
बिहानको क्षितिज र सुन्दर परिदृश्य
शर्मिला कार्की ‘सरू’
व्रह्ममुहूर्तको समापनसँगै
सूर्यको आगमनलाई स्वागतार्थ
जब क्षितिजले सूर्यको बाटोमा
रातो गलैंचा ओछ्याइदिन्छ
मलाई लाग्छ
म पनि त्यतैतिर
एउटा मनमोहक क्षितिजजस्तै
आनन्दमय समयको
परिकल्पनामा हराएकी हुन्छु ।
यता मेरा अन्नपूर्ण र माछापुच्छ्रेहरू
आफ्नो उज्यालो शिर उघारेर
सूर्यकिरणको रातो पछ्यौरी
ओढ्न तयार छन्
मेरै छिमेकको धौलागिरी
उस्तै रङ्गको बर्कीमा
लुट्पुटिन तयार छ
चराचुरुङ्गीहरू
यो अनुपम समयलाई स्वागत गर्दै
मधुर स्वस्तिवाचनमा लागिसके
एकैछिनमा यिनीहरू
फोक्सोभरि प्राणवायु भर्दै
प्रातस्भ्रमणमा निस्कनेछन्
हरियो तन्ना ओछ्याएर
वरिपरिका पहाडहरू
यसै समयको स्वागत गर्दैछन्
म किन नरमाऊँ यो मोहक परिवेशमा रु
त्यसैले म यो क्षणको
भरपूर उपयोग गर्ने अठोटमा छु ।
क्षितिजको वरिपरि र अलिक माथि
हिमालहरूको शिरको छेउछाउमा
र
कञ्चन नीलो आकाशको मध्यमासमेत
जताततै
कुनै लाम्चो आकारका
कुनै छरपस्टिएका
कुनै गोलाकार
बादलका थेग्लाहरू
यो सुन्दर परिदृश्यलाई छेल्न
तम्तयार भएर बसेका छन्
मेरो सुन्दर गृहस्थीलाई
घरिघरि अभावको राक्षसले सताएजस्तै ।
यसपछिको कुनै पनि क्षणमा
यो सुन्दर क्षण
घ्याप्पै छोपिन सक्छ
छोराको स्कूलले पठाएको
पुस्तकको बिलले
मेरो घाँटी किक्लिक पारेर
अँठ्याएजस्तै
यो क्षितिज
यी हिमालय र पहाडहरू
चरीका स्वतन्त्र प्रातकालिक उडानहरू
निष्ठुर बादलले कब्जामा पारेर
अँठ्याउन सक्छ
त्यसैले
यो मनोहर समयलाई
मनको चित्रपटमा उतारेर
म पनि भरपूर उपयोग
गरिरहेकी छु ।
पैंयुँ -२ पर्वत,हाल पोखरा
