काठमाडौं । काठमाडौंकोआसन्न उपनिर्वाचनका निम्ति कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति जसपा नेपालका तर्फबाट तेस्रोलिंगी दीपक महर्जन (हनी)ले उम्मेदबारी दर्ता गराएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।
आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमानुसार, मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदबारीको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ । मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । मंसिर ५ गते नै दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम छ ।