काठमाडौं । अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौला तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौलाकी माता मनमाया सिटौलाको श्रद्धाञ्जली सभा एवम् कवि कविन्द्र सिटौलाको ‘मेरो देश प्रेमको देश’ अभियानको बारेमा एक कार्यक्रमको आयोजना गरियो ।
काठमाडौंमा आयोजना गरिएको सो शोकसभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ कथाकार पुष्कर लोहनी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाई तथा खगेन्द्र सिटौलाले मनमाया सिटौलाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको व्यक्तित्वका बारे बोल्नु भएको थियो ।
दिवङ्गत मनमाया सिटौला स्रष्टा हुनुका साथै लोकगायिका समेत हुन् । ‘मैले बिताएको युग’ मनमाया सिटौलाको आत्मवृतान्त कृति प्रकाशित रहेको छ । मनमाया सिटौलाको गत २०८२ मङ्सिर २९ गते ९६ वर्षको उमेरमा काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा निधन भएको थियो ।
शोक सभा कार्यक्रममा मनमाया सिटौलाप्रति श्रद्धाञ्जली प्रकट गरिएका कविताहरू वाचन गर्नेहरूमा मनमाया सिटौलाका छोरा कविन्द्र सिटौला, छोरी राधिका सिटौला दाहाल, कवि एवं आख्यानकारहरु हिरण्यकुमारी पाठक र सीता पाण्डे, अनेसास केन्द्रीय सदस्य सुमन वर्षा, अनेसास नेपाल च्याटरकी सदस्य द्वारिका कुइँकेल रहनु भएको थियो ।
अनेनास नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले कार्यक्रमको उदेश्यमा प्रकाश पार्दै आफ्नै शब्द, स्वर र सङ्गीत रहेको ‘आमा’ शीर्षकको गीत गाउनु भएको थियो ।
वि. सं. २०४६ को जनआन्दोलन पश्चात् अमेरिका छिरेका कविन्द्र सिटौलाले आमा मनमायाले गाउनु भएको संगीनी गीत र लोकभाका गीतको रेकर्ड सुनाउनु भयो । अनेसास नेपाल च्याप्टरद्वारा आयोजित सोही कार्यक्रममा युवा गायक एवं संगीतकार नरहरि प्रेमीले पनि ‘आमा’ बोलको गीत गाउनु भएको थियो । अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहजीकर उपाध्यक्ष मन्जिला अनिलले गर्नु भएको थियो ।