
काठमाडौं । मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमाजानकारी गराएका हुन् ।
उनले यसअघि वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीहरूका लागि पनि उपचार सेवा थप गरिएको जानकारी दिए ।
उनले कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार ७६७ रोजगारदाता र पाँच लाख ४३ हजार ३८८ श्रमिक आवद्ध भएको जानकारी गराए । हालसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताए ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका १२ लाख ५३ हजार ६१५ जना कोषमा आबद्ध भएका छन् । अनौपचारिक क्षेत्रका ३०७, स्वरोजगार २२७ जना कोषका आबद्ध भएको कोषको तथ्यांकमा उल्लेख छ ।सरकारले २०७५ मंसिर ११ गतेदेखि कोषका औपचारिक सुरुवात गरेको हो । मंगलबार कोषले आफ्नो स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।






