
, काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२”मा खोटाङका कवि शुभचन्द्र राई प्रथम हुनुभएको छ ।
सोही प्रतियोगितामा मकवानपुरका कवि तुलसी घिमिरे दोस्रो र भरतपुरका कवि परिवेश मुन्द्रे तेस्रो हुनुभएको छ ।
त्यस अतिरिक्त उत्कृष्ट दुईमा सिन्धुलीका कवि रमेश दाहाल र काठमाडौंका कवि संगीता खरेल रहनुभएको छ ।
सो निर्णय वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा बनेको निर्णायक समितिले गरेको साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। प्रतियोगितामा पहिलो हुनेलाई रु. ३०,०००/-, दोस्रो हुनेलाई रु. २०,०००/- र तेस्रो हुनेलाई रु. १०,०००/- सहित प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान गरिने छ ।
सो प्रतियोगिताको लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने, ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउने र कविता अप्रकाशित हुनुपर्ने सर्त राखिएको थियो। संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुस मसान्तलाई तोकेको थियो ।
प्रतियोगिताका लागि अमेरिकामा रहनु हुने समाजसेवी सपना राउतले रकम प्रायोजन गर्नुभएको हो ।
