
निबन्ध
पर्खाइको सौन्दर्य
ज्ञानेन्द्र विवश
जीवन एउटा लामो प्रतीक्षा हो । यो प्रतीक्षा कहिले गन्तव्यको हुन्छ । कहिले प्रेमको, कहिले सफलता र कहिले आत्मबोधको हुन्छ । हरेक कुराको प्राप्तिमा समय लाग्छ । बीऊ माटोमा उम्रन, फुल्न, फल लाग्न । अनि रुख बन्न पनि समय लाग्छ । समयकै धैर्यले एक बेवारिसेÞ ढुंगा पनि कहिलेकाहीँ मूर्तिमा परिणत हुन्छ । त्यो मूर्ति अन्ततः भगवानको रूपमा प्रतिष्ठित हुन्छ ।
कसैले नदी किनारमा कुनै अज्ञात ढुंगा देख्दा त्यसलाई सामान्य पत्थर ठान्छ । त्यो ढुंगाले आफूलाई वर्षौंदेखि नदीको चोट खाइरहेको हुन्छ । कहिले भेलले, अन्य ढुंगाहरूको ठक्करले ठोक्किँदै, चोइटिँदै, चिल्लिँदै एक रूपबाट अनेकौं रूपहरूमा यौटा ढुंगा रूपान्तरित भइसकेको हुन्छ ।
यसरी घामले तताइरहेको छ उसलाई । पानीले चिस्याइरहेको छ उसलाई । तथापि ऊ अविचलित छ । चुपचाप मौन छ । तर समयसँगै ऊ आफैंमा परिष्कृत हुँदै जान्छ । कहिले मानिसको खुट्टाले कुल्चिन्छ, कहिले खोलाको भेलले बगाउँछ । तर ऊ प्रतीक्षारत छ । आफ्नो भाग्यको परिसरमा । पर्खाइको सौन्दर्यमा सजिन ।
एकदिन, कुनै मूर्तिकारको आँखा पर्छ उसमाथि । मूर्तिकार ढुंगालाई नजिकबाट नियाल्छ, स्पर्श गर्छ, अनि खोतल्छ, खन्छ । तीव्र छिनो–हथौडाले ढुंगाको रूप बिगार्छ । तर मूर्तिकारलाई थाहा छ, बिग्रनु नै नयाँ सौन्दर्यको सुरुवात हो । नव जीवनको अवतरण र उदय हो ।
सामान्य ढुंगाको भाग्य चम्किन थाल्छ । बिस्तारै त्यो अमूल्य बन्न जान्छ ।
चोट सहँदै, धैर्यको यात्रामा ढुंगा मूर्तिमा रूपान्तरित हुन्छ । जब मूर्ति मन्दिरमा स्थापित हुन्छ, मानिसहरू हात जोडेर ढोग्न थाल्छन् । पूजा–प्रार्थना गर्न लाग्छन् । त्यतिबेला ढुंगा भगवान बनेको हुन्छ ।
यो ढुंगाको कथा हाम्रो जीवनसँग ठ्याक्कै मेल खान्छ । हाम्रा जीवनका कठिनाइहरू, संघर्षहरू, चोटहरू । यी सबै मूर्तिकारका प्रहारजस्तै हुन् । यी बिना हामी गढिन्नौं, परिष्कृत हुँदैनौं । आज हामी जुन अवस्थामा छौं, सायद भविष्यमा त्यो अवस्थाको सार्थकता बुझ्ने छौं ।
कुनै प्रेमी आफ्नो प्रेमिकाको प्रतीक्षा गर्छ, कुनै विद्यार्थी सफलताको, कुनै कलाकार आफ्नो सिर्जनात्मक उचाइको । प्रतीक्षा भनेको निष्क्रिय बसाइ मात्र होइन, यो परिष्करणको प्रक्रिया हो । हामीलाई लाग्न सक्छ कि ढुंगा स्थिर छ । तर उसले निरन्तर आफ्नै अस्तित्वलाई आत्मसात गरिरहेको हुन्छ । जब समय आउँछ, तब उसले आफ्नो असली पहिचान पाउँछ ।
जीवनमा केही कुराहरू छिटो पाउन सकिन्न । गहिराइ, परिपक्वपन, धैर्य र अनुभूति आवश्यक हुन्छ । यी सबै चीजहरू समयसँगै आउँछन् । त्यसैले हाम्रो आफ्नै ढुंगाहरूलाई भगवान बन्न समय दिनुपर्छ । हाम्रो संघर्ष, हाम्रो चोटहरू । यिनै हामीलाई परिष्कृत गर्ने मूर्तिकार हुन् ।
जीवन एउटा अजंगको प्रस्तरशिला हो, जसलाई समय र संघर्षका छिनाहरूले कुँद्दै जान्छन् । हामी यो यात्रा सुरु गर्दा केवल एउटा अपरिष्कृत ढुङ्गा हौं, जसमा कुनै स्पष्ट रूप र सौन्दर्य हुँदैन । तर चोटहरू संसारले दिएका घाउहरू, असफलताले कोरिएका डोबहरू, बिछोडका आँशुहरू ! यी सबै नै त हुन्, जो हामीलाई धिपधिपाउँदो आगोमा तताउँदै, निखार्दै जान्छन् ।
संघर्ष विना पूर्णता असम्भव छ । कसैलाई सफलताको चुचुरो सहजै मिल्दैन । कसैको बाटो कहिल्यै फूलमय हुँदैन । उकालो चढ्नुपर्छ । गहिराइमा डुब्नुपर्छ । आफ्नै अभावहरूलाई नजिकबाट नियाल्नुपर्छ । बाँच्ने क्रममा हामी हरेक दिन कुनै न कुनै रूपमा घाइते हुनुपर्छ ।
हामी कहिल्यै पनि आनन्द जीवन बाँचिरहेका हुँदैनौं । केही अभावले तड्पिरहेका हुन्छौं । केही खोजले भौतारिरहेका हुन्छौं । कहिले प्रियजनका शब्दले । कहिले समाजका उपेक्षाले । कहिले आफ्नै कमजोरीको बोधले घाइते भइरहेका हुन्छौं ।
तथापि यिनै बोधमय चोटहरूले हामीलाई एक नयाँ अनुहार दिन्छन् । ती मूर्तिकारका हत्केलाहरू हुन्, जसले हाम्रो असल रूप उजागर गर्छन् ।
धेरैले दुखलाई अविशाप सम्झन्छन् । संघर्षलाई श्राप मान्छन् । तर जो समयको प्रतीक्षा गर्न सक्छ, जो चोटहरूलाई कलात्मक रूपान्तरण दिन सक्छ । उसैले आफ्नो जीवनलाई कलात्मक सौन्दर्यको शिखरमा अवतरण गराउन सक्छ । जुन काठ आगोमा जलेको छ, त्यसले मात्र मन्दिरको मूर्तिमा रूप धारण गर्न सक्छ । जुन पत्थर अनगन्ती प्रहार सहन सक्छ, त्यसले मात्र अनुपम सौन्दर्य पाउँछ ।
हामी सोंच्न सक्छौं के कुनै मूर्तिले आफ्नो कुँदाइको पीडा महसुस गर्दैन ? के कुनै चित्रले आफूमा परेको रङ्गहरूको गहिराइ नबुझ्दैन ? जीवनलाई पनि यसरी नै हेर्नुपर्छ । हाम्रा आँसुहरू पानीका थोपाहरू मात्र होइनन्, ती त आत्माको स्नान हुन् । हाम्रा संघर्षहरू केवल बोझ मात्र होइनन्, तिनीहरू जीवनका महासंगीतका स्वरहरू हुन् ।
समय प्रतीक्षाका लागि हो । धैर्यका लागि हो । हिजो जुन पीडा थियो । त्यो नै भोलि हाम्रो सौन्दर्य बन्ने छ । जुन चोट आज असह्य लाग्छ । त्यही घाउ भोलि कथा बन्ने छ । इतिहास बन्ने छ । जब हामी एकदिन आफूलाई ऐनामा नियाल्ने छौं । त्यहाँ एउटा अद्भुत चित्र देखिने छ । संघर्षले कोरिएको, चोटहरूले निखारिएको, समयको सिँगारले सजिएको हाम्रो आफ्नै जीवनको कला ।
समयको प्रतीक्षा गर्न सक्नेहरूले नै आफ्नो जीवनलाई कला बनाउन सक्छन् । हिजो अनागरिक ढुंगा थियो, आज त्यो मूर्ति बन्यो । हिजोको सपना आजको वास्तविकता बन्न सक्छ । तसर्थ हरेक दिन धैर्यपूर्वक आफूलाई शिल्पी बनाऔं । किनभने कुनै न कुनै दिन हाम्रो प्रतीक्षा सार्थक हुने छ ।
पर्खन सक्नुपर्छ, किनकि ढुंगा पनि एकदिन भगवान बन्छ । हामी त्यसमा आस्थापूर्वक आराधना गर्नुपर्ने हुन्छ ।
अतः पर्खाइको सौन्दर्य जीवन निर्माणकै गति हुनसक्छ । हिजोलाई उपेक्षा गरिनु हुँदैन । भोलि ढुंगा पनि देवता बनेर पुजिन सक्छ ।







