काठमाडौँ। हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीले लघुकथाका स्रष्टालाई सम्मान गरेको छ ।
दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा केन्द्रले २०२९बाट लघुकथा लेखन गर्दै आएका स्रष्टा महेश प्रसाईंलाई नगद रुपियाँ ११,१११।– सहित ‘केन्द्र लघुकथा सम्मान’, प्रा.डा कपिल लामिछानेलाई नगद रुपियाँ ११,१११।– सहित केन्द्र समालोचना सम्मानबाट –२०८२, गङ्गा कर्माचार्य पौडेललाई नगद रुपियाँ ५,५५५।– सहित केन्द्र लघुकथा नारी सम्मान र रमेन्द्र कोइरालालाई नगद रुपियाँ ५,५५५।– सहित योगनाथ बास्तोला लघुकथा सम्मान प्रदान गरेको हो ।
नेपाली पहिलो लघुकथा लेखन गर्ने स्रष्टा सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरी सुरुआत भएको थियो ।दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख बस्नेतले प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरमा पर्यटक आकर्षणका लागि साहित्यिक हब बनाउन अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्मानित स्रष्टाको चयन साहित्यकार किशोर पहाडीले सम्मानित स्रष्टा चयनको प्रकृयाबारे जानकारी दिए ।
उक्त सम्मान कार्यक्रममा केन्द्रका आजीवन सदस्यका साथै २०८१ मा केन्द्रले आयोजना गरेको उपत्यकाव्यापी लघुकथा प्रतियोगितामा सहभागी विद्यार्थीहरूबाट लिखित लघुकथासङ्ग्रहको सङ्कलन गरेको हाम्रो लघुकथा संयुक्त लघुकथासङ्ग्रह पनि लोकार्पण गरेको थियो ।
गणेश गुठी धिमे खलको धिमे बाजा बजाएर अतिथिलाई स्वागत गरी सुरुआत गरिएको उक्त कार्यक्रममा श्रीब्रह्मानन्दसरस्वती वैदिक गुरुकुलम्बाट उपस्थित विद्यार्थी र शिक्षकले स्वस्तिशान्ति पाठ वाचन गरेका थिए । कार्यक्रममा उपमेयर वसन्ती तामाङ डङ्गोल, साहित्यकार कृष्ण प्रधान, किशोर पहाडी, जयदेव भट्टराई, सल्लाहकार लता केसी, दामोदर अधिकारी, श्रीकृष्ण सहकारीका अध्यक्ष अमरसिंह बस्नेत, महेश प्रसाईं, प्राडा. कपिल लामिछाने, गङ्गा कर्माचार्य पौडेल, रमेन्द्र कोइरालाले सामूहिक रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
साहित्यकार एवम् निर्णायक सम्मानित स्रष्टा महेश प्रसाईंका बारेमा मनीषकुमार शर्मा, प्राडा कपिल लामिछानेका बारेमा मिसु श्रेष्ठ, गङ्गा कर्माचार्यका बारेमा रमेश सुवेदी र रमेन्द्र कोइरालाका बारेमा शान्ता तिम्सिनाले प्रकाश पारिन।
कार्यक्रममादक्षिणकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रचण्डमानसिंह बस्नेत र सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेत ,साहित्यकार कृष्ण प्रधान, उपमेयर डङ्गोल लगायतले मन्तव्य राखे ।
केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठको अध्यक्षतामा भएको सम्मान तथा लोकर्पण कार्यक्रमको सञ्चालन सचिव रामराजा केसीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सत्या अधिकारीले गरिन् ।