
नयाँ बुद्ध
गंगा खड्का
म बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने एउटा कार्यक्रममा जाँदै थिएँ । बाटो परेकाले म मेरा साथी रवीन्द्रको घरमा छिरेँ । लगभग १० वर्षदेखि त्यस घरमा भाडामा बस्दै आएका उदय गेटबाहिर धमाधम सामान गाडीमा हाल्दै रहेछन् । मैले केही सोध्न चाहेँको थिएँ तर उनका अनुहारबाट प्रस्ट झल्किएका निराशाको रेखाले मलाई जिज्ञासा राख्नका लागि निषेध गरे ।
म सरासर भित्र गएँ । रवीन्द्र र उहाँकी पत्नी पनि अँध्यारो अनुहार लगाएर बस्नुभएको रहेछ ।
” यत्रो वर्षसम्म परिवार जसरी बसेका उदय त जान पो लागेछन् । जागिरबाट अन्तै सरुवा भयो कि क्या हो ?”
मेरो मुखबाट यति चुहिनासाथ रवीन्द्रकी श्रीमतीले भन्नुभयो , “के गर्नु त मुख देख्दा माया लाग्छ, तर एउटा कुराले गर्दा नचाहँदा नचाहँदै पनि पठाइदिनुपर्यो ।”
“किन र ? के भयो र ? ” मैले फेरि जिज्ञासा राखेँ ।
” हेर्नुस् न । घरमा बुहारी दुई जिउकी छिन् । उदयका दम्पतिबाट अहिलेसम्म जायजन्म भएको छैन । एउटै घरमा बसेपछि छातछुत भएर बुहारीको गर्भ खेर गयो भने के गर्नु नि ?”
रवीन्द्रकी बूढीले यति बोलिरहँदा म छाँगाबाट खसेजस्तै भएँ ।
“हरे कस्तो विडम्बना ! अहिलेको जमानामा पनि यस्तो सोचको अवशेष बाँकी रहेछ । हामी धर्तीमा नयाँ बुद्धको खाँचो छ भन्छौँ तर कोखमा हुर्कँदै गरेको भ्रुणदेखि नै गलत संस्कारमा हुर्किएपछि कसरी जन्मेलान् नयाँ बुद्ध ! ” म बडो असामञ्जस्यमा परेँ ।






