
लघुकथा
खोट
गंगा खड्का
‘तपाईंकी छोरी एकदम चोथाले रहिछे । अलिकति संस्कार भन्ने कुरा त हुन्छ नि यार…!’ ज्वाइँ एकातिर च्याँठ्ठिए ।
अर्कातिर सम्धिनीले छोराको कुरामा सही थप्दै भनिन् ,’तपाईंकी छोरी घमण्डीको राजा छे! काम गर्ने ढङ्ग फिटिक्कै छैन ।’
‘तपाईंहरुसँग गाँसेको यो नाताले त हामीलाई चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरीजस्तो भएको छ।’ सम्धी उसैगरी कड्किए ।
छोरीको बिहे गर्दा चर्को ब्याजदरमा लिएको ऋणले थिचेको भारी टाउको उठाएर मथुराले छोरीलाई क्वारक्वार्ती हेरिन् । अघिपछि ढुङ्गो बोल्ला तर आफू नबोल्ने उनकी छोरीले बलिन्द्र धारा आँसु खसाल्दै भनिन,’खोट अनुहारमा होइन ममी, खोट त ऐनामा छ ।’
बूढानीलकण्ठ ,काठमाडौँ






