कविता
सत्ताको स्वाद
दिनेश राज खरेल
सत्ता र शक्ति यस्तो हो,
जिब्रोमा टाँसिरहदा मीठो लाग्छ
गुन्द्रुकको झोल जस्तो होइन
महंगो मदिराको चुस्कि जस्तो
जसले शरिरको नशा-नशामा तरंग पैदा गर्छ।
म जनताले सेवक हुँ,
तिम्रो भाषणाको श्रब्यदृष्य ताजै छ- सामाजिक संजालमा
तर कुर्शिमा बस्ने वित्तिकै,
तिम्रा शब्दहरु बदलिन्छन-थेगिरहेका छौ परम्परा ।
सत्ता अचम्मको हुँदो रहेछ ।
जब सेवक मालिक बन्न थाल्छ ,
त्यसको भोक मेटिदैन्,
बरु चर्किदै जान्छ-तृष्णाको ज्वारभाटा।
सडकमा अन्यायका खाल्डा देख्ने आँखाहरु
सत्ताको सिंहासनबाट,
पीडित र पीडकलाई समान देख्न थाल्छ ।
न्यायका कुरा गर्न ओठहरू,
शहिदको नाममा मौन धारण गर्छन्।
औला ठड्याउने हातहरु-लक्न थाल्छन खल्ती भित्र,
आँखाले जनताको आँशु होइन ,
आफ्नै सत्ताको चमक हेर्न व्यस्त हुन्छन् ।
सत्ताको ऐना प्रतिविम्ब हो ,
जहाँ शासक असली अनुहार देखाउन डराउँछ।
तसर्थ ऊ ऐनामा धुलो थुपार्छ,
आफ्नै आँखामा धुलो पर्दा पनि
पानीले नपखाली,आफैलाई देख्न छोड्छ।
तर सम्झ,
सत्ता वा शक्ति, यसको स्वाद सबै रहँदैन,
समयको जिब्रोले ,
सख्खरको मिठाईलाई पनि तितो बनाईदिन्छ ।
अधुरो सपनाको नाटक नसकिदै,
सत्ताको स्वाद भने स्मृतिमा पुग्छ ।
कुर्शि खालि भएको दिन ,
फागुन २१ दोहोरिएको दिन
उ ! हेर त
सत्ता सामान्य नागरिक कै सडकमा हिडिरहेछ ।