काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले मंसिर ७ गते सडकमा पनि शक्ति प्रदर्शन गर्न लागेको छ । एक लाख मानिस सडकमा उतारेर ‘जागरण सभा’ गर्न लागेको एमालेले जनाएको छ ।
ठाउँ सानो हुने आकलन गर्दै एमालेले कार्यक्रम स्थलसमेत परिवर्तन गरेको जनाएको छ ।
भृकुटीमण्डमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा हुने कार्यक्रमका संयोजकसमेत रहेका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईले बताए । जनसहभागिता बढ्ने भएकाले फराकिलो ठाउँ रोजेको भनाइ उनको छ ।
जागरण सभाका प्रमुख वक्ता पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हुने उनले जानकारुी दिए ।
“एमालेले नै गरिसकेपछि ठूलो जनसंख्या उतानुपर्यो । तीन जिल्ला र सम्पर्क कमिटीको पनि उपस्थिति हुने भएकाले एक लाख उतार्ने आकलन गरेको हो,” उनले भने, “त्यहाँभन्दा कम होला तर उल्लेख्य सहभागितासहितको सभा हुनेछ ।”
भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । साढे ११ बजे जुलुुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने भट्टराईले बताए ।
मुलुकमा विभिन्न ढंगले सत्तारुढ दलमाथि टिकाटिपप्णी हुँदा सोही दल सडकमा आउँदा अराजकता हुँदैन् ? भन्ने जिज्ञासामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्नका लागि जागरण सभा गर्न लागिएको बताए ।
“अराजकता, राजनीतिक विद्वेष, निराशाका विरूद्ध हो,” “अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैनन् । यदि अराजकतालाई प्रसय दिइरह्यो र अराजकतालाई निर्वाध चल्न दिइरहने हो भने त्यसको मूल्य लोकतन्त्रले चुकाउनुपर्छ । त्यसले लोकतन्त्रप्रति वितृष्णा जगाउँछ,” ज्ञवालीले बताए ।
एमालेले उपनिर्वाचन लक्षित गरेर मंसिर ७ को कार्यक्रम आयोजना गरिएको भट्टराईले बताए ।