काठमाडौँ । आज साउन १ गते अर्थात साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका कारण थाकेका किसान हिलो मैलो पखाली रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्नुलाई लुतो फाल्ने भनेर परम्परादेखि मानिदै आएको छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, सङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।
यसैगरी आजदेखि साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । हरेक सोमबार ब्रत बसेर भगवान शिबको भक्ति गर्ने चलन पनि रहि आएको छ । आजदेखि साउन बार्ने भनेर माछा मासु खानेहरुले पनि साउन भरी खाँदैनन् ।
आजबाट बर्षका चाडपर्वहरु प्रारम्भ भएको मानिन्छ । महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् ।