अन्त्यस्टि
डा. दामोदर पुडासैनी किशोर
अन्त्यस्टि -१
चितामाथि राखेर
दागबत्ति दिएपछि
सुनसान बने मलामीहरू
चिता र लाश ह्वारह्वारति बल्न थालेपछि
सबै मुखबाट मसिनो स्वर आउँन थाल्यो –
‘जिन्दगी
यही माटोबाट निस्किएथ्यो
अहिले खाइरहेछ आगोले
आखिर , धुवाँ र खरानीमा टुँगिने रहेछ जीवन
के को लिनु ? के को दिनु ?’
अन्त्यस्टि -२
उ जल्यो
धुवाँ र खरानी बनेर सकियो
बाटाभरि सँगै हिँडिरहेछन्
उसका लाखौँ सँझनाहरू
उसको त सकियो पुरै शरीर
तर बसिरहेछ मेरो मुटुमा
गाढा कथा बनेर
सँझनाको बहिखाता पो रहेछ जिन्दगी
अन्त्यस्टि-३
उसले बाँचुन्जेल
कहिल्यै कसैबाट मान्छेजस्तो व्यवहार भेटेन
कहिल्यै कसैबाट कुनै सम्मान पाएन
कुनै फूल , अक्षता , धूप, दीप र शँख घन्ट देखेन
एक धरो कपडा र एक मुठी अन्न राम्ररी पाएन
जब मर्यो
फूल मालाले ढाकिदिए
धूप दीप र अक्षताले सिँगारिदिए
गुणगान गाए मलामीहरूले
ज्यूँदोलाई लात्ति , मरेकोलाई सलामी
जलिरहेको चिता ,अट्टहास हासो हाँसिरहेछ
अन्त्यस्टि-४
मुर्दाघाटमा भाव बिह्वल थिए मलामीहरू
लाश जलाइसकेपछि
निस्किए घाट बाहिर
सँझन थाले घर परिवार
सँझन थाले होडबाजी
एक अर्कामा माग्न थाले हिसाब किताब
एक अर्कालाई दिनथाले धमास र धम्की
यतिखेर गाउँमा कोलाहल छ
मान्छे मरेको शोकले होइन
धन र रबाफको दूनो
आफैँतिर तान्ने होडबाजीमा
अन्त्यस्टि-५
बाँचुन्जेल
पूजापाठमा गएँ
विवाह, न्वारान , पास्नी र भोज भत्तेरमा गएँ
जो जो बिते तिनीहरू सबैको अन्त्यस्टिमा पुगेँ
उद्येश्य थियो
आफू मरेपछि
कम से कम सबै आउँन् घाटमा
सबैले राखिरहुन् सँझनामा
जब मरेँ
न कोही आएको थाहा भयो
न कसैले सँझिएको
बित्थामा अरूको आशै आशाामा
सिध्याउँनेरहेछौँ सुन्दर जिन्दगीलाई
अन्त्यस्टि-६
प्रकृति
प्रशँसाको कुरै छोड
आखिर गाली गर्ने मौका समेत दिएनौ तिमीले
कति सुन्दर थिए मान्छेहरू
कति सुन्दर थिए जीव जन्तु र बनस्पति
कति सुन्दर थिए
नदी, ताल , फाँट, बगैँचा , बस्ती र हिमालहरू
कमाएँ धेरै आफन्तहरू
गुमाएँ धेरै आफन्तहरू
रमाउँदैथिएँ सबैसँग
सच्याउँदैथिएँ सबैसँग
एक्कासी लडायौ
अब कहिल्यै ब्युँझनै नसक्नेगरि
सँसारका सबै हिसाब किताबका
सन्तुलन परीक्षणनै गर्न नदिने हो भने
के कोलागि जन्मायौ यो सुन्दर संसारमा
अन्त्यस्टि-७
सँसारकै सबैभन्दा ठूलो कुरा
पाइएको छ सुन्दर जीवन
बाँचुन्जेल बाँच मस्तिसँग
आनन्द छ मरेपछि
न कुनै बुझाउँनु छ हिसाब किताब
न कहिल्यै तडपिनु छ
प्रेम , घृणा र तृष्णाको मुस्लोमा
बाँचुन्जेल त हो सँसार भोग्ने
बांचुन्जेल हो सँसार घुम्ने र सँसारलाई घुमाउने
र , भोगाउँने सँसारलाई ,आफ्ना चर्तिकलाहरू
अन्त्यस्टि त जसरी गरेपनि हुन्छ
पुस्तकको अन्तिम पृष्ठपछि बाँकी केही हुँदैन ।