
काठमाडौँ । भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले डाबर इन्डियालाई आफ्ना विभिन्न खाद्य उत्पादनमा भ्रामक रूपमा ‘शतप्रतिशत शुद्ध’ लगायतका दाबी प्रयोग गरेको भन्दै ती उत्पादनको बिक्री तत्काल रोक्न निर्देशन दिएको छ ।
प्रतिबन्धमा डाबरको मह, गाईको घिउसहित अन्य केही खाद्य सामग्री पनि परेका छन् । साथै प्राधिकरणले कम्पनीसँग १५ दिनभित्र आदेश कार्यान्वयनबारे प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।
प्राधिकरणका अनुसार डाबरको वेबसाइटमा बिक्री भइरहेका उत्पादनमा ‘शतप्रतिशत प्राकृतिक’, ‘शतप्रतिशत शुद्ध’, ‘शतप्रतिशत शुद्धताको प्रत्याभूति’, ‘शतप्रतिशत जैविक’ र ‘शतप्रतिशत नरिवलको पानी’ जस्ता दाबी गरिएको पाइएको थियो । यस्ता दाबी उपभोक्तालाई भ्रममा पार्ने, पुष्टि नभएका तथा खाद्य विज्ञापन तथा दाबीसम्बन्धी सन् २०१८ को नियमावलीविपरीत रहेको प्राधिकरणको निष्कर्ष छ ।
अनुगमनका क्रममा डाबर हिमालयन जैविक स्याउको सिरका र डाबर जैविक महमा आवश्यक स्वीकृतिबिनै ‘जैविक भारत’ को चिन्ह प्रयोग गरिएको पनि भेटिएको छ । त्यस्तै, मिश्रित खाद्य पदार्थमा यस्तो दाबी गर्न नपाइने व्यवस्था हुँदाहुँदै डाबरको नरिवलको दूधलाई ‘शतप्रतिशत शुद्ध’ भनेर बजारमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यसअघि पनि यस्ता भ्रामक दाबी तत्काल हटाउन डाबरलाई सूचना दिएको भए पनि कम्पनीले आवश्यक कदम नचालेपछि बिक्री रोक्ने आदेश जारी गरिएको हो । खाद्य विज्ञानअनुसार अधिकांश प्रशोधित वा प्याक गरिएका खाद्य पदार्थलाई वैज्ञानिक रूपमा ‘शतप्रतिशत शुद्ध’ प्रमाणित गर्न कठिन हुने भएकाले प्रयोगशालाबाट पुष्टि नभई यस्तो दाबी गर्नु कानुनविपरीत मानिने प्राधिकरणले जनाएको छ ।
