
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेताहरूमाथि लक्षित निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन् । सोमबार पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओेलीले भनेका छन्, “वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ । विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।”
धिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा पौडेलकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको ओलीको आरोप छ ।
सार्वजनिक पदधारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको पनि उनले उल्लेख गरेका छन् ।
“सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,” ओलीले भनेका छन् ।
सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापविरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन ओलीले आह्वान गरेका छन् ।

उपाध्यक्ष पौडेल हिजो सुर्खेतको कार्यक्रम सकेर काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो ।


