
डा.श्यामसुन्दर राजवंशी
कुनै जलाश्रयमा जतिसुकै धेरै पानी भएपनि जत्रो घडा लिएर गएको हो त्यस भरिमात्र पानी ल्याउन सक्छ त्योभन्दा बढी ल्याउन सक्तैन भन्ने त उखान प्रचलित नै छ । त्यस्तै गरि शास्त्रको भण्डारमा बसेको छ भन्दैमा त्यो भण्डारमा भए जति ज्ञान कसैलेपनि लिन सकेको हुँदैन । हुनसक्छ कसैकसैले एक दुइवटा ग्रन्थ कण्ठस्थ नै पार्न सक्छ तर जतिसुकै धाक लडाएपनि उसको भण्डारमा भए जति सबै ग्रन्थ कण्ठस्थ पार्न सकेको चाहिं बिल्कुलै होइन ।
त्यही भएर आठ दश वटा श्लोक मात्र कण्ठ गर्न सक्नेहरुको अगाडि एकदुई वटा ग्रन्थ नै कण्ठ पार्न सक्नेलाई त प्रकाण्ड पण्डित भनेर मान्नु स्वभाविक हो कुनै आश्चर्य यसमा छैन । त्यस्तै मध्येको केही पण्डितहरुको बोलवाला यहाँ चलीरहेको देखिनु पनि कुनै आश्चर्य मान्नु पर्ने छैन । किनभने कतिपय ठाउँमा त्यसरी पढेर जानेकालाई परेर जानेकाहरुको बुद्धिले मात गरिरहेका हुन्छन् ।
उदाहरण कै रुपमा लिंदा ३६५ मि.लि तेल अट्ने सिसिमा ३६६ मि.लिसम्म अटाइएला तर पढेर घोकेर आएकाहरुले ३९० मि.लि अट्न सक्छ भनेपनि परेर आउनेले पत्याइ हाल्दैन किनकि भाँडो हेरेरै अट्दैन पोख्छ भनी हाल्छ । यसबाट पनि भन्न खोजेको कुरा प्रकारान्तरले बुझी हाल्छ होला । तैपनि यसलाई खुलाएरै भन्नु पर्दा हाम्रो क्यालेण्डर र पञ्चाङ्गमा वर्षमा ३६५ दिन मात्र छ त्यसमा ३९० तिथि अट्छ भनेर त्यस्तै पण्डितहरुले भन्दै आएका हुन् ।
वि.सं २०७९ कार्तिक ५ गते शनिवारको कान्तिपुर दैनिकको कोशेलीमा एक पण्डितले खुलेरै भनेको यस प्रकार छ
“एक चान्द्र वर्षमा मोटामोटी ३६० तिथिगण नै हुन्छन् किनकि १२ चान्द्र महिनालाई ३०ले गुणन गर्दा ३६० आउँछ अनि एक अधिमासका ३० तिथि थप गर्दा ३९० नै त हुने हुन् । अधिमास नभएका वर्ष एक चान्द्रवर्ष पूरा हुन लगभग ३५४ दिन लाग्छ भने अधिमास भएका वर्ष एक चान्द्रवर्ष पूरा हुन लगभग ३८४ दिन लाग्छ ।”
विचरा पण्डितहरुको दिमाग देख्दा दया लागेको छ । त्यस्तै अर्को पण्डितको पनि कुरा सुनी हालौं ।
वि.सं २०७९ कार्तिक ३ गते बिहीवारको कान्तिपुर दैनिकको सम्पादकीय चिट्ठीमा अर्को पण्डितले पनि खुलेरै भनेको यस प्रकार छ
“अधिकमास परेको वर्षमा ३९० तिथि हुने सामान्य नियमलाई वास्ता नगरी केकेन लेखे जस्तो गरी भ्रम फैलाउने काम ”गरेको भनी हाँक र चुनौति दिएको पनि देखियो । यसरी हाँक र चुनौति दिएको देखिएपछि चूपलागेर बस्नु कुनै उचित हुँदैन । यही सम्बन्धमा उहाँहरुमात्र होइन अरु पनि कतिपय पण्डितहरुको दिमागमा जरो गढेर रहेको पनि देखियो कि अधिकमास नपर्ने वर्ष १२ महिनाको १वर्ष हुन्छ भने अधिकमास परेको वर्षमा १३ महिनाको १ वर्ष हुन्छ । तेह्रौं मास नै अधिकमास भन्दै आएकाहरुपनि देखिएको हुँदा यस मामलामा खुलासा गर्नै पर्ने भएर यो लेख तयार गरिएको ।
शास्त्रमात्र घोक्दैमा बुद्धि विकास हुने होइन
हामीसंग भएको घडा भनेकै क्यालेण्डर वा पञ्चाङ्ग पात्रो नै हुन् । त्यसमा केवल ३६५ दिनमात्र छ । ती ३६५ दिन भित्र ३९० तिथि अट्न सक्ने किमार्थ सत्य होइन । प्रायः जसो हरेकको घरघरमा पञ्चाङ्ग पात्रोहरुको संग्रह हुने गर्दछ त्यसमध्ये हाम्रो घरमा पिताजीपनि ज्योतिष विद्या कै विद्यार्थी भएकोले २००१ साल भन्दाअगाडिको छिटपुट मात्रै पात्रो संकलित छन् भने २००१ साल देखि हालसम्मको पञ्चाङ्ग पात्रो अझै छन् । त्यति असी एकासी वर्ष भित्र पनि अधिमासहरु कतिआए कतिगए । तर कुनै एउटा वर्षमा पनि ३९० तिथि अटेको पञ्चाङ्ग भेटिएन । के यसरी हावादारी कुरा गरेर दुनियाँ अलमलाउने काइदा ठीक हो ?के ऐना अगाडि हुँदाहुँदै कुवा खोज्दै हिंड्नु बुद्धिमानी हो त? के इतिहास लेख्ने ठेक्का नै उहाँहरुको हो ? यदि होइन भने अधिकमास परेको वर्षको पञ्चाङ्ग पात्रो मात्र नियालेर हेरे पुग्ने पनि बेवास्ता गरेको प्रष्टै देखियो ।
माथि उदाहरण दिइ नै सकेको छ ३६५ मि.लि तेल अट्ने सिसिमा ३९० मि.लि तेल अट्दैन र बढी भए जनि पोखी हाल्छ भनेझैं ३६५ दिनभन्दा बढी १ दिन वा १ तिथि पनि अर्को वर्षमा सरिहाल्छ । यो कुरा प्रत्यक्ष देख्न शास्त्र घोकेर बस्नेहरुले कुनै चाल नपाएको मात्र हो ।
वि.सं २०७९ असोज २९ गते शनिवारको कान्तिपुर दैनिकको कोशेलीमा प्रकाशित भएको “लिच्छविसंवत्को निर्णयका त्रुटिहरु ” शीर्षकको लेखमा थुप्रै त्रुटि औंल्याइएका हुन् । त्यसमध्ये पहिलो बुंदा नै ३ सय ९० दिन भएको वर्ष ?भन्ने छ । पण्डितले गरेको निर्णयमा शक ५२९ माघशुक्ल त्रयोदशीको तिथिगण भनेर ३४३ देखाइएकोले त्यो गंभिर त्रुटि भनेको हो । माघ शुक्ल त्रयोदशीदेखि चैत्रशुक्ल प्रतिपदासम्म आउन ४७ दिन लाग्छ त्यसैले ३४३ र ४७ जोड्दा त ३९० तिथिगण हुन जान्छ । जुन असंभव हो । दिन भनेको २४ घण्टा हुने हो भने तिथि पनि २४ घण्टा नै हुने कुरा थाहा नभएको मान्छेले दिन र तिथि भनेकै थाहा नभएको श्यामसुन्दर भनेर उल्ली बिल्ली जुन पण्डितले गरियो त्यसमा नाङ्गियो को ?त भन्दा उनै पण्डित नै हो ।
पण्डितहरुले अधिकमास परेको वर्षमा ३९० तिथि नै त हुने हो यो सामान्य नियम हो जुन भनियो । ती पण्डितहरुले स्वयं लिच्छविसंवत्को निर्णयको पृष्ठ २९४ एकचोटी पल्टाएरसम्म पनि हेरेको रहेनछ भन्ने स्पष्ट बुझियो । यदि हेरेको भए शक ५२९ को वर्षमा अधिकमास परेको छ वा छैन देखेको हुनु पर्ने हो । उहाँहरुको पुस्तकको यो पृष्ठमा यो छ भनेर हामीले देखाउनु पर्नेकि उहाँहरु आफैले थाहा पाउनुपर्ने हो ? ताज्जुप त यो पो छ । शक ५२९ र वि.सं ६६४को वर्षमा अधिकमास नै नपर्ने वर्षमा अधिकमास प¥यो भनी दुनियाँलाई ढाँट छल, फट्याईको गणना गरेर देखाउँदैमा दुनियाँ सँधै झुक्किन्छ भनेर ठान्नु पनि बेइमानी नै हो ।
कार्तिकादि मान्दा भन्दै अभिलेखको संवत् नै धकेल्ने होइन
संसारमा शकसंवत् कार्तिकादि भनेर उल्लेख छ भनी कहीं कसैले सिद्ध गर्न सकेको छैन । केवल अड्कल गर्दैमा हुँदैन । लिच्छविकालको अभिलेखमा भएको संवत् कार्तिकादि थियो भनेर सकार्ने त उहाँ पण्डितहरु स्वयं पनि हुन् । लिच्छविकालको अभिलेखमा भएको संवत्लाई शकसंवत् नै हो भन्नेहरु मध्ये उहाँहरु पनि हो । एकातिर शकसंवत् कार्तिकादि भनेर सिद्ध गर्न नसक्ने अर्को तिर कार्तिकादि संवत्लाई शकसंवत् भनेर पनि मान्ने यो कुनै वैज्ञानिक चमत्कार भएको होइन ।
चाँगु नारायणको शिलास्तम्भमा संवत् ३८६ ज्येष्ठ स्पष्ट छ । यही संवत् ३८६ लाई कार्तिकादि मान्ना साथ पण्डितको नजरमा ३८७ ज्येष्ठ भइरहेको देखिनु दृष्टि भ्रम मात्र हो , कुनै वैज्ञानिक चमत्कार भएको होइन । शकसंवत्मा १३५ जोडे विक्रमसंवत् हुन्छ किनभने वि.सं २०३५ सालमा शक १९०० भएको उदाहरण देखाउने को हो ?त भन्दा उहाँ पण्डितहरु नै हुन् । त्यही भएर अभिलेखमा भएको संवत् ३८६ पनि शकसंवत् नै हो भन्ने पनि उहाँहरु स्वयंनै हुन् । त्यही ३८६ लाई विक्रमसंवत् बनाइँदा ३८६ मा १३५ जोडेर फेरि अर्को १ समेत थपेर वि.सं ५२२ हुन्छ भन्नु गणितमा आएको कुनै चमत्कारिक परिवर्तन बिल्कूल होइन । अभिलेखमा संवत् ३८६ ज्येष्ठ दृष्टान्त देख्दादेख्दै पनि ३८६ लाई धकेलेर ३८७ हुन्छ भन्दैमा अभिलेखको संवत् कार्तिकादि ठहरिने बिल्कुल होइन । यसरी संसारमा नभएको रीत अघिसारेर बस्ने आफुहरु अनि अरुको अनुसन्धानलाई संसारमा नभएको बितण्डा भन्ने पण्डितलाई के संज्ञा दिन उपयुक्त हुन्छ भन्ने कुरा पाठकहरुले नै गर्नुहोला । किनभने माथि उल्लेखित कान्तिपुर दैनिकको सम्पादकीय चिट्ठीमा लिच्छविकालमा चलेको संवत् शकसंवत् शुरु हुनु भन्दा १ वर्ष ५ महिना अगाडि शुरु भएको संवत् कल्पना गर्ने काम श्यामसुन्दरबाट भएको हो भनिएको छ ।
कल्पना के हो र यथार्थ के हो ?
माथि उल्लेखित कान्तिपुर दैनिकको सम्पादकीय चिट्ठीमा पूर्णिमा अंक ४४ को हवाला दिएर नेपालसंवत् पनि चैत्रबाट शुरु गरेर फागुनमा टुङ्ग्याएको प्रमाण छापिएको भनेर भनिएको छ । यसरी नेपालसंवत् चैत्रबाट शुरु भएर फागुनमा टुङ्ग्याएको देखिनु कल्पना हो यथार्थ होइन । आफ्नै प्रकाशनमा छापिएको लेखको अर्थ त भित्रसम्म गहिरिएर बुझ्ने प्रयास नगर्ने पण्डितहरुले अरुको लेख गहिरिएर पढेको होला भनेर अनुमानसम्म पनि गर्न सकिन्न । त्यस कारण लिच्छविकालमा चलेको संवत् शकसंवत् शुरु हुनु भन्दा १ वर्ष ५ महिना अगाडि शुरु भएको बारेमा भएका थुप्रै लेखहरु छापिएर बजारमा आइसके तर ती पण्डितहरुको लागि ती सबै बुझ्नेलाई भारी नबुझ्नेलाई हनुमन्त पारी भइरहनु कुनै आश्चर्य चकित मान्ने कुरा छैन ।
अब पूर्णिमा अंक ४४ पल्टाएर पनि हेरौं ।
यसमा वि.सं १७३४ को पात्रो र वि.सं १७३८ को पात्रो दिइएको रहेछ । १७३४को पात्रो चाहिं रामजी तेवारीले प्रकाशित गरेको र १७३८ चाहिं भोलानाथ पौडेलले प्रकाशित गरेको रहेछ । १७३४ को पात्रोमा नेसं ७९७ र ७९८ उल्लेख छ भने १७३८ को पात्रोमा शाके १६०३ र कलिगत ४७८२ भनेर पनि दिइएको छ ।
तब ७९७ चैत्रबाट शुरु गरी नेसं ७९८ को कार्तिक हुँदै फागुनमा टुङ्ग्याइएको छ भन्नुमा नयाँ नौलो केही पनि छैन ।
वि.सं २०३५ मा शक १९०० हुन्छ र २०३५ मा न.ेसं १०९८ हुन्छ भनेको सिद्धान्त अघि सारेको कुरा भन्दा यो कुनै पृथक छैन । वि.सं २०३५ वैशाखमा नेसं १०९८ हुने भएर ९३७ फरक देखिने भयो भने २०३५ को कार्तिकमा नेसं १०९९ हुने भएर ९३६ मात्र फरक देखिने भयो । जुन अहिले पनि त्यही हो ।
त्यस्तै गरी वि.सं १७३४ चैत्रमा नेसं ७९७ र १७३४ कार्तिकमा नेसं ७९८ देखाइयो यसमा के आश्चर्य छ ? आश्चर्य यति मात्र कि त्योबेला विक्रमसंवत् चैत्रादि थियो भने अहिले वैशाखादि त्यति हो । यदि नेपालसंवत् पनि चैत्रादि भएको भए चैत्रमा पनि ७९७ र कार्तिकमा पनि ७९७ नै देखाइएको हुन्थ्यो त्यसो त होइन । खाली मान्छेलाई जसरी हुन्छ दिग्भ्रमति पार्ने र अलमलाउन मात्र खोज्ने सोच बनाएर हुँदैन । पूर्णिमा अंक ४४ भनेको २०३६ सालको चैत्रको अंक हो । यसरी आफनै प्रकाशनमा छापिएको कुरा त २०३६ सालदेखि अहिलेसम्म छेउटुप्पो बुझ्ने प्रयास भएको देखिएन भने अरुको लेख बुझ्ने कहिले ? उदेक लाग्दो कुरा यही छ ।
लिच्छविकालमा चलेको संवत् शकपूर्व २ को हो भन्नु के बितण्डा हो ?
माथि उल्लेखित कान्तिपुर दैनिकको सम्पादकीय चिट्ठीमा श्यामसुन्दरले बितण्डा मच्चाइ आएको आरोप लगाइएको छ । यदि बितण्डा नै हो जस्तो लागेको भए निर्णयका त्रुटि भनेर औंल्याइएका सबै बुंदाको आधिकारिक प्रतिवाद अहिलेसम्म उहाँहरुको संस्थाबाट किन आउन सकेन ?त्यसको जवाफ खोइ त ?
जवाफ देओस् पनि कसरी ? वि.सं २०४६ सालको अन्ततिर गोकर्ण बालुवा गाउँमा भेटिएको अंशुवर्माको संवत् ५३६ को अभिलेख भेटिने बित्तिकै उहाँहरुको संस्थाको ओठ तालु सुकेर नूर गीर्ण थालियो । श्यामसुन्दरको कुरालाई बितण्डा भन्न सक्नेले सर्बप्रथम बालुवा गाउँको संवत् ५३६ को अभिलेखलाई बितण्डा सिद्ध गरेर देखाउने सामथ्र्य राख्न पनि जरुरी हुन्छ ।
संवत् ५३५ को लगन ज्यावहालको अभिलेख पं भगवानलाल इन्द्रजीले उहिल्यै प्रकाशित गरेको थियो त्यो अभिलेखलाई अंशुवर्माको हुनैसक्दैन भनेर आए जस्तै संवत् ५३६ को अभिलेखलाई पनि अंशुवर्माको हुनैसक्दैन भनेर पहिले सिद्धगर्ने ह्याउ पनि हुनुपर्यो । त्यो ह्याउ उहाँहरुसित छैन ।
संवत् ५३५ सम्मको अभिलेखलाई शकसंवत्को मिति भनेर हौवा फैलाएर आउनेहरुले संवत् ५३६ को अभिलेखमा पनि अधिमास उल्लेख भएको देखे पछि अरुले नभए पनि संस्था र संस्थाको शिरोमणिले त आफनो पुस्तकको २९४ पृष्ठ अवश्य पल्टाएर हेरेकै थियो होला । तब उहाँले समेत त्यसबेला चूप लाग्नु सिवाय अरु उपाय देखेन भन्ने त्यो यथार्थ पनि प्रष्टै बुझियो ।
संवत् ५३६ को बालुवा गाउँको एउटा अभिलेख भेटिएकोले संस्थाको त ओठ तालु सुक्न पुग्यो भने पाटन मंगल बजारमा फेरि पनि ५३६ कै अंशुवर्माको अभिलेख भेटिए पछि संस्थाको त आँट र घाँटी पनि सुक्न थालेको प्रष्टै बुझियो ।
यदि यी कुरा बितण्डा मात्र भइदिएको भए लिच्छविकालको इतिहास र मल्लकालको इतिहासको कुरा आउँदा उहाँहरुको बोली बन्द हुनु पर्ने थिएन । त्यही भएर किरातकालको कुरा र शाहकालको कुरा उठेको ठाउँमा मात्र उहाँहरुको बोली ठूलो हुने अरु ठाउँमा बोली सुकेको देखिएकै हो । यसबाट पनि बितण्डा के रहेछ भन्ने कुरा हाउभाउ बुझ्न कुनै गाह्रो नभएको अवस्था स्पष्ट छ ।
निष्कर्ष
ज्ञानको सागरभित्र ज्ञान अथाह मात्रामा भएकोले कति छ कति कसैले अनुमान लगाउन सक्दैन । त्यसैले जो जसको जत्रोजत्रो भाँडा छ त्यसले त्यतिमात्र लिन सक्छ । त्यस कारण लोटा जत्रो भाँडा लिएको मान्छेले गाग्रो जतिको थापेको छु भन्दैमा नाप्ने बेला कति रहेछ भन्ने कुरा स्वतः थाहा भइ हाल्यो ।
त्यसैले अरुलाई होच्याएर बुद्धिदरिद्र, मूर्ख, बितण्डा मच्यायो, पिष्टपेषण ग¥यो ,पामर श्लाघ्य बन्यो ,चर्वितचर्वण ग¥यो जस्ता अनेकअनेक दूर्वचनका संस्कृत शव्द शव्दभण्डारबाट सापटी लिएर प्रयोग गर्न जानेको भरमा इतिहास अझै पनि उहाँहरुको दास भएर बसेको ठान्नु केवल हरुवा गोरुको छेरुवा दाउ जस्तै ठहरिने मात्र हो ।
हिजोको दिनमा त्यस्ता शव्द प्रयोग गरेको देख्दा तेस्रो मान्छेले ठीक भन्यो कि क्या हो भनेर पत्याउँथे होला । अहिले त्यो संभव छैन मान्छेले धेरै कुरा बुझी सके । अहिले पछाडि फर्केर हरेकले आफनो त्रुटिहरु नियालेर सच्याउँदै जाने बेला आइसक्यो भनेर पनि बुझ्न जरुरी छ । केवल यसलाई घम्साघम्सी जस्ता शव्दप्रयोग गरेर तुच्छ ठान्ने कुरा पनि कसैले नगरौं र हरेक कुरामा “अति सर्वत्र वर्जयेत्” भन्ने पनि ख्याल गरौं ।








