सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१’ को लागि अखण्ड भण्डारीको आख्यान ‘बोरा’लाई छनोट गरेको छ ।
यसैगरी यस वर्षको ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१’का लागि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे तथा ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार- २०८१’का लागि लालबन्दी सर्लाहीका शंकर श्रेष्ठको नाम सिफारिस समितिले छनोट गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
साहित्य पुरस्कार र स्मृति पुरस्कारका साथ ५०/५० हजार रुपैयाँ र प्रतिभा पुरस्कारका साथ २५ हजार रुपैयाँ नगद राशि समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कारहरू वि.सं.२०८१ मङ्सिर १५ गते शनिवार लालबन्दीमा प्रदान गरिने बताइएको छ।