नशालु पदार्थ शरीरलाई हानीकारक छ भनेर थाहा छ तर सेवन गर्ने बानी भनौं वा आदत बसे पछि छोड्न सक्दैन । यदि त्यो बानी छोड्न छुडाउन प¥यो भने साहै्र गाह्रो हुन्छ । ठीक त्यस्तैत्यस्तै भनेझैं विक्रमसंवत् मिल्दैन भनेर धेरैलाई थाहा भइसक्यो तर छोड्न गाह्रो हुने देखी रहेको छ । कतिपय मानिसहरु मध्ये अनपढ र पढेलेखेका मानिस भनेर दुईवर्गमा मात्र छुट्याएर हेरियो भने अनपढहरुलाई विक्रमसंवत् मिलेको होस् या नमिलेको होस् उनीहरुले त्यसमा कुनै चासो राख्दैन । पढेलेखेका वर्ग भित्रै पनि हेरियो भने त्यहाँ धेरै थरिका मानिसहरु देखिने गर्दछन् । त्यसमा अन्य विषयगत मानिसहरु सबैलाई छोडेर केवल इतिहास बुझेका र इतिहास लेखनसंग सम्बन्धित व्यक्तिहरुको माझमा राखेर हेरियो भने विक्रमसंवत् मिल्दैन भन्ने कुरा कतिले कानको छेउले पनि सुन्न नचाहने, कति त उल्टो झम्टिन नै खोज्ने, कति चाहिं यसलाई सुधारेर सुधारिएको विक्रमसंवत्लाई नै नयाँ नेपालसंवत् नाम राखेर जाने भन्दै त्यसकोलागि पर्वसुधारको टोली नै गठन गरेर आइरहेका पनि देखिन्छन् भने कोही चाहिं विक्रमसंवत् व्यवहार गर्दा बानी भइसकेकोले इतिहास जेसुकै होस् यसपाली २०८१ सकिन्छ त्यसपछि २०८२ गर्दै एवं रीतले ८३,८४,८५ गर्दै लाने हो अरु थाहा छैन भन्ने समेत देखिएका छन् ।
यस्तै भन्नेहरुलाई वास्तवमा इतिहासकार अथवा इतिहास मर्मज्ञ नभने पनि हुने हो तर के गर्नु बिडम्वना भनौ उनीहरुलाई मन नपर्ला स्वभाविक भनौं भने जानाजान भूल गर्दै आइरहेका छन् । किनभने नेपालसंवत् शुरुभए ताका ं९३६ विक्रमसंवत् भएकोले ९३६ कार्तिकदेखि ९३७ असोजसम्म नेपालसंवत् १ हुने कुरा पनि सकार्ने भएपछि स्पष्टै छ नेपालसंवत् र विक्रमसंवत् बीच ९३५ र ९३६ फरक हुन्छ । त्यसो भएकोले कहिलेदेखि ९३६ र ९३७ फरक हुन आएको भन्न नचाहनेहरु इतिहासकार पनि होइनन् र इतिहास मर्मज्ञ पनि होइनन् । यही कुरालाई प्रष्ट पार्न यो लेख तयार पार्नु परेको हो ।
खोजी हुनुपर्ने कुरा
हामीले देख्दै आएका छौं कि स्वदेशी होस् या विदेशी लेखकहरु जोसुकै होउन् उनीहरुबाट लेखिएका तमाम लेख तथा पुस्तकहरुमा कीलहर्नकाअनुसार इस्वीसंवत् ८७९ अक्टोवर २० तारिखका दिन नेपालसंवत् शुरु भएको हो भनेरै लेखिएका छन् । एक दुई जनाले इस्वीसंवत् उल्लेख नगर्दैमा उसले त्यो कुरा नसकारेको ठहरिने पनि होइन । यदि होइन भने यो मिल्दैन भन्नेहरु कसले कहाँ कुन बेला कुन ठाउंमा यसको प्रतिवाद गरेको छ ? त्यो कुरा देखा परेको पनि हुनुपर्यो । यसको मतलव यस बारेमा कसैले पनि विवाद गर्न खोजेको देखिएन भनी प्रष्टै हुन्छ ।
यही इस्वी ८७९ अक्टोवर मा ७८ घटाए शक ८०१ कार्तिक आउँछ र यही शक ८०१ मा १३५ जोडे वि.सं ९३६ कार्तिक आउने पनि सबैले बुझेकै छ । यसरी बुझीबुझीकन पनि यसको बर्खिलाफको बाटो रोज्न थालेबाट कुबाटो अपनाउन लागेको आशंका हुन्छ ।
हरेक संवत्को शुरु १ बाट नै भएकोले नेपालसंवत्को शुरु पनि १ बाट नै भएको हो । शुरुको संवत् १ भनेको इस्वी ८७९ अक्टोवर २० देखि ८८० अक्टोवर १९ तारिखसम्ममा एक वर्ष पूरा हुन्छ । तब नेपालसंवत्संग इस्वीसंवत्को अन्तर ८७९—ने.सं १ = ८७८ र ८८०— ने.सं १ =८७९ हुने कुरा नबुझ्ने पनि सायद कोही हुँदैन होला । अहिले नेपालसंवत् ११४५ पनि यस्तैगरि इस्वी २०२४ देखि २०२५ सम्म रहने हो । तब अहिले के कति कारणले त्यस बीच ८७९ र ८८० अन्तर देखिन गएको हो ? त्यसको कारण खोज्ने चेष्टा भने कसैले नगरेको हुनुको मतलव के हो ?
यसको कारण खोजी गरिएको छैन । इस्वीसंवत् र विक्रमसंवत् बीच ५७ वर्ष फरक हुने सूत्रको आधारमा २०२४ मा ५७ जोड्यो वि.सं २०८१ साल भयो र २०२५ मा ५७ जोड्यो वि.सं २०८२ साल भयो भन्दै आएको देखिएको छ । नेपालसंवत् ११४५ को कार्तिक, मंसीर, पौष महिना इस्वी २०२४ हुने र अरु बाँकी महिना सबै इस्वी २०२५ भित्र पर्ने गर्छ । यही ५७ ले कहिलेदेखि भूमिका खेल्दै आएको थियो ,त्यो खोज्ने चेष्टा पनि अहिलेसम्म कसैले गरेको देखिएको छैन ।
कुबाटोको पहिलो कदम, मानदेवसंवत्
सुमतितन्त्र भन्ने ग्रन्थमा मानदेवसंवत् ३०४ वर्ष चल्यो भनेको छ । यसलाई जसरी हुन्छ सिद्ध गर्ने ध्याउन्नामा लागेपछि बठ्ठयाईं गर्नु बाहेक अरु उपाय नभएको पनि स्पष्ट देखियो । नेपालसंवत्को शुरु कहिले भयो त भन्दा मानदेवसंवत् ३०४ वर्ष चलीसकेपछि शुरु भएको भन्न थालियो । यदि बार नक्षत्र सहित उल्लेख भएको सहोत्तरतन्त्र नभेटिएको भए के हो के हो ?भन्ने पनि हुन्थ्यो होला । त्यस सहोत्तरतन्त्रमा संवत् ३०१ वैशाख शुक्ल सप्तमी आइतबार बकाइदा उल्लेख छ । त्यही संवत् ३०१ लाई मानदेवसंवत् मान्नु , त्यही ३०१ वैशाखलाई विक्रमसंवत् ९३५ वैशाख हुन्छ भन्नु सरासर बठ्याई हो । त्यसलाई केवल मौखिक रुपमा बोलेको मात्र होइन । यो कुरा सिद्ध गर्न लामो गणना समेत देखाएर सिद्ध भयो, ट्वाक्क मिल्यो भनिएका कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ २७ पल्टाएर हे¥यो भने पनि टड्कारो देखिन्छ ।
यसबाट प्रश्न यो उब्जियो कि के नेपालसंवत् दुईचोटी जन्मेको हो अथवा नेपालमा दुइथरि नेपालसंवत् छ त ? यहाँ दुइचोटी जन्मेको सिद्ध गर्न पनि नसक्ने र दुईथरि नेपालसंवत् छ भनेर सिद्ध गर्न पनि नसकेपछि त्यो लामो गणनाको पनि कुनै औचित्य रहेन भन्ने स्पष्ट देखियो । त्यसैले त्यो गणना वाहियात गणना हो र बठ्याई मात्र हो भन्ने आफैमा स्वतःसिद्ध छ । किनभने ३०१ मानदेवसंवत् चली राख्दा विक्रमसंवत् ९३५ वैशाख हुने हो भने त्यही मानदेवसंवत् ३०४ सम्म चलेको देखिनको लागि वि.सं ९३८ नभइकन संभव हुँदैन भन्ने कुरा नबुझ्ने त कोही हुँदैन । यसको मतलव बठ्ठयाईलाई साथ दिनु परेको हुनाले बूझपचाउनु परेको होला भन्न सकिन्छ । यदि गणना मिलेको भन्ने हो भने मानदेवसंवत् छैन भन्न सक्नु पर्दथ्यो कि त वि.सं ९३६ कार्तिकमा उठेको नेपालसंवत् वास्तवमा नेपालसंवत् नै होइन भन्न सक्नु पर्दथ्यो । त्यसो नभनी वि.सं ९३८ कार्तिकमा नेपालसंवत् उठ्यो भनेर दावा गरिरहनु भनेको बठ्याईं सिबाय अरु होइन भन्न सकिन्छ । यसरी थरिथरिको विक्रमसंवत् देखाएर बठ्याई गरिरहनु भनेको इतिहासको लागि विक्रमसंवत् सोझै अस्वीकृत ठहरेको प्रमाणित हुने हो ।
कुबाटोको दोस्रो कदम, वि.सं ९३७
वि.सं ९३६ कार्तिकमा उठेको नेपालसंवत् सही होइन भनेर सिद्ध गर्न पनि नसक्ने फेरि आफैले लामो गणना देखाएर वि.सं ९३८ कार्तिकमा नेपालसंवत् उठेको पनि देखाउने र फेरि त्यही गणना आफैले फेल भएको सिद्ध गरी वि.सं ९३७ कार्तिकमा नेपालसंवत् उठेको सिद्ध गर्न खोज्नु भनेको प्रत्यक्ष बठ्याई सिद्ध हुनु हो ।
वि.सं ९३६ कार्तिकमा नेपालसंवत् उठेको कुरा खण्डन गर्न नसकेपछि त्यो पनि सही ठहरियो, लामो गणना गरेर मानदेवसंवत् ३०१ सम्म वि.सं ९३५ बसे पछि ३०४ वर्ष मानदेवसंवत्लाई बस्नको लागि स्थान दिनु पर्ने भयो । त्यसपछि वि.सं ९३८ नभइकन नेपालसंवत् उठ्न नसक्ने सिद्ध गरेको पनि सही ठहराउने आफै र केही सीप नलागेर वि.सं ९३७ मा नेपालसंवत् उठेको देखाउने पनि आफै रहेको यस प्रकार छ ।
विक्रमसंवत्को प्रारम्भ वैशाखमा हुने र नेपालसंवत्को प्रारम्भ कार्तिकमा हुने भएकोले वास्तवमा वि.सं ९३७ कार्तिकमा नेपालसंवत्को प्रारम्भ भएको हो । यस कारण वि.सं ९३७ को वैशाखमा नेपालसंवत् ० हुन्छ ।
(लिच्छविसंवत्को निर्णय,पृष्ठ १३६)
यो त बोलीको कुनै ठेगान नभएको प्रमाणित भयो भन्न सकिन्छ । यसरी बोलीको कुनै ठेगान नभएको व्यक्तिलाई सिद्धान्ती भनेर मान्नु आफै बेबकूफ हुने हो । यस्तो कुनै बिचारै नगरी बोलीको ठेगान नभएको व्यक्तिको पछि लाग्नु जानाजानी भूलगर्नु हो । यसरी सारा मानिस कुबाटोतिर लम्केको देख्दा मुलुक साँच्चै गएगुज्रेकै हो कि भन्नुपर्ने अवस्था आइरहेको हो ।
कुबाटोको तेस्रो कदम, अधिकमास
अधिकमास उल्लेख भएको लिच्छविकालको अभिलेख मध्ये भक्तपुर इनायचोको संवत् ३१ र पाटन सुनधाराको संवत् ३४ त सबैले थाहा पाएकै कुरा हो । यी दुई मध्ये पहिलो संवत् ३१ भनेको वि.सं ६६४ को कार्तिकदेखि वि.सं ६६५ को आश्विनसम्म रहने देखाइएको र दोस्रो संवत् ३४ भनेको वि.सं ६६७ को कार्तिकदेखि वि.सं ६६८ को आश्विनसम्म रहने देखाइएको कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ ९ र १० मात्र पल्टाएर हेरे पनि पुग्छ ।
अधिकमास उल्लेख भएका अभिलेख केवल यी दुइटा मात्रै पनि होइन । पछिल्लो समयका अरु पनि थुप्रै अभिलेखहरुमा अधिकमास उल्लेख आइरहेको सर्बविदित नै छ । यसको लागि पूर्णिमा अंक ७८(वि.सं २०४७ आषाढ)को अंकको पृष्ठ १५ देखि २० पल्टाएर हेरियो भने त्यहाँ १६ वटा अभिलेखको मितिको व्याख्या दिइएका छन् । त्यसमा पौषमा परेका अधिक मासहरु पनि छन् र आषाढमा परेका अधिकमासहरु पनि छन् । यसमा आषाढको अभिलेखहरुमा पनि ८०१ नै जोडेको र पौषको अभिलेखहरुमा पनि ८०१ नै जोडेर शकसंवत बनाएको प्रत्यक्ष रुपमा देख्न पाइन्छ ,वास्तवमा यो सरासर बठ्ठाई मात्र हो ।
किनभने लिच्छविकालमा शकसंवत् कार्तिकादि मान्दा शकबाट विक्रमसंवत् बनाउन जेठमा १३५+१ गर्नु पर्दछ भनेर देखाइएको कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ ९६ पल्टाएर हेरे पनि पुग्छ भने पूर्णिमा अंक ७८ मा तमाम आषाढको महिनामा शकबाट विक्रमसंवत् बनाउन १३५+१ गर्ने युक्ति लागु गर्न नपरेको कारण बठ्ठायाई मात्रै हो । वास्तवमा यी सबै दुनियाँको आँखामा छारो हाल्नको लागि बनाइएका बठ्ठयाईंका युक्ति सिवाय अरु होइन भन्ने यसले प्रष्ट पार्दछ ।
लिच्छविकालमा शकसंवत् कार्तिकमा शक ५२९ हुन्छ भने वैशाखमा ५३० भइसक्छ भनी देखाउने पण्डितहरुले पौष र आषाढ महिनाको सबै अभिलेखहरुमा नेपालसंवत्मा ८०१ मात्रै जोडेपछि नेपालसंवत् जस्तै शकसंवत् र विक्रमसंवत् पनि कार्तिकादि देखाउन खोजेको बठ्ठयाईं हो । यहाँ हिसावले पौषमा पनि ९३६ फरक र आषाढमा पनि ९३६ फरक हुने जुन देखाइयो वास्तवमा यो लज्जित बन्नु पर्ने कुरा हो । यति कुरा नबुझ्ने इतिहासकारहरु नेपालमा अहिले पनि विद्यमान हुनु भनेको त परमआश्चर्यको पनि पराकाष्ठा हो ।
यहाँ कुनै नयाँ सिद्धान्तको पक्ष लिएर लेख्न खोजेको होइन । वि.सं ९३६ कार्तिकमा नेपालसंवत् थालनी भएको मान्यता पूर्व स्थापित मान्यता हो । यो मान्यतामा के विसंगति देखियो र ती विसंगतिको समाधान केही नगरी वि.सं ९३८ कार्तिकमा नेपालसंवत् उठेको सिद्धान्त अघिसार्नु भनेको बठ्ठयाईं नै सिद्ध भयो र पहिलो मान्यतामा कुनै दोष देखाउन नसकिएको देखादेख पनि अर्को मान्यतालाई बढावा दिनु पनि बठ्ठयाईको मतियार नै सिद्ध हुनु हो ।
त्यसरी वि.सं ९३६ कार्तिकको बिकल्पमा वि.सं ९३८ कार्तिक जसले उभ्याएको हो । उसैलाई त्यो घाँडो भई छोडेर उसैले वि.सं ९३७ कार्तिकको मान्यता समात्न जाँदा दुनियाँले के भन्लाको कुनै ख्याल र परवाह नगरेको त छँदै छ त्यसमाथि छिनछिन्मा यसरी सिद्धान्त बदलेको देख्दा दुनियाँले अचम्म मान्नु स्वभाविक हुन्छ । यसले दुनियाँलाई ९३६ समात्ने कि ९३७ समात्ने कि वा ९३८ समात्ने कि भनेर अन्यौल हुने प्रत्यक्ष देखियो किनकि यहाँ तीनवटा बिकल्प अगाडि तेर्सिएर रहेको प्रत्यक्ष देखियो । यस विषयमा कसैलाई चिन्ता र वास्ता नहुनु साँच्चै दुःखद भन्न सकिन्छ ।
माथिको पेचिदा प्रश्नको सन्दर्भमा
नेपालको इतिहास लेख्ने लेखकहरु र उनीहरुले लेखेका लेख तथा पुस्तकहरु अनगिन्ती मात्रामा छन् । त्यसमा सबैलाई थाहाभएकै कुरा हो कि ने.सं ८८८ भाद्रमा मल्लराजाहरुले आफनो अधिनको कान्तिपुर र ललितपुर गुमाउनु प¥यो भने ने.सं ८८९ मा भक्तपुर पनि मल्लराजाको अधिनबाट गुम्न पुगेको हो । यो कुरा स्वदेशी लेखकले मात्र होइन विदेशीले समेत लेखेका छन् । विदेशीले लेख्दा ने.सं ८८८ भनेको इस्वी १७६८ र ने.सं ८८९ भनेको इस्वी १७६९ भनेर लेखे । स्वदेशी लेखकहरु चाहिं यहाँ निर निक्कै अनकनिएको देखिन्छ । त्यही भएर कतिपय स्वदेशी लेखकले ने.सं ८८८ भनेको इस्वी १७६७ र ने.सं ८८९ भनेको इस्वी १७६८ भनेर लेखे ।
यसको मुख्य कारण भनेको ने.सं १ भनेको इस्वी ८७९ अक्टोवर २० देखि ८८० अक्टोवर १९ रहने भएकोले ८७८ र ८७९ लाई समातेर इस्वी १७६७ समातेका हुन् । किलहर्न स्वयं ंविदेशी हुन् तर उनले किन शुरुमा ८७८ । ८७९ जोड्ने कुरा ल्याए भने ८८८ मा आएर ८७९ । ८८० जोड्ने कुरा ल्याए । यसको स्पष्टीकरण हामीले दिनुभन्दा पनि विदेशीहरुसंगै माग्नु श्रेयस्कर हुन्छ । यसको स्पष्टीकरण हामीलाई पनि थाहा छ तर त्यो दुनियाँ जो बठ्ठयाईमा निर्भर भएर आएका छन् उनीहरुले हाम्रो कुरा भन्दा विदेशीले भनेको कुरालाई मात्र प्राथमिकता दिन्छ ।
यस प्रकार ने.सं ८८८ भनेको इस्वी १७६८ ।१७६९ र ने.सं ८८९ भनेको १७६९ ।१७७० गरेको देखे पछि त्यसमा ५७ जोडेर १८२५ । १८२६ विक्रमसंवत् बनाएको र १८२६ । १८२७ विक्रमसंवत् बनाएर आए बमोजिम अहिले इस्वी २०२४ । २०२५ को २०८१ । २०८२ गरेको प्रष्टै हुन्छ । यसले यो स्पष्ट पार्दछ कि विक्रमसंवत् नेपालमा अनवरत तवरले निरन्तर भएर चलेर आएको संवत् होइन । त्यसकारण विदेशीले जता तिर मोडेर दौडाएको हो उतैतिर मोडिएर दौडेर आएको संवत् भएकोले पनि विक्रमसंवत्लाई नेपालको इतिहासले कहिल्यै आत्मसात् गरेको छैन । त्यसकारण नेपालको इतिहासकोलागि विक्रमसंवत्को कुनै औचित्य छैन भन्ने प्रष्ट देखिएको हो ।
निष्कर्ष
सयौं वर्ष अघि देखि विक्रमसंवत्को नाम भजेर मुक्तकण्ठले तारिफ गर्दै आइरहेको त छ तर विक्रमसंवत्को पहिचान के हो ? किन यसको स्वरुप आकारप्रकार भिन्नभिन्न भएको हो ? इस्वीसंवत् शकसंवत् नेपालसंवत् आदि अरु संवत् छन् उनीहरु सित विक्रमसंवत्को नाता के हो ? सम्बन्ध के हो ? कुनै स्पष्ट संग बताउन सक्तैन भने विक्रमसंवत्को तारिफ मात्र गरेर के अर्थ ? विक्रमसंवत्ले पनि अरुलाई चिन्न नसक्ने र अरुले पनि विक्रमसंवत्लाई नचिन्ने भएपछि त्यसको कुनै औचित्य छैन भनेर बुझ्न जरुरी छ । जसको कुनै हुलिया छैन त्यसतो विक्रमसंवत्लाई आँखा चिम्लेर प्रेम गर्नुको केही अर्थ लाग्दैन । त्यस्तो निरर्थक ढंगले प्रेम गर्दै आउनेहरुबाट न हिजोका दिनमा केही स्पष्ट चित्र तयार पारे, न आज तयार गर्ने प्रयत्न भइरहेको देखियो । भोलिका दिन भन्ने कसैले देखेकै छैन । यसरी अन्धभक्त भएर विक्रमसंवत्को नाम भजेर पुण्य कमाउने चाहना राख्दैमा इतिहासले मानेको ठहर्दैन । अतः व्यक्तिको लागि आवश्यक ठानिए पनि इतिहासको लागि भूत वर्तमान भविष्यबाट अनौचित्य ठहरेको विक्रमसंवत् हामीले त्याग्नै पर्दछ अर्को विकल्प छैन ।