डा. श्यामसुन्दर राजवंशी
लिपिविद्
हात्ती पाल्न सक्ने क्षमता भएको व्यक्तिले हात्तीलाई दाना ख्वाउने औकात भएन भनेर कहिल्यै भन्दैन ,यो पत्याउन सकिने कुरा होइन । यदि लुम्बिनी क्षेत्र सम्राट अशोकको अधिनमा रहेको क्षेत्र भएको भए भगवान बुद्ध जन्मेको जस्तो अत्यन्त पावन भूमिमा उनले कर लगाउँदै आएको हो भने आठ भागमा आठै भाग छोडेर कर मुक्त नै गरिदिएको पो हुनसक्थ्यो । त्यसमा सात भाग छोडेर एक भाग मात्र कर लियो होला भनी विश्वास गर्न लायक कुरा होइन । यदि यो विश्वास लायक कुरा हो भने सम्राट अशोक भन्ने व्यक्ति अत्यन्त दरिद्र, कन्जुस , अनुदार हृदय भएका राजा थियो भनेर पुष्टि गर्ने आधार पनि त देखाउन सक्नुपर्ने थियो । त्यो त कतै देखिंदैन । वास्तवमा लुम्बिनीको अशोकस्तम्भमा कर घटाएको उल्लेख त के त्यसको भनकसम्म पनि उल्लेख भएको होइन । उसो भए भएको के त ? भन्ने कुरा उठ्ला , खासमा “उ बलिके कटे” भनेर उ भनेको नञ शव्द, बलि भनेको कर र कटे भनेको कर घटाएको, कति कर घटाइयो? त भन्दा “अठ भागिये च” आठ भाग मध्ये एक भाग लिएर बाँकी सात भाग छोडेको भनेर जुन अर्थ लगाइयो । यो एकदम गलत , कनिकुथि जवरजस्ति र वाहियात अर्थ गरिएको हो भनेर भन्न कुनै असहज लागेको छैन ।
हालसम्म शिलास्तम्भ अवलोकन गर्न लाखौ करोडौं मान्छेहरू लुम्बिनी आए होलान् र सम्राट अशोकको त्यो अभिलेख नजिकबाट हेरिसकेका पनि होलान् । ती मध्ये सबैजनाले लिपि जानेकै हुनु संभव छैन र जसलाई लिपिको ज्ञान छैन उनीहरूले गलत होकि सही थाहा पाउन सकिने भएन तर कतिपय मान्छे लिपि जानेका पनि त छन् । आश्चर्य त यही कि उनीहरुले किन ?गलत अर्थलाई आत्मसात् गर्दै आइ रहे भन्ने नै हो ।
हुनत यो कुरा भरखर उठान भएको विषय होइन किनकि यस बारेमा झकझकाउन विभिन्न पुस्तक तथा जर्नलहरुमा लेख प्रकाशित गराइ सकेको पनि हो तर त्यसलाई कसैले चासोको नजरले हेर्दै हेरिएन । फलतः यो कुरा चर्चाको विषय नै बन्न सकेन । त्यसकारण यो विषयलाई अन्तर्राष्ट्रिय जगतका विद्वानहरुको सामु राख्नु पर्ने जरुरी देखिन आएको छ ताकि यसमा अन्तर्राष्ट्रिय जगतका विद्वानहरूको ध्यानाकर्षण होस् र भइरहेको अर्थ गराईमा सुधार हुनु अपरिहार्य छ भन्ने महसुस हुनसकोस् । अतः यो लेख त्यही पक्षलाई उजागर गर्ने अर्को प्रयास हो ।
हातले तयार गरिएको स्तम्भलेखको लिपिचित्र
हातले तयार गरिएको लिपि चित्रअनुसारको पाठः —
देवान पियने पियदसिन लाजिन वीसतिवसाभिसितेन
अतन आगाच महीयिते हिद बुधे जाते सक्य मुनीति
सिला विगड भीचा कालापित सिलाथभे च उसपापिते
हिद भगवं जातेति लुंमिनि गामे उबलिकेकटे
अठ भागिये च
खिचिएको फोटोबाट स्तम्भलेखको लिपिचित्र
फोटोको आधारमा पढिएको पाठ:—
देवान पियने पियदसिन लाजिन वीसतिवसाभिसितेन
अतन आगाच महीयिते हिद बुधे जाते सक्य मुनीति
सिला विगड भीचा कालापित सिलाथभे च उसपापिते
हिद भगवं जातेति लुंमिनि गामे उब्लिकेकटे
अठ भागियें च
यहाँ देखापर्न आएको मुख्य समस्या भन्नु नै कागजमा हातले बनाएको चित्रलाई आधिकारिक मान्ने कि ढुंगा मैं अङ्कित लिपिको फोटोमा भएको यथार्थलाई आधिकारिक मान्ने भन्ने नै हो । यदि हातले बनाएको चित्र नै आधिकारिक मान्ने हो भने फोटो खिच्दा उ पछिको ब अक्षर अलि सानो र अलि तल उत्कीर्ण हुन जानुको कारण के ? के सम्राट अशोकले अक्षर कुँद्न लगाउँदा नै त्योबेला त्रुटी भएको भन्न सुहाउने कुरा हो? यदि हो भने यो कुरा अहिलेसम्म पुष्टि गर्न किन सकिएन त ?प्रश्न उठ्छ ।
कागजमा हातले कोरेको चित्रमा अगाडिको उ र पछाडिको लि को बीचमा भएको ब कस्तो छ ? र शिलास्तम्भमा पनि उ र लि को बीचमा भएको ब कस्तो छ ? भन्ने कुरा जग जाहेर नै छ । यसमा कसैले चपाएर कुरा गर्दा उस्तै त छन् भन्न खोजिन्छ भने त्यो उसको दृष्टि दोष मात्रै हुन सक्ला अरु होइन । यदि सद्धे आँखाले हेर्दा उस्तै देखिने बिल्कुलै होइनन् । त्यसकारण अहिलेसम्म जुन उबलिकेकटे भनेर पढ्दै, पढाउँदै सिकाउँदै र सिक्दै आएको कुरा बिल्कुल गलत छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्गै छ ।
त्यसकारण लुम्बिनीमा अशोक स्तम्भको पाठको अर्थ भनेर जुन साइन बोर्डमा लेखाइएको अनुवाद छ त्यो यस प्रकार छ जुन गलत हो । जस्तै:
देवताका प्रिय राजा (अशोक) आफ्नो राज्याभिषेकको बीसौं वर्षमा स्वयं यस ठाउँमा आउँदा अव्यवस्थित अवस्थामा रहेको शाक्यमुनी बुद्धको खास जन्म स्थान संकेतक शिलालाई व्यवस्थित बनाए । शिला स्तम्भ पनि स्थापना गरे । भगवान जन्मनु भएको यस लुम्बिनी गाउँलाई आठ भागको एक भाग मात्र भूमिकर तिरे पुग्ने गरी अन्य सबै करहरूबाट मुक्त गरे ।
शिलास्तम्भको संक्षिप्त परिचय
आजभन्दा झण्डै १३० वर्ष अघि लुम्बिनीमा यो स्तम्भलेख भेटिएको थियो । यो अभिलेखलाई स्वदेशी एवं विदेशी विद्वानहरूले अनेक अनेक ढंगले अर्थ गर्दै व्याख्याहरू गर्दै आए ।
इसापूर्व तेश्रो शताब्दीमा मौर्यस्रमाट अशोकले धेरै ठाउँमा यस्ता शिलास्तम्भ खडा गरेर गएका थिए । लुम्बिनी र निग्लीहवामा पाइएका पनि त्यस्तैे शिलास्तम्भ मध्येका उनका लघु अभिलेख हुन् । ती दुबै स्तम्भहरु अहिलेको भुगोलमा नेपालको सरहद भित्रै परेका छन् र भेटिएका ती शिलास्तम्भमा ऐतिहासिक पाना स्वरुप लेखोट पाठ अंङ्कित गरिएका समेत भेटिए । लुम्बिनीमा शिलास्तम्भ भेटिएको केही वर्षपछि जर्मन पुरातत्वविद् ए.फुहररले नेपालको तराइ भू–भागमा पर्ने लुम्बिनी स्थल गई प्राप्त शिलास्तम्भको अध्ययन शुरुगरे । उनले आफ्नो अध्ययनमा त्यो शिलास्तम्भ अशोक शिलास्तम्भ नै हुनुपर्ने अनुमान गरे । उनको त्यो अनुमान मुताबिक छिटै उत्खनन् कार्य शुरु पनि हुन पुग्यो र नतिजामा शिलास्तम्भमा पाँच हरफका लेखोट समेत भेट्टिए । सो लेखोट सौभाग्यबश मौर्य सम्राट अशोक कै पालामा प्रचलित भएको ब्राम्ही लिपिमा रहेको पाइयो । यसप्रकार फुहररको अनुमान पनि त्यतिबेला नै शतप्रतिशत साकार हुन आए ।
हुनतः यसरी शिलालेख भेटिनु मात्रै पनि ठूलो र महान कुरा नहुने रहेछ किनकि त्यो अभिलेखमा अङ्कित लिपिको लिप्यान्तर र अर्थ गराई सटिक भएन भने त्यो अभिलेख प्राप्तिले मात्रै खासै सुखद उपलब्धी दिन सक्दैन रहेछ । त्यसैले जहिलेसम्म प्राप्त अभिलेखको सटिक अर्थ प्रकाशमा आउन पाएको हुँदैन तबसम्म थप अनुसन्धानका श्रृंखलाहरू जारी रही रहने भनेको स्वभाविक नै हो ।
साँच्चै भन्ने हो भने लुम्बिनी शिलास्तम्भमा अङ्कित पाँच हरफीय पाठको पहिलो लिप्यान्तर ए. फुहररबाट भएको होइन । किनकि उनले केवल छापा उतार मात्रै प्रकाशमा ल्याएका थिए । पछि लिपिविज्ञ जर्ज वूलरको सहयोगमा लिप्यान्तर सहितको पाठ प्रकाशमा ल्याएको हो । त्यसपछि विभिन्न स्वदेशी एवं विदेशी लेखक अनुसन्धानकर्ताहरूले पनि त्यो स्तम्भलेखको पाठको सटिक अर्थ पत्ता लगाउने प्रयास व्यापक हुँदै गए । दूर्भाग्य नै भन्नु पर्दछ ती अर्थ सटिक र सन्तोषजनक हालसम्म कुनै पनि देखिएन ।
जर्मन पुरातत्वविद् ए. फुहररकाअनुसार लुम्बिनीस्थित अशोकस्तम्भको पुरा लम्बाई ७.३९१ मिटर(२४ फिट ३ इन्च) जसमा स्तम्भको टुप्पाको गोलाई १.९९० मिटर(६ फिट ६ इन्च ) फेदको गोलाई २.५१४ मिटर(८ फिट३ इन्च) र अभिलेख अंकित भागको गोलाई २.५५९ मिटर((८ फिट ४ इन्च) छ । हाल जमिनदेखि माथि देखिएको भाग १७ फिट २ इन्च र जमिन भन्दा मुनिका नदेखिने भाग १३ फिट ८१÷२ इन्च छ । तद्नुसार अशोकस्तम्भको कूल लम्बाई ३० फिट १०१÷२ इन्च हुन आउँछ । स्तम्भमाथि रहने गरेको घोडा समेतको उचाई अनुमान गरी त्यसको समेत गरी लिइएको अनुमानित नाप चाहीँ ३६ फिट १०१÷२ इन्च हुनुपर्ने बताइएको छ । स्तम्भको पुरा लम्बाई मध्ये २४ फिट १ इन्चको लम्बाईको भागमा मौर्यन पालिस प्रयोग भएको र बाँकी भागमा पालिस विहिन कोरा भाग मात्र रहेको छ । स्तम्भमा अभिलेख अंकित पाठ मौर्यन पालिस भएकै भागमा पर्दछ । प्रकाशित विभिन्न श्रोतहरुका अनुसार उत्खनन्पछि देखापरेका ५ हरफको अभिलेख भएको भागमा फेदको टुप्पा भन्दा ९ फिट ८ इन्च माथि पर्दछ । अभिलेख अंङ्कित गोलाईको भागमा अभिलेख पाठ अङ्कित भागलाई लिपि उतारमा नाप लिंदा ५४ से.मी. लम्बाई र ३९ से.मी. चौडाई नापिएको छ । यसरी यस स्तम्भलेखमा अङ्कित लिपिको लिप्यान्तर र अर्थ लगाउने कार्य पछि अरु स्वदेशी तथा विदशी विद्वानहरूले पनि प्रयास अझै जारी राख्दै आए । लुम्बिनी शिलास्तम्भमा के भनिएको छ भनेर सहजै बुझ्न सकियोस् भनी पंक्ति पंक्तिको अर्थ यहाँ खुलाउने प्रयास गरिएको यस प्रकार छ । जस्तै ः —
पहिलो पंक्ति
“देवान पियेन पियदसिन लाजिन वीसति वसाभिसितेन”यसमा जम्मा २३ वटा अक्षर परेका छन् । यसलाई १ देवान २ पियेन ३ पियदसिन ४ लाजिन ५ वीसति ६ वसाभिसितेन गरी ६ वटा शब्दमा छुट्याएर पढ्न सकिन्छ । देवान शब्दको अर्थ देवताहरुको, पियेन शब्दको अर्थ प्यारो वा प्रिये, पियदसिनको अर्थ प्रियदर्शी यी तीन वटै शब्द सम्राट अशोकको राजकीय उपाधि जनाउने शब्द हुन् । सम्राट अशोकका अन्य अभिलेखहरुमा सम्राट अशोकलाई मगधका राजा एवं प्रियदर्शी उपाधि दिइएकोले पियदसिन शब्द जहाँ जहांँ आउँछ त्यहाँ त्यहाँ सम्राट अशोकको नाम जोड्ने गरिन्छ । लाजिनले राजाको भन्ने अर्थ लाग्ने वीसतिले वीसौं भनेर अर्थ लाग्ने र वसाभिसितेनले राज्याभिषेक भएको वर्ष भनेर अर्थ लाग्दछ । अतः यो हरफको अर्थ देवताहरुको प्रीय (सम्राट अशोक)को राज्याभिषेक भएको वीसौं बर्षमा भनेर अथ्र्याउन सहज भएको छ ।
दोस्रो पंक्ति
“अतन आगाच महीयिते हिदवुधे जाते सक्य मुनीति” यसमा जम्मा २१ वटा अक्षर परेका छन् यसलाई १ अतन २ आगाच ३ महीयिते ४ हिद ५ वुधे ६ जाते ७ सक्य ८ मुनीति गरी आठवटा शब्दमा छुट्याएर पढ्ने गरिन्छ । शब्दार्थको दृष्टिले अतन भन्नाले आफैं भन्ने अर्थ लाग्ने आगाच भन्नाले आएर भन्ने अर्थ लाग्ने महीयिते भन्नाले पूजा दर्शन गरेको भन्ने अर्थ लाग्ने, इध को पर्यायमा हिद प्रयोग भएकोले हिदको अर्थ यहाँ भन्ने वोध हुन आउछ भने बुधे भनेको बुद्ध भगवान र सक्यमुनीतिको अर्थ शाक्यमुनि भनी वोध हुन्छ । यो हरफको अर्थ पनि विभिन्न लेखकहरुको आफ्नै ढंगले प्रस्तुति हुंदै आएका छन् ः
तेस्रो पंक्ति
“सिला विगड भीचा कालापित सिलाथभे च उसपापिते” यसमा पनि जम्मा २१ वटा अक्षर परेका छन् । यसलाई १ सिला २ विगड ३ भीचा ४ कालापित ५ सिलाथभे ६ च ७ उसपापिते गरी सातवटा शब्दमा छुट्याएर पढ्ने गरिन्छ । अगाडिको सिला शब्दको अर्थ पत्थर भनेर सहजै बुझिन्छ । त्यसपछि विगड र भीचाले बुद्धको जन्मशिला स्थापित स्मारक हो । कालापित शब्दले जन्मशिला स्मारकको जीर्णोद्धार गराएको अर्थ खुल्दछ । सिलाथभे च उपपापिते ले शिलास्तम्भ पनि स्थापना गराएको अर्थ लागेको छ । शिलास्तम्भमा सम्राट अशोकले शाक्यमुनि बुद्ध जन्म भएको ठाउँमा आफैं आएर पूजा गरे । त्यो पहिलो कार्य हो । अर्को कार्यमा जन्मशिला स्मारकको जीर्णोद्धार गराएको र तेस्रो कार्यमा जन्मशिला भएको स्थानमा शिलास्तम्भ पनि स्थापना गरे भन्ने व्यहोरा राम्रोसँग खुल्दछ ।
चौथो पंक्ति
“हिद भवगं जातेति लुंमिनि गामे उब्लिकेकटे ”यसमा जम्मा १९ वटा अक्षर छन् । यसलाई १ हिद २ भगवं ३ जातेति ४ लुंमिनि गामे ५ उब्लिके ६ कटे गरी ६ वटा शब्दमा छुट्याएर पढ्ने गरिन्छ ।
हिद बुधे जाते भने पनि हिद भगवं जातेति भनेपनि अर्थ एउटै बताइएको छ । केवल दोस्रो हरफमा शाक्यमुनिलाई वुध भनेर लक्ष्य गरेको छ भने चौथो हरफमा शाक्यमुनि र वुध्द जे भनेपनि भगवान हुन् भन्नका लागि यो वाक्यांश दोह¥याएर उत्कीर्ण गराइयो भन्ने आधार भेटिन्छ ।
साँच्चै भन्नुपर्दा लुम्बिनी स्तम्भलेखको पाँच हरफमध्ये सबभन्दा महत्वपूर्ण हरफ नै यो चौथो हरफ हो । किनकी माथिल्लो तीन हरफमध्ये माथि बुध, शाक्यमुनि उल्लेख आए त्यो भगवान वुद्ध हो । भगवान बुद्ध जन्मेको ठाउँ लुम्बिनी हो । यो लुम्बिनीमा सम्राट अशोक आएर पूजा गरे, जन्मशिला स्मारकको जीर्णोद्धार गरे । त्यो ठाउँमा शिलास्तम्भ पनि खडागरे यी सवै कृतिको उद्देश्य लुम्बिनीमा भगवान वुद्ध जन्म भएको ठाउँ भएर नै हो भन्ने कुरालाई थप जोड दिइएको बुझिन्छ । लुम्बिनीमा सम्राट अशोकले आफ्नो जीवनमा बडो ठूलो निर्णय गरी बुद्ध जन्मस्थललाई बन वृक्षले ढाकिएकोे अवस्थालाई कायम नराखी एउटा खुल्ला ठाउँ बनाएको समेत पनि यही हरफबाट अर्थ खुल्दछ ।
किनभने यो हरफमा माथिल्लो तीन हरफको कुरालाई जोड दिन हिद भगवं जातेति वाक्यांश थपे यो थपेको वाक्यांशलाई अझ सुस्पष्ट पार्न लुंमिनि गामे थपे, लुंमिनि गामे थपेर मात्र पुगेन । यो ठाउँमा बन फडानी पनि गराउन पुगे । यो कुरा पनि थप उल्लेख गरिए । यो कुरा हिद भगवं जातेति र लुंमिनि गामे बीचको फरक दूरी ४.५ से.मी. सामान्यतया माथिल्लो हरफमा जस्तै २.० से.मी. को फरकमा अक्षर कुंँदाइएको भए पनि हुन्थ्यो । त्यो छैन फेरि लुंमिनि गामे र उब्लिके कटे बीचको फरक दूरी त झन ५.५ से.मी. फरक छ । वास्तवमा लिपि सम्बन्धी अध्ययन गर्ने अध्येताहरुले यो विषय माथि पनि ध्यान राख्नु जरुरी छ । जहाँ भगवान वुद्धको जन्म भयो भनियो त्यो ठाउँ लुंमिनि गाउँ हो । जुन भगवान वुद्ध जन्मेको ठाउँ वडो रमणीय शान्त भूमि कायम हुनु पर्दथ्यो । त्यो अवस्था नभएकोले वन फडानी गराई खुल्ला पवित्र स्थल बनाएको कुरा अभिलेखमा समेत जनाएको अर्थ खुल्दछ ।
अन्तिम पंक्ति
“अठ भागियें च” यसमा जम्मा ६ वटा अक्षर मात्र छन् । यसलाई १ अठ, २ भागियें ३ च गरी तीन शब्दमा छुट्याएर पढ्न गरिन्छ ।
लुंमिनि स्तम्भलेखको पाठमा अन्तिम चौथो र पाँचौ हरफ सम्राट अशोकले थप व्यहोरा थपेको वाक्यांश हुन् । किनकि पहिलो तीन हरफबाट रहलपहल कुरा थप गरेको हो किनकि हिद भगवं जातेति भनेर जहाँ भगवानको जन्म भएको थियो भन्ने कथनलाई थप प्रष्ट्याउन र त्यो ठाउँ लुम्बिनी नै हो भन्नका लागि लुंमिनि गामे थपे । त्यस लुम्बिनी गाउँमा पर्ने भगवान बुद्धको जन्म थलोलाई थप पवित्रस्थल बनाउन बन वृक्षले ढाकिएको अवस्थालाई मध्यनजर गरी हेर्दा सम्राट अशोकलाई रमणीय नदेखेपछि वृक्ष फडानी गर्न उब्लिकेकटे भनि बन फडानी गर्न लगाए । कालान्तरमा बन वृक्ष फडानी गराए भनेपछि सिंगै लुम्बिनी गाउँ भरिको बन वृक्ष फडानी गराएको अर्थ लाग्न जाने संभावना हुँदा उब्लिके कटेलाई थप प्रष्ट्याउन अन्तमा अठ भागियें च कुद्नन लगाए । यसले लुम्बिनी गाउँभरिको रुख काट्न लगाएको अर्थ नलागोस् भनी केवल आठ विगाहाको क्षेत्रफल भित्रमा मात्र वन फडानी गराइयो । योे सन्देश सम्प्रेषण गराउन जरुरी भएकोले यो अन्तिम वाक्यांश थप गरेका हुन् । उब्लिके कटे को अर्थ उब्लिके ले बन वृक्षलाई बुझाउँछ र कटेले फडानी कार्य गराएको बुझिन्छ । यसरी लुम्बिनी गाउँमा बन फडानी त गराए मात्र आठ विगाहा क्षेत्र भनेर तोकेकोले नै भागियें शब्द प्रयोग गरियो र भागियेंले जमीनको क्षेत्रफललाई जनाउन खोजेको प्रष्ट हुन्छ । यस अघि भागिये भनेर पढी केवल भागको मात्र अर्थ गरियो । त्यो अर्थ अहिले जायज भन्न सकिने देखिएन भन्ने पनि प्रष्ट हुन्छ ।
हलन्त अक्षरमा विवाद
लुम्बिनी स्तम्भ लेखमा सिलाथभे शब्द आएको छ । त्यस शब्द बीच थ अक्षर छ । यो थ अक्षर औसतमा अन्य अक्षर भन्दा सानो छ । तैपनि यो हलन्त होइन । पाँचौ हरफमा अठ भागियेें च वाक्यांश परेको छ । यसमा अठको ठ पनि सानो छ । तापनि यो पनि हलन्त होइन । किनभने यी दुवै अक्षर दिको लाइनभन्दा तल उत्कीर्ण भइरहेको छैन । केवल उब्लिके शब्दमा ब अक्षर एउटा मात्र दिको लाइन भन्दा तल उत्कीर्ण रहेको हुँदा यसलाई पूर्ण ब पढेर लिप्यान्तर गर्नु गलत ठहरिने हुँदा यो ब हलन्त नै पढ्नु पर्ने हुन्छ ।
फेरी यहाँ उब्लिके कटे लाई कर मिनाहाको अर्थ लगाउने गरी लिप्यान्तर भइरहेको छ । वास्तवमा उब्लिके शब्द सिंगो शब्द हो संक्षेपीकृत शब्द होइन । उ को छुट्टै अर्थ बताउने बलीको छुट्टै अर्थ बताउने र के को छुट्टै अर्थ बताउने तीनवटा शब्दको संक्षिप्त रुप भएर आएको शब्द होइन । तर त्यसरी नै अथ्र्याउने गरी व्याख्याहरु भएर आएको सर्वात्मना गलत हो । यदि त्यसरी अक्षर छुट्याएर पनि पढ्न मिल्ने भएको भए उसपापिते लाई पनि उ स पापि ते गरेर छुट्टाछुट्टै अर्थ गर्नु पर्ने हुन्छ
त्यो चाहिँ किन गरिएन त ? भनेर पनि सवाल उठ्ला , नउठ्ला भन्न सकिन्न । त्यसकारण उब्लिके एउटै शब्द हो , यसलाई टुक्र्याएर अर्थ गर्नु जवरजस्ति हो भन्न सकिन्छ ।
निष्कर्ष:
अध्ययन अनुसन्धान भन्ने विषयमा पूर्ण बिराम कहिल्यै लाग्दैन । त्यस्तै लुम्बिनी शिलास्तम्भमा भएका देशको गौरवसँग जोडिएको अति संवेदनशील विषयलाई त्यति हलुकासँग लिनु हुँदैन जति अहिलेसम्म हलुका ढंगले लिइएको छ । यो विषयमा बारम्बार छलफलहरू भइरहनु पर्दछ । मेरो गोरुको बाह्रै टक्का भन्ने सिद्धान्त यहाँ लागू हुँदैन , त्यो मात्र होइन फलाना धिस्काना भनेर विद्वानको नाम नै किटेर उनी त मूर्धन्य विद्वान हो उनको कुरा नाकले टेकेर भए पनि मान्नै पर्दछ भन्ने खालको मानसिकता पालेर बस्नु पनि हुंदैन । त्यसकारण लुम्बिनी गएर शिलास्तम्भलाई आफ्नै चक्षु र विवेक प्रयोग गरेर नियाल्ने प्रयत्न जसले पनि गर्न सक्छ, कसैलाई यसमा रोकतोक छैन । त्यसरी आफ्नै चक्षु र विवेक प्रयोग गर्दा पनि हातले तयार गरेको पाठ र शिलास्तम्भमा अङ्कित लिपि ठीक दुरुस्तै देख्नेहरू सायद कोही नहोला । जब आफनो चक्षु र विवेक प्रयोग गर्दा त्यहाँ हातले बनाएको चित्रलिपिभन्दा शिलामा फरक नै देख्नु हुन्छ भने त्यसमा गर्दै आएको पाठ र त्यसको अनुवादमा सुधार आवश्यक छ पनि किन नभन्ने ? यदि सुधार आवश्यक भनेर बोध हुन्छ भने सम्बन्धित निकायले त्यहाँ राखिएको साइन बोर्डमा जुन प्रकारको अर्थ लेखेर राखिएको हो त्यसको सट्टा देहाय बमोजिमको अर्थ राखी सुधार गरिएको खण्डमा सुनमाथि सुगन्ध हुने थियो भन्न सकिन्छ । यसको मतलब विद्वानहरु बीच व्यापक छलफल गरीसके पछि मात्र सुधार हुनु पर्दछ भन्ने यो लेखको मूल आसय हो ।
देवताहरुको प्रिय प्रियदर्शी राजा (सम्राट अशोक) ले आफ्नो राज्याभिषेक भएको बीसौं वर्षमा आफैं आएर पूजा दर्शन गरियो जहाँ शाक्यमुनि बुद्धको जन्म भएको हो सो (स्थानमा) शिलाबाट निर्मित जन्मस्मारकको जीण्र्णोध्दार गराई शिलास्तम्भ पनि स्थापना गरियो । जहाँ भगवानको जन्म भएको हो यो ठाउँ लुम्बिनी गाउँ हो यहाँको आठ भूमि क्षेत्रफल( अहिलेको विघा भने जस्तै) भूमि परिधि भित्र मात्र वन फडानी गराइयो ।