
काठमाडौँ। नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको उद्घाटन आज हुँदैछ।
यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, काठमाडौंस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो।
उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ।
पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन्। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ।
केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ।
सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ।

