ये सत्वा: सर्वभुतेषु मातृरुपेण सस्थिता:
आज नेपालीमा मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने वा आमा खुवाउने औंसी मनाइँदैछ । जन्माएर, हुर्काएर आमाले लगाएको गुणको स्मृति स्वरुप आजको दिनमा छोराछोरीले आमालाई मनपर्ने मेवा मिष्ठान्न खुवाउने, नयाँ कपडा तथा शृंगारका सामान उपहार दिने र दु:ख सुखका कुरा सुन्ने चलन छ । यसैका लागि भनेर टाढा टाढादेखि पनि छोरीचेली माइती पुग्छन् ।
यो एकदिनको पर्वले खासमा सधैंभरि मातृ गुणको स्मृति गर्न र सोही अनुसार व्यवहार गर्न सिकाएको हो । सम्भवतः संसारमै उक्त सिकाइको उच्चतम् परिपालन भने महायान बौद्ध धर्म अन्तरगत आर्य मैत्रेयनाथबाट आर्य असंग हुँदै आएको मातृ गुणानुस्मृतिको अभ्यास नै होला ।
यसमा भगवान गौतम बुद्धले बोधी लाभ गर्नुअघिका प्रहरमा गर्नुभएको आफ्ना अनन्त पूर्व जन्महरुको स्मृतिलाई आधार लिन सकिन्छ । यस आधारमा हेर्दा आज यहाँ जन्मिएको कोही पनि व्यक्ति यसअघि अनेकन जन्ममा अनेक सत्त्व (प्राणी) भएर जन्मिसकेको छ । जन्मका लागि उपपदुक (स्वत: प्रकट हुने) र स्वेदज (पसिनाबाट उत्पन्न हुने) जन्म बाहेकका बच्चा वा अण्डाका रुपमा हुने जन्मका लागि त आमा चाहिन्छ नै ।
यदि आमा छिन् भने जन्माउन, हुर्काउन र आफू जिवित रहँदासम्म सन्तानको सुखको कामना र दु:खमा सन्तापको कष्ट त उठाएकै छिन् ।
त्यो पनि यदि मानव आमा हुन भने आफ्नो सन्तानलाई उच्चतम् सुरक्षा र स्याहार गरेकी होलिन् भने यदि एउटी बाख्री रहिछिन् भने आफ्नै अगाडी आफ्नो सन्तान काटिन लाग्दा जोगाउन नसक्नुको पीडा पनि बोकेकी होलिन् । भँगेरी रहिछिन् भने कागले आफ्नो अण्डा वा बचेरा खाएको हेर्नुको विकल्प नपाएकी होलिन् । परेवी रहिछिन् भने आफ्ना सन्तान खान आउने बिरालोसँग लड्दा लड्दै ज्यान गुमाएकी होलिन् ।
यस्ता गुण त हरेक जन्मका अनेक आमाले कति लगाएका होलान् कति । र ‘यस्ता गुणी तर अज्ञानको वशमा रहेका आमालाई यही जन्म र मृत्युको भवचक्रमा छोडेर आफू मात्रै मुक्त हुनु उचित हो त ?’ भन्ने प्रश्नसँगै आर्य मैत्रेयनाथको परम्पराको मातृ गुणानुस्मृतिको अभ्यास गरिन्छ ।
जसमा हरेक पटकको अभ्यासमा ‘षड् गति (देव, असुर, मनुष्य, पशु, प्रेत र नरक)मा घुमिरहेका मेरा अनन्त जन्मका आमाहरुलाई बुद्धतामा पुर्याउने सामर्थ्य बुद्ध बाहेक अरु कसैको हुँदैन । त्यसैले उहाँहरुलाई बुद्धतामा पुर्याउनकै लागि म बुद्ध बनूँ !’ भन्ने प्रणिधान गरिन्छ ।
कम्तिमा दिनको एक पटक मात्रै पनि यो अभ्यास गर्ने व्यक्तिमा बिस्तारै आफ्नी अहिलेकी आमा प्रति श्रद्धा, माया, मैत्री आउनुका साथै अरुका आमा र अरु प्राणीका आमाहरुप्रति पनि अथाह मैत्री, करुणा जाग्छ ।








