
“तीज”
श्रावणको महिना
चारैतिर हरियाली
बन हरियाली
मन हरियाली
बर्सेनि आउने तीज
तीजमा रम्ने महिला
ती सबै हरिया
कस्तो पहिरन्
शिर देखि पाउसम्म
एक महिना अघिदेखि
गाउँ भन्दा शहर घन्किन्छ
तीजको गीतले उखर्मौलो
पहिरनमा नाङ्गिएर!
आफैं आफैं उदाङ्गिएर!!
संस्कृतिको नाममा भद्दा सोच
भद्दा खानपान,भद्दा संस्कार
हेर्दा पनि झट्ट आयातित झैँ लाग्ने
खोइ पुरातन संस्कार, सबै बिर्सिए!
जहाँ माटोको सुगन्ध छ
जन्मदिने बाबा-आमाको प्यार छ
जन्मघरको मीठो सुवास छ
दाजुभाईको चेली प्रतिको विश्वास छ
साथीसँगीको भावनात्मक सम्बन्ध छ!
थियोे पहिले,पहिले,उहिले
अब हुँदैन् र हुनपनि दिंदैनन्
अहिले दर खाने निउँमा,
बोतलको तर छ
फलफूलको ठाउँमा पिज्जा बर्गर छ
बिहान देखि बेलुकीसम्म फुर्फुर छ!
खोइ आस्था विश्वास र भरोसा
छैन् सबै मर्दै गए, मारिंदै गए
व्रत बस्नेको नाममा बढी नै बसे
गाउँघरमा भन्दा शहरमा
मारेर सबै आसा रहरमा!
पुज्नु पर्नेलाई पुजेनन्
बुझ्नु पर्नेलाई बुझेनन्
खोइ कस्तो तीज हो
मान्छे पुजिएन
ढुङ्गा पूजियो
बल्ल संस्कार अनि तीज बुझियो!!
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”









