बलि शब्द सुन्दा हाम्रो मानसपटलमा झ्वाट रगत बगिरहेको,प्राणी लडिरहेको दृश्य तथा चित्र सरर तरङ्गित हुन थाल्छ । तर हाम्रो धर्ममा बलि शब्दले प्राणी बलिलाई मात्र बुझाउँदैन । तसर्थ बलि शब्दको वास्तविक अर्थ निक्यौल गर्न सुप्रसिद्ध शब्द कोष अमरकोषलाई पल्टाई हेरौ र यसकै आधारमा आधारभूत अर्थ पहिल्याउँनु युक्तिसंगत हुने छ ।
अमरकोष नानार्थ वर्गमा ‘करोपहारयोः पुंसि बलि प्राण्यङ्गे स्त्रियाम् * करो राजग्राह्य उपहार, पूजासामाग्री, प्राण्याङ्ग, गजस्त्वकसंकोच’ भनी बलिको शब्दको अर्थ दिइएकोछ । यसको नेपाली अर्थ हो – राजा वा (राष्ट्रलाई ) तिर्ने कर वा उपहारलाई बलि भनिन्छ भने पूजा गर्नलाई चाहिने पूजा सामाग्रीलाई र हात्तिको छाला जस्तो चाउरी परी मुजा – मुजा परेकोलाई पनि बलि भनिन्छ भन्ने अर्थ स्पष्ट हुन आउँछ । मेरो बा दि. पं. दिव्यवज्रले यो कुरा दि.पं. रत्नकाजी वज्राचार्यले सम्पादन गरेको ‘ये देया बौद्ध पूजाया हलं ज्वलं’ भन्ने पुस्तकको भूमिकामा महायानी / वज्रयानी बौद्धहरूले गरिआएका बलि सम्बन्धी भ्रम निवारणार्थ यो बुद्धोक्त पञ्चबलिबारे स्पष्ट गर्न दिइएका कुराहरू यहाँ प्रस्तुत गरिएका हुन् ।
बुद्धकालीन गृहस्थी प्रथम भागमा अंगुत्तर निकायको पत्तकम्म सूत्रमा बुद्ध भगवान्ले गृहस्थीहरूलाई कसलाई पूजा गर्ने कसरी गर्ने बारे बुझाउन नै विशेष गरेर पञ्चबलिको उपदेश दिनुभएको हो । भगवान् भन्नुहुन्छ- “आफ्नो उत्थान बल वीर्य ( मेहेनत ) द्वारा उपार्जन (कमाएका) भोग सम्पत्तिद्वारा पञ्चबलि अर्थात पाँच प्रकारको बलि दिनुपर्छ र आफूले पनि परिभोग गर्नुपर्छ । बुद्ध भगवान्ले उपदेशित ती पञ्चबलिहरू यस प्रकार छन्,
१. ज्ञाति बलि बलि मध्ये सर्वप्रथम दिनुपर्ने बलि भनेको गृहस्थहरूले आफ्ना सहोदर दाजुभाई तथा आफ्ना गोत्रहरूको सेवा गर्नु अर्थात् बेला बखतमा दाजुभाई दिदीबहिनी बोलाई भोजन गराउनु आदि कार्यलाई ज्ञाति बलि भनिन्छ । जुन हामी नेवारहरूले हरेक ठूलठूलो चाडबाडको भोलिपल्ट नखट्या भनी आफ्ना दाजुभाई दिदी बहिनी, भदाभदै, भान्जा भान्जी आदिलाई बोलाइ ख्वाउने प्रचलन अद्यापि गरिरहेकै छन् । यो नेवार संस्कृति बुद्धोपदेश अनुरूप चलिआएको मान्नु उपयुक्त देखिन्छ ।
–
२. अतिथि बलि सत्कार गर्नुलाई अतिथि बलि भनिन्छ । जुन हामी ‘अतिथि देवो भव’ भन्ने आफ्ना इष्टमित्र, हितैषी साथीभाईलाई पाहुना स्वागत आदर्श अनुसार पनि अद्यापी पाहुनालाई मानसम्मान गरिआएका छौं । बुद्धोपदेश अनुसार नै अतिथि बलिको अनुशरण गरिआएका छौं ।
३. पूर्वप्रेत बलि – दिवंगत पितृहरूको पुण्य अनुमोदना गरी प्रतिवर्ष श्राद्ध गर्नुलाई पूर्वप्रेत बलि भनिन्छ भनी भिक्षुहरूले गृहस्थहरूलाई अनुशरण गराई आएका छन् । तर वज्रयानी गुरूहरूले गृहस्थहरूलाई प्रति वर्ष पितृको सुखावती कामना गराई जौउको पिण्ड बनाई अर्पण गराईआएका छन् । अतः बुद्ध भगवान्ले गृहस्थिहरूलाई प्रेत बलि ( पितृ श्राद्ध) गर्न छोड्नु हुँदैन भन्ने संकेत गरेको छ । जस अनुसार गृहस्थि बौद्धहरूले श्राद्ध कार्य (प्रेत बलि) को संस्कृति अद्यापि गरिआएकै छन् । यस्ता क्रियाकलापले पुर्वजहरू प्रतिको आस्था बढ्छ, यस्ले आफ्ना सन्ततिमा पनि राम्रो प्रभाव पर्छ । बाबुआमालाई सम्मान गर्नुपर्छ, कदर गर्नुपर्छ भन्ने संचेतना पलाउँछ । हामी नेपालीको विशेषता नै यही हो । अरू मुलुकहरूमा यस्ता संस्कृति देखिँदैन, पाइँदैन । ४. राजबलि राजा वा राष्ट्रलाई तिरिने कर (ट्याक्स) लाई राजबल भनिन्छ । जुन कुरा हामी नेपालीले गरि आइरहेका नै छन् । विश्वका कुनै देशपनि बिना करले सञ्चालन हुन सक्दैन । यो सर्वविदितै कुरा हो । ५. देव बलि – देव देवीलाई पूजासामाग्रीद्वारा पूजा गर्नुलाई देव बलि भनिन्छ । महायान /वज्रयानको पूजाविधि ‘गुरुमण्डल समाधिमा’ सबभन्दा पहिले गुरू वजसत्वलाई चामल, फूल र पानी हातमा लिइ आत्मनिर्यातन ( आत्मभाव अर्पण) गराइन्छ । त्यसपछि क्रमश दिग विदिगका देवदेवी, इन्द्रादि देवता, ग्रह नक्षत्र एवं लोकपाल देवतालाई पनि बलि दिने भनी अक्षता, फुल र जल हातमा लिई तर्पण दिने गरिन्छ ।
अतः बुद्धधर्म चाहे स्थविरवाद होस या महायान / वज्रयान प्राणीको रगत बगाई दिने बलिको कुनै गुञ्जाइस छैन भन्ने कुरो बुझ्नु अत्यन्त आवश्यक छ । बुद्धकालीन पञ्चबलिका कुरा नबुझिकन कालो भटमास मूला, उखु, फर्सी, कुभिदोलाई पाँच प्राणीको प्रतीकका रूपमा पञ्चबलि चढाइन्छ भनेर सोच्नु अत्यन्त गलत मान्नुपर्छ । यहाँनिर एउटा कुरा के अवश्य सम्झनुपर्छ भने हामी नेवार बौद्धहरूले मोहनिःशेष गरी त्याग गर्ने दिन महानवमीका दिन भने अहंकाररूपी रावणको टाउकोको प्रतीक सम्झी कुभिन्दोमा अनुहार लेखी नवमीका दिन स्थापना गर्ने र त्यस्तै उखु मूलाका सिंगसिंगै बोटहरू पनि स्थापना गरी दशमीका दिन राग, द्वेष, मोहका प्रतीक ती वस्तुहरूलाई प्रज्ञारूपी खड्गले काटें, अन्त गरें भनी काट्ने प्रचलन चाहि अद्यापि चलिआएका छन् । तर यस प्रकृयामा प्रतिकात्मक प्राणी हत्या गरेँ भन्ने कुनै किसिमको मानसिकता रहेको हुँदैनन् । केबल राग, द्वेष, मोहलाई दबाएँ, काटँ भन्ने भावना मात्र गरेका हुन्छन् ।
मोहनिको बेला नमिलेका दाजु भाइ, दिदी बहिनीहरू पनि राग, द्वेष, मोह छोडी आफू भन्दा ठूलाबाट टीका थापी मिल्न आउने प्रचलन अद्यापि नेवार समुदायमा चलि आएको छ । त्यतिमात्र होइन, महाअष्टमीका दिन कुछी भ्वय् भनी आफ्ना घरका बुढापाका देखि लिएर क्रमश बसि भोजन गर्ने प्रचलन पनि छ । यो कुछी भ्वय्को भोलिपल्ट महानवमीको दिनलाई स्याक्व त्याक्व भन्ने विशेष प्रचलन छ । परिवारका सबैजना मिलेर कुलछी (कुछी) भ्वय् खाई रिस राग आदिलाई जति दमन गर्न सक्यो, मार्न सक्यो त्यति नै हाम्रो जित हुन्छ भन्ने सन्देश दिन महानवमीको पवित्र दिनलाई स्याक्व त्याक्व भन्ने नाम राखेको हुनुपर्छ । मोहनीको यो संस्कृतिले मेलमिलापको लागि मोहनिःशे गर्ने ज्ञान दिन्छ । वास्तवमा नेवार बौद्धहरूको विशेषता हो, मोहनिः ।
तर विविध राज सत्तासँगसँगै बाहिरी धर्म संस्कृतिले बुद्ध धर्मलाई अवश्य खलबलादिइएको छ । मल्लकालको भनु वा शंकराचार्यको उन्माद, शाक्त र शैव धर्मको लोकप्रियताका साथसाथै महायानी बौद्धहरूलाई पनि एक ताका बाध्य गरी गणेश र भगवती तुलजादेवीमा बलि चढाउन बाध्य गराइए । समस्त सरकारी कर्मचारीलाई प्राणी हत्या गरी बलि दिएको प्रमाण सुद्धा आ-आफ्नो घरको ढोकामा प्राणीको मासु वा रगतको दाम लगाउनु पर्ने र शाक्त विधि अनुसार सीकाभू गरी मोहनि (दशैं) मा भोज खानैपर्ने स्थिति बनाइदिएको पाइन्छ । यो प्रथा मल्लकालबाट शुरू भई राणाकालमा पनि यथावत् नै रहे । राणाकालमा मीर सुब्बा हुने वज्रशील महाविहार यंगालका मेरा मामा बाजे हीरामान वज्राचार्यले पछि सम्म पनि तुलजा भवानीमा रांगोको पाठो भोग दिनपठाउनु पर्ने बाध्यता झेल्नुपन्यो । त्यस्तै चन्द्र शमशेरको राजवैद्य मेरा जिजु बाजे नील वज्र वज्राचार्यले पनि राणाहरूको हुकुम अनुसार बाध्य भई मोहनिमा गणेश स्थानमा हाँस बलि दिई राति महानवमीको भोज शाक्त परम्परा अनुसार सीकाभू गर्नुपर्ने बाध्यता पनि अंगाल्नुपरेका थिए । प्रायः धेरै वज्राचार्यहरूलाई मल्लकालमा दशैं (मोहन) मा प्राणी बलि दिन बाध्य मात्र बनाइएको थिएन, सीकाभू पनि गर्न बाध्य बनाईएका थिए ।