
जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ ।
औपचारिक उद्घाटनअघि नै केही खेल सुरु भइसकेका छन् । जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
एक एसियाको कल्पना’को नारा राखिएको यो क्षेत्रको सबैभन्दा ठूलो खेल महोत्सवमा ४५ देशबाट १७ हजार खेलकर्मीले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा विभिन्न ४१ खेलका ६८ विधा र ४६० इभेन्ट्स समावेश छन् । त्यसमा ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी खेलाडी र अफिसियल हेर्दा यो पेरिस ओलम्पिकको भन्दा ठूलो इभेन्ट्स बन्न पुगेको छ ।
जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्दैछ । यसअघि सन् १९५८ मा र १९९४ मा एसियन गेम्स आयोजना गरेको थियो । ३२ वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा ४३ खेलका ७१ विधामा ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् । मिक्स्ड मार्सल आट्र्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ । यस्तै ई–स्पोट्र्स र ब्रेकिङले पनि स्थान पाएका छन् । सहभागी खेलाडी तथा अफिसियल टोलीलाई होटल र क्रुजमा राखिएको छ ।
