
चर्चामा पुस्तक
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे
डा. दामोदर पुडासैनी ‘किशोर; को नयाँ कवितासँग्रह सुन्दर छ । बान्की परेका सुस्वादु कविताहरुले भरिएको छ ।यसमा अमेरिकाको यात्रामा रहँदा सृजना गरिएका ५३ वटा कविताहरु यस कृतिमा परेका छन् । जिज्ञासु खालका शिर्षकहरुद्धारा थालनी गरिएका कविताहरुमा चाखलाग्दा,कौतुकमय,अनि जानकारीमूलक जस्ता भावका कविताहरु देखिएका छन् ।
अमेरिकी यन्त्रवत जीवनलाई मज्जैले कविताहरुले चित्रण गरेका छन् भने त्यहाँका नारीहरुको अवस्था समेत उजागर गरेर कविताहरु सृजना भएका झैं लाग्छन् । अमेरिकी सभ्यता,प्रकृति,अधिकारका कुरा,अमेरिकी जीवनमा प्रेम सम्बन्धका चर्चा,अमेरिकी यन्त्रवत जिन्दगीका मनोदशाहरु र चाहानाहरु,डायस्पोरिक जीवनशैली,सुखसुविधा,अमेरिकी शक्तिको दम्भले विश्वको पर्यावरणमा पारेको असर के छैनन् र कविताका विषय । भन्न सकिन्छ विषयगत विविधताले भरिएको छ कविताकृति । एउटा उम्दा र उर्जाशिल कविले जहाँ जहाँ पाइला चाले त्यहाँ त्यहाँ कविता टिपेजस्तो लाग्छ ।
देखे,भोगेका,साक्षात्कार गरेका र मनले अनुभूत गरेका विषयहरुलाई टपक्क टिपेर बान्की दिइ कविता कोर्नु सह्रानिय छ ।
बिम्ब,प्रतीकहरुको यथोचित व्यवस्थापन गरेका कविताहरु पठनीय छन् । विशेषत:अमेरिकी बिम्बहरु प्रयुक्त,गतिशिल र अनुभूतिको गहिराईबाट उम्रेका ,कलात्मकताको लेपनले सुन्दर बनेका कविताहरु उस्तै बान्की परेका छन् ।
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।
परमहंस स्वामी चन्द्रेश स्मृतिग्रन्थ
भारतमा जन्मेर नेपालमा विगत पाँचदशकभन्दा बढी नै समय ध्यानयोग,तप र साधनाका क्षेत्रमा विताएका स्वामी चन्द्रेशको बारेमा १२४ जना विभिन्न सर्जक,साहित्यकार,कवि ,धार्मिक व्यक्तित्व लगायतले लेखेका रचनाहरुको संगालो हो परमहंस स्वामी स्मृतिग्रन्थ । यसमा स्वामी चन्द्रेशको योगदानको बारेमा विभिन्न व्यक्तिहरुले चर्चा गरेका छन् । आध्यात्मिक जगतमा सुपरिचित स्वामी जसमा शास्त्रीय र प्राज्ञिक चेतनाको क्षमता थियो । समाजलाई नैतिक बाटोमा डोर्याउने प्रवल चाह थियो । उनी विभिन्न भाषाका दक्ष बक्ता थिए । सन्तसेवा उनको कर्म थियो । उनले विभिन्न ग्रन्थ लेखेका थिए । कैयन धार्मिक ज्ञान र साधनाको प्रवचन दिएका थिए । २२ वर्ष सम्म शिवपुरीमा तपस्या गरेका स्वामी चन्द्रेश कालजयी गीतसंगीत,सन्देशप्रद चित्रकलामा निपूर्ण थिए । शिक्षा क्षेत्रमा समेत उनको योगदान उल्लेख्य थियो । सनातन धर्ममा उनको अगाध लगाव थियो ।
‘जीवनमा आफुले गरेका हरेक कर्म बमोजिमको प्रतिकृया भोग्नुपर्छ । कुनैपनि काम कहिल्यै बेकार हुँदैन् भन्ने कुरा सधैं याद राख्नुपर्छ ।’ भन्ने भावनाका उच्च व्यक्तित्व स्वामी चन्द्रेशको बारेमा यस ग्रन्थले जानकारी लिन चाहानेहरुको जिज्ञासा मेटाउँछ । उहाँका विभिन्न पक्षहरुको वारेमा जानकारी लिन चाहाने सबैलाई यो ग्रन्थ सहयोगी हुन्छ ।
परमहंस स्वामी चन्द्रेश स्मृतिग्रन्थलाई बुढानिलकण्ठ आश्रमले प्रकाशनमा ल्याएको हो ।
अनुभूतिका प्रतिबिम्बहरु
रजनी खत्रीका छोटा छोटा कविताहरुको अनुभूतिको प्रतिबिम्बहरु मार्फत आएका छन् । जीवनका विभिन्न आयामहरुको कवितामार्फत वर्णन गर्न सिपालु खत्रीको यो दोश्रो कृति हो । यसमा विभिन्न शिर्षकका ४७ वटा कविताहरु छन् ।जीवन सहज छैन् यसमा जटिलताहरुको बास छ । अनेक भोगाईका श्रृँखलाहरुले यसमा स्थान बनाएका छन् । भावना भन्दा यथार्थको सन्निकट छन् कविता । आफु र आफ्ना परिवेश वरिपरीका कुराहरु कविताका विषय बनेका छन् । दुखसुख,अभाव पीडा,महिलाको आम समस्या,वैदेशिक रोजगारका पीडा,नारीमाथि हुने पुरातनपन्थी सोचले ग्रस्त व्यवहार,विभिन्न समसामयिक विपत्तीहरु पनि कविताका विषयवस्तु हुन् । यसैगरी मानवियता मर्दै गएकोमा कविमन चिन्तित देखिएको छ । कवितामा विसंगति विरुद्द चर्काे आवाज पनि बुलन्द गरिएको छ ।
बिम्बहरुको प्रयोग,छोटा र छरिता कविता छन् ।
अनुभूतिका प्रतिबिम्बहरुलाई रामकुमार बस्नेत,रीकिता बस्नेत र रजत बस्नेतले प्रकाशनमा ल्याएका हुन् ।









