
रोचक रचना
निश्चय नै नेपाली साहित्यमा स्थापित भएर,साहित्य सृजना मात्र नभै नेपाली साहित्यिक पत्रकारितामा अनवरत जीवनका लामा समयहरु ब्यतित गर्ने विरलै छन् । वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे त्यहि विरलै नाम मध्येको एक हो । नेपाली भाषा,साहित्य र साहित्यिक पत्रकारिताका उनी पर्याय हुन् । अनि उनीसँगै जोडिएको नाम हो रचना । वि.सं.२०१८ सालदेखि प्रकाशन आरम्भ गरेको रचनाले छ दशक पार गरिसकेको छ । यति लामो समय ब्यतित गर्ने कर्मयोगी रोचक घिमिरेको आदर्शमय साहित्यिक पत्रकारिता जसले जिउँदो इतिहास रचेको छ त्यस्ता ब्यक्तित्वको बारेमा विभिन्न समयमा उनीसँग सहयात्रा गरेका,सम्पर्कमा रहेका,उनलाई बुझेका विभिन्न साहित्यिक व्यक्तित्वहरुले लेखेका संस्मरण,अनुभुति,रोचकको व्यक्तित्वको चर्चा परिचर्चा,उनको कृतित्व र रचनाको चर्चा लगायत रोचक घिमिरेको जीवनी,उनीसँग सम्बन्धित महत्वपूर्ण कुराहरु,उनीसँग रहेका ऐतिहासिक तस्वीर र विविध दस्तावेजहरु समेटेर रोचक रचना प्रकाशित भएको देखिन्छ ।
यस सँग्रहमा रोचक रचना लेख खण्ड,रोचक रचना कविता खण्ड, रोचक रचना कृति चर्चा खण्ड,रोचक रचना मित्र खण्ड आदिमा विभाजन गरेर विभिन्न साहित्यिक एवं पत्रकार लगायतका व्यक्तित्वहरुबाट रोचक घिमिरेका बारेमा लेखिएका रचनाहरु समावेश गरिएको छ । यसमा रोचक रचना सिर्जना खण्डमा उनका केही लेख रचना राखिएका छन् । यसमा रोचक रचना परिशिष्ट खण्डमा घिमिरेसँग सम्बद्ध महत्वपूर्ण चिठीपत्रहरु,तस्वीरहरु र उनका व्यक्तिगत विवरणहरु समावेश गरिएको छ ।
कूल ८ सय छब्बिस पृष्ठको रोचक रचना रोचक घिमिरे अभिनन्दन ग्रन्थ हो । हालै उनको ८४ औं जन्मोत्सवको उपलक्ष्यमा प्रस्तुत ग्रन्थ सार्वजनिक भएको हो । यस ग्रन्थमा १४९ जना स्रष्टाहरुका रोचक घिमिरेसँग सम्बन्धित लेखहरु समावेश गरिएको छ । शेषराज सिवाकोटीले सम्पादन गरेको यो रोचक रचना ग्रन्थलाई नेपाल स्रष्टा समाजले प्रकाशन गरेको हो ।
प्रस्तुत ग्रन्थ सँग्रहणिय छ ।
निर्झरी
निर्मला बराल बालकथाकार हुन् । उनका यसअघि पाँच वटा बालकथासँग्रह निस्किएका छन् । यसपटक उनी निर्झरी लघुकथासँग्रह लिएर नेपाली साहित्यमा झुल्केकी छिन् । सानो आकार ,विषय र आयाममा केन्द्रित लघुकथा लेख्नु चूनौतिपूर्ण छ । यहि चूनौतिमा उनी अहिले निर्झरी मार्फत उभिएकी छिन् । कृतिमा विषयगत विविधताका ५२ थान लघुकथा समावेश छन् ।
उनको कथालेखनशैली,कथामा विषयवस्तु चयन गर्ने तरिका र प्रस्तुतिकरण राम्रो छ । कथाहरु स्तरीय लाग्छन् । प्रायजसो कथाले आशावादी बनाउँछन् । मानिसमा आँट र हिम्मत भर्छन् । यसैले भन्न सकिन्छ कथाहरुले समाजलाई सहिदिशावोध गर्न प्रोत्साहित गर्छन् । लघुकथामा हाम्रो समाज,राजनीति,धर्म,मानवता जस्ता विषयहरुले स्थान पाएका छन् । लघुकथाको विषयको उठान,उत्कर्ष र निष्कर्ष बिच तारतम्यता मिलेको छ । हेर्दा लाग्छ लघुकथाको ढाँचा र सिद्धान्तलाई आत्मसात गरेर लघुकथाहरु सिर्जना भएको छ ।
निर्झरी लाई डा.निरज बराल र धिरज बरालले प्रकाशनमा ल्याएका हुन् ।
विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध
सुमति वज्राचार्यद्धारा लेखिएको वज्रयानको अनुसन्धानमा उपयोगी पुस्तक हो यो । पञ्चबुद्ध दर्शन र त्यससँग गाँसिएका थाँका,पौभा,मूर्ति,चैत्य,मुद्रा तथा ध्यान सम्बन्धी विभिन्न देवदेवीहरुको उद्देश्य र रितिस्थिति जात्रासँग गाँसिएका धर्म संस्कृतिको बारेमा जानकारी दिने नेपाली भाषाका पर्याप्त पुस्तकको अभाव भैरहेको वर्तमान अवस्थामा यो कृतिले धेरै सघाउ पुर्याउन सक्छ । झनै विश्वविद्यालयस्तरमा वज्रयानतन्त्रको पढाइ सुरु भएको सन्दर्भमा त यो कृतिको महत्व ज्यादै छ । यस विषयमा नेपाली भाषामा यस किसिमको विशद रुपमा पञ्चबुद्धसंग सम्बन्धित पुस्तकहरु नभएको अवस्थामा यसले महत्वपूर्ण सघाउ अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पुर्याउनसक्छ ।
पञ्चबुद्ध एक वृहद विषय हो । वर्तमान समयमा बौद्ध दर्शनको अध्ययन गर्नेहरुको सँख्यामा अत्याधिक वृद्धि भएको छ तर नेपाली भाषामा उल्था गर्नेहरुको सँख्या नगन्य छन् । यसैले बुद्धधर्मको मेरुदण्ड मानिने पञ्चबुद्धको बारेमा कृति उल्लेख्य छ ।
पञ्चबुद्धको बारेमा जानकारी लिन चाहाने जिज्ञासु,कलेजका विद्यार्थी,बुद्ध धर्माबलम्बी,पर्यटन व्यवसायी,अध्यापक सवै क्षेत्रका मानिसहरु जसलाई पञ्चबुद्धको बारेमा जान्न मन छ उनीहरुको निम्ति अत्यन्तै उपयोगी कृति हो विशुघ पञ्चस्कन्ध नै पञ्चबुद्ध । झनै वज्रयान को अनुसन्धानमा लाग्ने अध्येताहरु र विश्वविद्यालयमा वज्रयान तन्त्र पढ्ने विद्यार्थीहरुको लागि त यो पुस्तक महत्वपूर्ण र संग्रहनिय छ ।
विशुद्ध पञ्चबुद्ध नै पञ्चबुद्ध कृतिलाई खवर मिडिया प्रा.लि.ले बजारमा ल्याएको हो ।








