइमा कतै अड्किदिन्थे । एकपछि अर्को अस्वीकारहरू, असफलताहरू, अनि आत्मसन्देहहरू कतै कुनाबाट, कुनै अदृश्य ठाउँबाट नदेखिने हावा जस्तै वेग मारेर आउँथ्यो ।
यद्यपि जब मैले ती अस्वीकारलाई अन्तिम निर्णय ठानेर कलमलाई थन्क्याउने सोचें, त्यही बेला कलमले मलाई उल्टै सोध्यो– ‘के हार यति सस्तो हुन्छ ? तँ कलमजीवि बन्ने अठोट गर । यसरी हार स्वीकार गरेर चुपचाप बस्नु भनेको आफैँलाई झन् भयङ्कर अन्धकारतिर धकेल्नु हो ।’
मेरो मनभित्रबाट मेरै मनले यसरी मलाई उत्साह प्रदान गरिदियो कि म हठात् कलम समातेर अक्षरहरूमा अवतरित हुन थालें ।
मैले फेरि लेखें, फेरि प्रयास गरें । आलोचनाहरूको प्रहारहरूलाई आत्मसात् गरें, तिनैलाई सुधारका अवसर बनाएँ । म भत्किएँ, तर हरेक चोटि अझ बलियो भएर उठें । त्यसैले त आज म भन्छु– ती प्रहारहरू हार थिएनन्, मेरा लागि जितकै सोपान थिए । मलाई अँध्यारो कुनाबाट उज्यालो विशाल संसारमा डो¥याउने माध्यम थिए ।
बाँसको बोटलाई हेरौं । अन्य बिरुवाहरू छिट्टै उम्रिएर हरियाली ओढ्छन्, तर बाँसको बोट माटोभित्रै वर्षौँसम्म मौन रहन्छ । मानौँ, उसले भित्रैभित्रै आफूलाई तयार गर्दैछ, आफ्नै गहिराइलाई मजबुत पार्दैछ । जब समय आउँछ, ऊ एकैचोटि फड्को मारी आकाश छुन्छ । हाम्रो जीवन पनि यस्तै हो । कहिलेकाहीँ हामीले भोग्ने कठिनाइहरू, सहनुपर्ने चोटहरू, सहनशीलताका परीक्षा– यी सबैले हामीलाई अझ दरिलो बनाइरहेका हुन्छन् ।
जीवनले मलाई दिएको प्रत्येक प्रहारको म ऋणी छु । किनकि ती प्रहारहरूले नै मलाई आफूलाई चिन्ने मौका दिए, मेरो सहनशीलताको सीमा परीक्षण गरे, अनि मैले खुट्टा टेक्ने धरातल बलियो बनाएँ ।
आज फर्केर हेर्दा लाग्छ, ती सबै चोटहरू थिएनन्, ती त सिँढीहरू थिए– जसले मलाई माथि उठायो । त्यसैले, जीवनले जति प्रहार गरे पनि, म मुस्कुराउँछु । किनकि ती प्रहारहरू हार होइनन्, जित जस्तै लाग्छन् ।
जीवनका सिँढीहरू सजिला मात्रै हुँदैनन् । हिँडाइले अपठ्यारा सिँढीलाई पनि सहजै पार गर्नुपर्छ । कहिलेकाहीँ सजिला सिँढीहरू पनि निकै कठिनका भइदिन्छन् । धैर्य गर्न सक्नुपर्ने रहेछ । आँट सँगाल्नुपर्ने रहेछ । किनभने हरेक हारपछि विजयको उत्सव मनाउने अवसर उपस्थित हुनसक्छ ।
बाल्यकालमा कहिलेकाहीँ खुड्किला चढ्दा लडिन्थ्यो । खुट्टा चिप्लेर लड्यो भने घुँडा चिरिन्थ्यो, कुहिनामा कोतरिन्थ्यो, कतिपटक त आङैभरि धुलो लाग्थ्यो । त्यो बेला लाग्थ्यो– खुड्किलाहरू कठोर छन्, निर्दयी हुन्छन्, किन बनाइएका होलान् यी ?
परन्तु समयले जति हात समाउँदै अगाडि बढायो, त्यति नै स्पष्ट हुँदै गयो– खुड्किलाहरूले त उचाइ दिन्छन्, अघि बढ्न सिकाउँछन् ।
जीवन पनि यस्तै रह्यो । सुरुका दिनहरू सपनाहरूले रंगिएका थिए– संसारलाई जित्ने, आकाश छोइहाल्ने उत्साह थियो । तर, जब पहिलो असफलताको चोट लाग्यो, मन खिन्न भयो । कुनै प्रियजनको विश्वासघातले आत्मालाई बिझायो । संघर्षका छालहरूले मन विथोल्याइदियो । ती चोटहरू सहँदै अगाडि बढ्दा प्रश्न उठ्थ्यो– के जीवन भनेकै निरन्तर पीडा हो ?
तथापि समयले उत्तर दियो– ती चोटहरू चोट मात्र थिएनन् । ती त सिँढीहरू थिए । प्रत्येक असफलताले सिकायो । हरेक बिछोडले अझ बलियो बनायो । हरेक प्रहारले साहस थप्यो । आत्मासँग संवाद गर्न थालें– जीवनले जति गाह्रो परीक्षा लिए पनि, ती मेरा हार थिएनन्; बरु, जिततर्फका खुड्किला थिए ।
बिस्तारै बुझेँ, मुस्कान भनेको केवल खुसीका दिनहरूमा प्रकट हुने उपहार मात्र होइन । मुस्कान त त्यो निखारिएको प्रकाश हो, जो आँधीपछि उदाउँछ । मुस्कान त्यो कवच हो, जसले जीवनका हरेक चोटलाई सुन्दर पाठ बनाउँछ ।
आज फर्केर हेर्दा लाग्छ– ती असफलताहरू, ती चोटहरू, ती बिछोडहरू– ती सबैले मलाई माथि उठाए । जति चोट प¥यो, उति नै माथि उक्लिंदै गएँ । जीवनले जहाँ–जहाँ प्रहार ग¥यो, त्यही–त्यही ठाउँबाट नयाँ बाटो खोल्दै हिंडेँ ।
त्यसैले, आज पनि जब समयले फेरि कुनै परीक्षा लिन्छ, जब जीवनले झन् ठूलो चोट दिन खोज्छ, म मुस्कुराउँछु । किनभने म जान्दछु– त्यो चोट होइन, त्यो सिँढी हो ! सफलताको शिखर चुम्ने आधार हो । विजयको उत्सव मनाउने अवसर हो ।








