
बासु गौतम
बिडम्बना
नजान्नेले त केहि गरेन
तर जान्नेले पनि त केहि गरेन
नजान्दा खेरी त काम बन्दैन नै
तर जानेर पनि त काम बनेन
कस्तो विडम्बना!
नजान्नेले गर्छ भन्छ जान्दै जान्दैन
जान्नेले गर्छु भन्छ तर गर्दै गर्दैन
नजान्नेले पनि अर्कालाई दोष दिन्छ
जान्नेले पनि अर्कालाई दोष दिन्छ
कस्तो दुर्भाग्य!
जान्ने र नजान्ने कै हालिमुहाली
जताततै सुनिन्छ आस गरौँ यसपाली
समय उस्तै गरी बितिरहेछ
तर पनि काम केहि बन्दैन नै
अब त बानी परिसक्यो
काम नबन्दा नि कुनै
दु:ख छैन कुनै शोक छैन
गुनगुनाएको सुनिन्छ
यस्तै रहेछ यहाँको चलन
यो समय नै दोषि हो कि?
यो समय नै श्रापित छ कि?
जान्नेले गर्छ भन्छ कुरा मात्र गर्छ
नजान्नेले त जानेर कुरा पनि गर्दैन
जान्नेले अर्को जान्नेलाई
र म गर्छु भन्नेलाई चिन्दै चिन्दैन
नजान्नेले त जाने पछि
के चिनोस् र के गरोस्
खोक्रो स्वनामधन्य
तैपनि दूरदृष्टिको राग अलाप्छ
कस्तो निरिहता !
यस्तै यस्तै समयको रूमलोमा
भन्न मन लाग्छ सती श्रापको निष्कर्षमा
पुग्नु बाहेक केहि नै छैन कि?
विडम्बना हो या अकर्मण्यता
हामी बाँचेको समय नै श्रापित
पो छ कि ?
त्यसैले सधैँ सधैँ बिहान
जान्नेको इसारामा गरिबी र अशिक्षाको
एउटा सूर्य उदाउँछ
सधैँ सधैँ साँझमा
नजान्नेको इसारामा विकासको
अर्को सूर्य अस्ताउछ।
महालक्ष्मी ०९ ,ललितपुर







