
काठमाडौँ।प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।
गोकर्णेश्वरस्थित सैनिक ब्यारेकमा रास्वपा सांसद राजुनाथ पाण्डेले डोजर लगाएर सेनाको ब्यारेकका पर्खाल भत्काउन खोजको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कर्णस्थित नेपाल ट्रस्टको जग्गामा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र छ । करिडोर विस्तारका क्रममा त्यहाँको पर्खाल डोजरले भत्काउन लागेपछि पाण्डे र सैनिकबीच केही बेर चर्काचर्की भएको भिडियोमा देखिन्छ ।
पाण्डेको अग्रसरतामा पर्खाल भत्काउन लागेपछि सैनिकले भनेका छन्, “यहाँ फौज बसेको छ ।”
त्यसपछि सांसद पाण्डे भन्छन्, “फौज बसेर के भयो ?”
सैनिकले पटक–पटक पर्खाल नभत्काउन अनुरोध गर्छन् । तर, पाण्डेले उनको अनुरोधप्रति चासो दिँदैनन् । भत्काउन अनुमति लिएको पत्र सैनिकले माग्छन् । त्यसपछि पाण्डे झन् रिसाउँछन् ।
“करिडोरको बाटो पहिल्यै खोल्नुपर्ने होइन ? मैले सिस्टम पहिले बुझिसक्या छु । करिडोरको मापदण्ड हो, जनताले आफ्नो जग्गा छोडेर करिडोरलाई छोड्ने अनि अर्को निकायले पर्खाल राख्न मिल्छ ?,” पाण्डेले भनेका छन् ।
पाण्डेको भनाइ नसकिँदै ती सैनिक भन्छन्, “यो ब्यारेक हो नि !”
पाण्डेले मापदण्ड सबैलाई लागु हुनुपर्ने बताउँछन् । “यो डोजर रोकिँदैन, किनभने म आदेश स्पष्ट लिएर आएको छु । कन्फ्युजन भए सोध्नुहोला,” सांसद पाण्डेले ती सैनिकलाई भन्छन् ।
पर्खाल भत्काउँदा जंगली जनावर भागे के होला ? भनेर सैनिकले सम्झाउन खोज्छन्, तर पाण्डे मान्दैनन् । सांसद पाण्डेले हप्कीदप्की गरेको विषयलाई सेनाले ‘गम्भीर रूपमा’ लिएको छ ।
यही घटनापछि प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट हुनुलाई त्यसैको असर रहेको रुपमा पनि अर्थ्याइएको छ । तर यसबारे नेपाली सेनाले भने औपचारिक रुपमा केही बोलेको छैन । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भने, ‘प्रधानमन्त्री अहिले रक्षामन्त्री पनि हुनु भएकाले यो नियमिति हुने भेटघाट हो ।’
