
काठमाडौं । गृह मन्त्रालयले सुनसरी घटना छानबिन गर्न एक समिति गठन गरेको छ । सोमबार (साउन ११) गृहका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता अनन्त काफ्लेले जानकारी दिए ।
समितिलाई सात दिनभित्र प्रवेदन बुझाउन भनिएको छ । सोमबारै बिहान गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख एवं आईजीपी नारायणदत्त पौडेललाई सिंंहदरबार बोलाएर घटनाबारे जानकारी लिएका छन् ।
आइतबार (साउन १०) राति सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको थियो । सोही विषयमा गृहमन्त्री गुरुङले आईजीपीद्वयलाई छलफलका निम्ति बोलाएका हुन् । उनीहरूबीचको छलफल जारी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइएको थियो ।
प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । अरू केही व्यक्ति घाइते छन् ।

