
चर्चामा पुस्तक
खोसिएको बाल्यकाल
विनोद न्यौपानेको बाल उपन्यास बाल पात्रको चरित्र चित्रणमा आधारित छ । द्धन्द्धको समयमा नेपाली ग्रामिण परिवेशको झल्को,त्यसबेलाका अमानवीय घट्नाहरुका कारण बालकहरुले बेहोर्नुपरेका पीडा र असरहरुको बारेमा उपन्यासले बोलेको छ । परिवारको तहसनहस देखेको,भोगेको उपन्यासको एक पात्रको दुखद र त्रासदपूर्ण बाल्यकाल मात्र नभएर विभिन्न चुनौतीसँग संघर्ष गरेर उच्च शिक्षा अध्ययन गरी राष्ट्रसंघको उच्च तहको कर्मचारी बन्न सफल बालकको कथा पनि छ यहाँ ।
सरल भाषाशैली,ग्रामिण परिवेशको सुन्दर चित्रण,कलात्मक भावमा उधिनिएको छ ।
खोसिएको बाल्यकाललाई समकालीन साहित्य प्रतिष्ठान,बेलायतले प्रकाशनमा ल्याएको हो ।
त्रिकुटी
लघुकथाकार विश्वराज अधिकारी,डा.कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलको संयुक्त लघुकथासङ्ग्र भित्र जम्मा ७५ लघुकथाहरु समावेश गरिएका छन् ।जस अनुसार प्रत्येक लघुकथाकारका २५ २५ थान लघुकथा कृतिमा परेका छन् । अधिकारीले युद्धलाई कथाको आधारस्तम्भ बनाएका छन् । जीवनका समग्र यथार्थता डा.गौतमका लघुकथाका विषयवस्तु बनेका छन् । यसैगरी पोखरेलका लघुकथाहरु फरक फरक आवृतिमा आएका छन् ।
एउटै कृतिभित्र प्रवृत्तिगत भिन्नताले कथाको स्वरुप ,विषयवस्तु फरक परक जनिएका छन् । तथापि हामी र हाम्रो समाजको धरातललाई कथाहरुले राम्रैगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पक्डेका छन् । विधागत सौन्दर्यमा पर्गेलेर आएका यी लघुकथाहरु स्तरीय लाग्छन् ।
कथाहरुमा प्रयुक्त भाषा सरल,सुबोध्य,माझिएको छ ।प्रायः कथाहरु सम्बादात्मक शैलीमा लेखिएका छन् ।
त्रिकुटीलाई शब्दार्थ प्रकाशनले प्रकाशित गरेको हो ।
शान्तविजय
प्रार्थना खनालको लघुकथासङ्ग्रहभित्र विषयगत विविधाका ५१ थान कथाहरु समावेश भएका छन् । हाम्रो समाज र यसका परिवेशहरुलाई विषयबस्तुको रुपमा लिइएर कथाहरु कुँदिएका छन् । यसले देश,परदेश दुबै समेटेको छ । मानिसका वर्तमान समयमा बढेका महत्वाकाँक्षाको कारण परेका असरहरु, घरपरिवार भित्रका समस्याहरु,कर्तव्यवोध,खस्कँदा परम्परागत मूल्य र मान्यता जस्ता विषयले लघुकथाहरुमा स्थान जमाएका छन् ।
सरल भाषा,आञ्चलिकताको मिश्रण,स्थानीय भाषाको अर्थ समेत समावेश गरिएको लघुकथा कृति हो ।
शान्तविजयलाई नन्दकृष्ण जोशीले प्रकाशनमा ल्याएका हुन् ।

