
रौतहट । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् ।
शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत गरेका थिए । कार्यक्रममा फतुवा विजयपुरका नगरप्रमुख प्रत्याशी विजय यादव निर्विजलगायतका स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।
दाइजोविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी उपसभामुख ठाकुरले दहेजमुक्त विवाह सामाजिक परिवर्तनको महत्वपूर्ण आधार बन्न सक्ने बताउँदै यस्ता अभियानलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले समाजमा विद्यमान कुरीति अन्त्यका लागि युवापुस्ता र अभिभावक दुवैको सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गरिन् ।
मधेश प्रदेशमा दाइजो प्रथा अझै पनि चुनौतीका रूपमा रहेको छ । कानुनी रूपमा निषेध गरिए पनि विवाहका अवसरमा हुने आर्थिक लेनदेन र सामाजिक दबाबका कारण यो प्रथा पूर्ण रूपमा अन्त्य हुन सकेको छैन्। यसले विशेषगरी विपन्न परिवारलाई थप मारमा पार्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
यही सन्दर्भमा उच्च राजनीतिक नेतृत्वको दाइजोमुक्त विवाहमा सहभागितालाई सामाजिक सन्देशका रूपमा हेरिएको छ । स्थानीयवासीका अनुसार उपसभामुख ठाकुरको उपस्थितिले दाइजोविरुद्धको अभियानलाई थप ऊर्जा दिएको छ भने युवापुस्तालाई सकारात्मक प्रेरणा समेत मिलेको छ ।
आयोजक पक्षले विवाहलाई दाइजोरहित र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा सम्पन्न गरिएको जनाएको छ ।
