
कविता
दाह्री
केशव ज्ञवाली ‘आगत’
दाह्री पाल्नु र काट्नुमा
विचारको दूरी धेरै लामो हुँदैन
तैपनि
साथीले तर्क गर्दै भन्यो –
दाह्री पाल्नु पनि छुट्टै एउटा विचार हो
दाह्री काट्नु पनि एउटा छुट्टै विचार हो।
मैले साथीलाई सम्झाउँदै भनेँ –
दाह्री काट्ने र
नकाट्ने मनसायमा
हामी मिल्न नसके पनि
हामी मिल्ने साथी बन्न सक्छौँ
बाटोमा सँगसँगै हिँड्न सक्छौँ
कतै पहिरो गएको रहेछ भने
मिलेर पहिरो हटाउन सक्छौँ
कतै बाटो भत्किएको
कि वा बनाइएको रहेनछ भने
नयाँ बाटो बनाउन पनि त सक्छौँ।
मिल्ने साथी बन्नु भनेको
साथीको विचार सुन्नु पनि हो
सम्मान गर्नु पनि हो
खाजा बाँडेर खानु पनि हो
तर,
चर्को घामले पोल्दा
किं वा मुसलधारे पानी पर्दा
छाता आफूले मात्र ओढ्नु होइन।
मान्छेको विचार फरक फरक हुन सक्छ
तैपनि
हामी एउटै धर्ती र समाजमा बस्छौँ
एउटै घरमा पनि बस्छौँ
एउटै बसमा पनि गुड्छौँ
एउटै हवाइजहाजमा पनि उड्छौँ
कदाचित् हामी चढेको सवारी साधन र
हामी बसेको घरमा आगलागी भयो भने
कसैले मलाई आगोले पोल्दैन भन्ने नठान्नू।
रूरूक्षेत्र, गुल्मी हाल -सूर्यविनायक ,भक्तपुर।




