
काठमाडौं।११ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गतेलाई बोलाइएको छ ।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ ।
एघारौँ महाधिवेशन मङ्सिर २७–२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार कार्तिक १५ गते बस्ने सचिवालय बैठकले महाधिवेशन तयारीका बारेमा छलफल गर्नेछ । सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन,स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् ।
एमालेमा झन्डै साढे ६ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्य सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय गर्ने बताइएको छ । यसअघि दसौँ महाधिवेशनमा १८ प्रतिनिधि छनोट भएकोमा यो पटक पार्टी सदस्य बढेकाले महाधिवेशन प्रतिनिधि पनि बढ्न सक्ने नेताहरूको भनाइ छ ।
