
काठमाडौं साउन ९ गते । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षालाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ ।
परिवारको उपस्थितिमा एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले चक्रपथस्थित एक्सटेपको सोरुममा उनीहरुलाई प्रशंसा पत्र र गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरे । सोही अवसरमा करातेको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक दिलाएका राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
जुलाइ १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगितामा दियाले क्याडेट महिला ६१ केजीमुनि तथा दीक्षाले चिल्डे«न ३५ केजीमुनि स्वर्ण जितेका थिए । दियाले श्रीलंकामा भएको उक्त प्रतियोगिताको नवौं संस्करणमा रजत जितेकी थिइन् ।
त्यस्तै थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा दियाले १ कांस्य तथा दीक्षाले २ कांस्य जितेका थिए । जापानमा भएको अन्तर्राष्ट्रिय करातेमा पनि प्रतिस्पर्धा गरेकी दियाले कांस्य जितेकी थिइन् ।
प्रबन्ध निर्देशक श्रेष्ठले पदक विजेतालाई एक्सटेपको तर्फबाट सम्मान गर्न पाउनु गर्वको विषय भएको बताउदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए ।
प्रशिक्षक श्रेष्ठले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै एक्सेटपले खेलकुदसंगको सम्बन्धलाई अझ फराकिलो बनाउन आग्रह गरे ।
दियाले बुवा दावाकै सक्रियाताका कारण सानै उमेरदेखि करातेमा लागेको र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउदै पदक जित्न सफल भएको बताइन् । कराते पृष्ठभूमिका दियाका बुवा दावा हाल अल्ट्रा÷ट्रेल रनर हुन् ।







