
नगेन्द्रराज शर्मा । नेपाली साहित्यिक पत्रकारिताका शिखर पुरुष । भन्न सकिन्छ -साहित्यिक पत्रकारिताका ‘भिष्म पितामह’ । साहित्यिक पत्रकारिताका उत्प्रेरक । नेपाली साहित्यिक पत्रकारिताका पर्याय । शर्माको ८९ वर्षको उमेरमा गत असार ३१ गते बुधबार बिहान निधन भएको थियो । शर्मा केही समयदेखि मुटुसम्बन्धी रोगसँगै मधुमेह र कलेजोको रोगबाट पीडित थिए ।
विं.सं.२०२७ सालदेखि निरन्तर प्रकाशित ‘अभिव्यक्ति’ द्धैमासिक साहित्यिक पत्रिकाका प्रकाशक तथा लामो समयसम्म त्यसका सम्पादक । त्यतिमात्र उनको परिचय होइन । उनी राम्रा साहित्यकार पनि हुन् । आख्यानमा उनको कलम राम्रै चलेको थियो । शर्माको ‘दिवास्वप्न’ र ‘महापुरुष’ उपन्यास प्रकाशित छ । यसैगरी कथाकृति ‘पिपलको बोटमुनि’ प्रकाशित छ ।फुटकर रुपमा पनि थुप्रै कथाहरु नेपाली साहित्यमा योगदान गरेका छन् ।
उनको नाममा नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार पनि स्थापना छ ।
नेपाली साहित्यिक पत्रकारितामा झण्डै आधा शताब्दी व्यतित गर्नु चानचुने कुरा होइन । आजका थुप्रै स्थापित साहित्यकारहरुका सिर्जनाहरु पहिले ‘अभिव्यक्ति’मै छापिन्थे । यतिमात्र कहाँ हो र साहित्यमा बामे सर्दै गरेकाहरुले आफ्ना रचना छाप्ने अबसर पनि ‘अभिव्यक्ति’मा पाएका हुन्थे ।
पुख्र्यौली थलो रामेछाप भएका शर्मा कविता,कथा लगायतका सिर्जनामा पनि लागिरहेका व्यक्तित्व हुन् ।
हिजोको कठीन राजनीतिक परिवेशमा जहाँ पत्रिका निकाल्न पनि सेन्सर पास गर्नुपथ्र्यो,त्यतिबेलादेखि शर्मामा हुटहुटी थियो ।
सरल,मिजासिला र सहयोगी उनको स्वभाव थियो । सबैसँग मिल्न सक्ने मिलनसार व्यक्तित्वका धनी शर्मा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष समेत भैसकेका व्यक्तित्व हुन्।
शर्माले मदन -शीला साहित्यिक पत्रकारिता पुरस्कार,नेपाल सरकारको महाकवि देवकोटा पुरस्कार,पद्मश्री पुरस्कार (संयुक्त),रेखा पवन स्रष्टा सम्मान(संयुक्त) लगायत थुप्रै सम्मान र पुरस्कार पाएका छन् ।
वास्तबमै नगेन्द्रराज शर्माको योगदान नेपाली साहित्यिक पत्रकारिताको जगलाई बलियो बनाउन महत्वपूर्ण रहेको छ । उनको पहिचानको पहिलो स्तम्भ भनेकै ‘अभिव्यक्ति’ साहित्यिक पत्रिका हो । आधा शताब्दीसम्म अविराम पत्रिका चलाउनु चानचुने कुरा थिएन र होइन । कति आर्थिक कठीनाई आए होलान्,कति भौतिक लगायत अन्य समस्या बेहोरे होलान्,कैयन चुनौतीको सामना गरे होलान, तर पनि शर्मा ती सबैसँग जुधिरहे । र पत्रिका प्रकाशनमा निरन्तरता दिइरहे ।
सस्तो प्रचार र लोकप्रियताबाट अलग रहन रुचाउने सादगी व्यक्तित्वका धनी शर्मा सरल जीवनमा रमाउँथे । उनी नेपाली साहित्यमा नयाँ पुस्ताका लेखकहरुलाई प्रोत्साहन गर्ने स्वभावका थिए । बोलीमा मृदु मिठास,नम्रता र हार्दिकता उनको व्यक्तित्वको विशेषता थियो ।
आज उनी भौतिक रुपमा हामी सामु छैनन् तर उनी आफ्ना कर्मका कारण नेपाली साहित्यिक पत्रकारिता र साहित्यिक आकाशका उज्यालो ताराको रुपमा सधैं सबैले देखिरहने जीवन बाँचिरहेका छन् । उनको त्याग,समर्पण,साहित्यिक निष्ठा हामी सबैको निम्ति र सधैंको निम्ति अनुकरणीय छ ।
आज १३ औँ दिनको पुण्यतिथिमा नगेन्द्रराज शर्माप्रति इखबर नेट परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।


