
काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६ औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामना सहित बिदाइ गरेका छन् ।
उज्बेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुवै राष्ट्रिय टोलीलाई मुख्यमन्त्रीले खेल पोसाक लगायत सामग्री समेत हस्तान्तरण गरेका छन् ।
कजाकिस्तानका अर्न्तराष्ट्रिय मास्टर किरिल कुदेरिनोभलको प्रशिक्षणमा तथा क्याप्टेन रहेको नेपाली पुरुष टोलीमा एफएम रूपेश जयसवाल, सिएम सुश्रुत दाहाल तथा पुरुषोत्तम सिलवाल, आशिष फुयाँल र राजन सुवेदीको सहभागिता रहेको छ ।
यस्तै, एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा एवं क्याप्टेन रहेको महिला टोलीमा कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीको सहभागिता रहेको छ ।
नेपाल बुद्धिचाल महासंघका कार्यवाहक कोषाध्यक्ष आईए निरञ्जन प्रजापति निर्णायक, प्रवक्ता राजु ताम्राकार तथा सल्लाहकार रघुनाथ महर्जन पनि टोलीसँगै प्रस्थान गर्ने छन् ।
फिडेको विशेष निमन्त्रणामा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामा बिहीबार फरक क्षमताको ओलम्पियाड उद्घाटन समारोहमा सहभागी हुन उज्बेकिस्तान पुगिसकेका छन् ।
मुख्यमन्त्री थापामगरले नेपाली टोलीले ओलम्पियाडमा पदक प्राप्त गरेको खण्डमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्ने बताए । खुला तर्फ २0८ राष्ट्र तथा महिलातर्फ १९१ राष्ट्र सहभागी रहने ओलम्पियाडमा नेपाल समूह डी मा प्रतिस्पर्धा गर्ने छन्।
नेपाल बुद्धिचाल महासंघले गत ४५ दिन देखी नेपालका दुवै टोलीलाई विशेष बन्द प्रशिक्षण दिँदै उच्च मनोबलका साथ तयारी सम्पन्न गरेका छन् ।


