
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको यो खेल कार्तिक ९ गते हुनेछ ।
प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइजले एक अर्कासँगै प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । अंक तालिकाको शीर्ष दुई टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।
यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायरमा पराजित हुनेले दोेस्रो क्वालिफायरमा इलिमिनेटर जित्ने टोलीको सामना गर्नेछ ।
इलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग भिड्नेछ । कार्तिक २९ गतेसम्म लिग चरणका खेल हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ । फाइनल मंसिर ५ गते हुनेछ ।
